मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नवराज मैनाली काठमाडौं
२०७८ असोज १२ मंगलबार १०:०७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कारागारको टेलिफोनमा पनि ठगी : महिनामै एक लाखभन्दा बढी अनियमितता

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७८ असोज १२ मंगलबार १०:०७:००

सरकारी टेलिफोनबाटै जेलभित्र ठगी र शोषण गर्दै आएको छानबिन समितिको निष्कर्ष

एउटै कारागारभित्र टेलिफोनमा महिनामै लाखौँ अनियमितता हुने गरेको छानबिनले देखाएको छ । कारागार व्यवस्थापन विभागले नख्खु कारागारभित्रको अनियमितताबारे गरेको छानबिनमा टेलिफोनमा समेत ठूलो अनियमितता हुने गरेको तथ्य फेला परेको हो । 

तीन साताअघि नख्खु कारागारभित्र शोषणविरुद्ध कैदी÷बन्दीले गरेको नाराबाजी र कुटपिट गरेको घटनाको अध्ययन गर्न विभागले निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अनियमितता रहेको औँल्याएको हो । समितिले विभागका महानिर्देशक जनकराज दाहाललाई सोमबार प्रतिवेदन बुझाउँदै नख्खु कारागारभित्रको विकृति सुधार गर्न सिफारिस गरेको छ । 

जनकराज दाहाल महानिर्देशक, कारागार व्यवस्थापन विभाग

प्रतिवेदन अध्ययन गरेर त्यसका सुझाब कार्यान्वयन गरिन्छ । सुधारकै लागि छानबिन समिति बनेको हो । कारागारमा केही समस्या छन् । त्यसमा सुधार गरिन्छ ।

छानबिन समितिमा रहेका एक अधिकारीका अनुसार टेलिफोनको वास्तविक शुल्कभन्दा कैदी/बन्दीसँग दोब्बरसम्म शुल्क लिएर अनियमितता हुने गरेको हो । जेलभित्रको सरकारी टेलिफोन आन्तरिक प्रशासनको नियन्त्रणमा हुन्छ । आन्तरिक प्रशासनमा कैदी÷बन्दीबाटै चयन हुन्छ । उनीहरूले सरकारी टेलिफोनबाटै जेलभित्र ठगी र शोषण गर्दै आएको समितिले जनाएको छ ।

‘नख्खु कारागारमा करिब १३ सय कैदीबन्दी छन्, उनीहरूमध्ये धेरैले कम्तीमा हप्तामा एकपटक फोन गर्दा रहेछन्,’ छानबिन समितिका एक अधिकारीले भने, ‘एकजनासँग १०/१५ रुपैयाँ बढी लिँदा पनि महिनामै एक लाखभन्दा धेरै ठगी हुने देखियो ।’ मिनेटकै १० रुपैयाँसम्म लिने गरेको त्यहाँका कैदी/बन्दीले गुनासो गरेका छन् । कारागारमा मोबाइल प्रयोग गर्न नपाइने भएकाले ल्यान्डलाइन टेलिफोनमार्फत नै कुराकानी गर्नुपर्ने हुन्छ । नख्खु मात्र नभई देशभरिका कारागारमा यस्तो समस्याबारे विभिन्न निकायमा उजुरी पर्ने गरेका छन् । 

नख्खु कारागारमा अन्य दैनिक उपभोग्य सामानसमेत डेढ गुणा बढीसम्म मूल्य लिइएको छानबिन समितिले औँल्याएको छ । जेलभित्र कैदी/बन्दीले नै पसल तथा क्यान्टिन चलाउने गरेका छन् । त्यसरी जेलभित्र उनीहरू बाहिर बजारमा भन्दा सबै सामानको धेरै मूल्य लिने गरेको प्रतिवेदनमा छ । त्यसकै विरोधमा कारागारभित्र विद्रोह र कुटपिट भएपछि जिल्ला प्रशासनले हस्तक्षेप गरी गत २१ भदौमा चौकीदार तथा नाइकेहरूलाई जिम्मेवारीबाट हटाएर अन्य जेलमा सरुवा गरेको थियो । कारागार व्यवस्थापन विभागका महानिर्देशक दाहालले छानबिन समितिले आफूलाई प्रतिवेदन बुझाएको र त्यसबारे अध्ययन गर्न बाँकी रहेको बताए । ‘प्रतिवेदन अध्ययन गरेर त्यसका सुझाब कार्यान्वयन गरिन्छ,’ उनले भने, ‘सुधारकै लागि छानबिन समिति बनेको हो । कारागारमा केही समस्या छन् । त्यसमा सुधार गरिन्छ ।’ टेलिफोनमै ठूलो अनियमितता हुने विषयमा थप अध्ययन हुने उनले बताए ।

जेलभित्रका डनतन्त्र, प्रशासनको मिलेमतो

नख्खु जेलभित्र शोषणको घटना यो नयाँ होइन । गत वर्ष पनि विभिन्न निकायमा उजुरी परेको थियो । तर, राष्ट्रिय सतर्कता केन्द्रले सतही छानबिन गरी ठूलो अनियमितता नरहेको प्रतिवेदन दिएको थियो । अहिले कारागारले आफैँ छानबिन गर्दा अनियमितता देखिएको हो ।

नख्खु त्यही कारागार हो, जहाँ ०७५ वैशाखमा जेलभित्रै नाटकीय रूपमा भक्तबहादुर सुनुवारको हत्या भयो । सुरुमा उनको बिरामी भएर मृत्यु भएको बताइएको थियो । तर, मृतक पक्षले गृह मन्त्रालयमा छानबिनका लागि निवेदन दिएपछि सिआइबीले गरेको अनुसन्धानमा उनको हत्या भएको खुल्यो । उनले जेलभित्रको बेथितिको विरोध गरेका थिए । 

जेलभित्र पैसा हुने कैदी/बन्दी सुविधासम्पन्न तरिकाले होटेलका पाहुना जसरी बस्ने गर्दछन् भने पैसा नहुनेहरूको नरकीय जीवन छ । जेलभित्र पैसा खर्च गर्नेहरूलाई मदिराको समेत व्यवस्था र मोबाइलको सुविधासमेत हुने गरेको स्रोत बताउँछ । जब कि यी दुवै कुरा जेलभित्र निषेध छ । प्रहरी, जेल प्रशासन र आन्तरिक प्रशासनको मिलेमतोमा यस्तो अवैध धन्दा चल्ने गरेको छ । जेलभित्र कतिसम्म ‘डनतन्त्र’ छ भने जेल प्रशासन र चौकीदारको ज्यादतीको विरोध गर्नेलाई अन्यत्र सरुवा गरिन्छ ।

शरद गौचन हत्याको आरोपमा जेलमा रहेका समिरमानसिंह बस्नेतले जेलभित्रैबाट आपराधिक सञ्जाल बनाई विभिन्न अपराध गरिरहेको दुई वर्षअघि भएको छानबिनमा खुल्यो । आन्तरिक प्रशासनको सहयोगमा उनले अन्य कैदी/बन्दीभन्दा धेरै टेलिफोन तथा भेटघाटको सुविधा लिएर त्यस्तो आपराधिक योजना बनाएको खुलेको थियो । ०७४ मा चौकीदार हटाउने विषयलाई नै लिएर भिमफेदी कारागारमा दुई समूहबीच कुटाकुट भएको थियो । त्यस विषयमा कारागार व्यवस्थापन विभागले निर्देशक कृष्ण आचार्यको नेतृत्वमा छानबिन गरेको थियो । त्यो समितिले पनि जेलभित्र आर्थिक अनियमितता र शोषण औँल्याएको थियो । 

ठूला कारागार, अवैध धन्दाका अखडा 
देशका ठूला कारागारमा शोषण र ठगीका कारण सधैँजसो विवाद मात्र होइन, झडपसमेत हुने गरेका छन् । धेरै कैदी हुने जेलमा पसल, क्यान्टिन तथा टेलिफोन तथा अन्य सुविधाकै लागि यस्ता झडप हुने गरेका छन् । जेलहरूमध्ये सबैभन्दा धेरै कैदी÷बन्दी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । जहाँ तीनवटा कारागारमा तीन हजार कैदी/बन्दी छन् । त्यसपछि सुनसरीको झुम्का, ललितपुरको नख्खु, झापा, पर्सा, मकवानपुरको भिमफेदी, मोरङ, कास्की, बाँके र चितवन कारागारमा धेरै कैदी/बन्दी रहेको कारागार व्यवस्थापन विभागको तथ्यांक छ । जहाँ चौकीदार तथा नाइके बन्नकै लागि चलखेल हुन्छ । 

कारागार व्यवस्थापन नियमावलीअनुसार असल चालचलन भएको व्यक्तिलाई चौकीदार तथा नाइके बनाउने प्रावधान छ । तर, त्यसविपरीत कारागार प्रशासन र प्रहरीलाई खुसी बनाउन सक्ने व्यक्ति चलखेलका आधारमा नियुक्त हुन्छन् । एक वर्षमा चौकीदार फेरिने प्रावधान भएपछि त्यही व्यक्तिले आफूअनुकूल व्यक्तिलाई चौकीदार बनाएर जेलभित्रको आफ्नो शोषण कायमै राख्ने देखिएको छ । ‘निश्चित गिरोहले आन्तरिक प्रशासन चलाउने देखियो,’ छानबिनमा खटिएका एक अधिकारी भन्छन्, ‘त्यसकारण चौकीदार भइसकेका व्यक्तिलाई अन्य जेलमा सरुवा गर्नुपर्छ जस्तो देखियो ।’ आन्तरिक प्रशासनका काम गर्नेहरूले थप सुविधा र कैद छुटको सुविधासमेत पाउने गर्दछन् । 

प्रशासनकै सेटिङमा आन्तरिक प्रशासनमा रहेका व्यक्तिले आफूनिकटलाई पसल तथा मेस सञ्चालन गर्न दिने तथा टेलिफोनमा पैसा उठाउने जिम्मेवारी दिने गरेका छन् । जसमा ठूलो आर्थिक चलखेल हुने गरेको छ । पसलको विषयमा पटकपटक गुनासो आउने गरेको कारागार व्यवस्थापन विभागका महानिर्देशक दाहाल स्विकार्छन् । नेसनल ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीजस्ता सरकारी निकायले नै पसल सञ्चालन गरिदिए सहज हुने उनको भनाइ छ । संविधान दिवस, प्रजातन्त्र दिवस तथा गणतन्त्र दिवसमा कैद छुट दिएर छाड्ने गरिन्छ । त्यसमा समेत पैसा नबुझाउनेले नियमअनुसारको सुविधा समेत नपाउने गरेको स्रोत बताउँछ । 

कारागारमा जिल्ला प्रशासन कार्यालयलले नियमित अनुगमन गर्नुपर्ने भए पनि एकतर्फ अनुगमन हुँदैन भने अनुगमन गरे पनि कैदी/बन्दीका गुनासामाथि सुनुवाइ नहुने प्रवृत्ति छ ।  जेलमा हुने अनियमितता संस्थागत रहेकाले कहिलेकाहीँ मात्र बाहिर आउने गरेको स्रोत बताउँछ । कतिसम्म अनियमितता हुन्छ भने चौकीदारलाई पैसा बुझाउने राम्रो ठाउँमा सुत्न पाउँछन्, आफन्तलाई सहज रूपमा भेट्न पाउँछन् । तर, पैसा नबुझाउनेहरूलाई भेटघाटमा समेत दुःख दिने गरिएको छ । पहुँचवाला कैदी/बन्दीले बिदाको दिनमा समेत आफन्तलाई कारागारभित्रै बोलाएर दिनभरि गफ गरेर बस्ने गर्दछन् ।