![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Prakashman_Singh2021-09-29-08-08-01.jpeg)
कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाइराख्न १४औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । बुधबार कोटेश्वरमा आयोजित एक कार्यक्रममा सिंहले कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई जोगाइराख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
उनले कांग्रेसले जनताको पक्षमा काम गर्दै आए पनि वर्तमान नेतृत्वबाट भने अलोकतान्त्रिक गतिविधि भइरहेको आरोप लगाए । ‘यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ ।’ नेता सिंहले भने, ‘पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
उनले निश्चित समयमा रिटायर्टमेन्टको व्यवस्था राजनीतिमा पनि हुनुपर्ने बताए । ‘आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरूको कार्यशैलीले जनतामा निरासा छायो । बहुदल आएपछि सबै पार्टी निश्चित नेताहरूले कब्जा जमाए,’ उनले भने, ‘कांग्रेसमा पनि अब पार्टी सभापति, वरिष्ठ नेतालगायतले पनि रिटायर्टमेन्ट लिएर अर्को पुस्तामा नेतृत्व दिन आवश्यक छ ।’
उनले अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको दाबी गरे । वर्तमान नेतृत्वलाई जनताले विश्वास गर्न छाडेकाले पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।