नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्वउपाध्यक्षसमेत रहेका रविराज थापालाई विष्टले हराएका हुन् ।
नेपाली ओलम्पियन खेलाडीहरूको आधिकारिक संस्था ओलम्पियन्स संघमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएका छन् ।
महिला उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका छन् । नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । उपाध्यक्षमा प्रवीण तुलाधर निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि विष्टले ओलम्पियन र ओलम्पिक मुभमेन्टलाई गर्व हुने खालको काम गर्ने बताए । उनले नेपालमा ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताए ।
सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ चयन भएका छन् ।