१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Wednesday, 03 July, 2024
डा. प्रकाश बन्जाडे
२o७८ असोज १२ मंगलबार १o:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वप्रकाश, गगन र युवा नेतृत्व

Read Time : > 3 मिनेट
डा. प्रकाश बन्जाडे
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १o:१२:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा चुनिने अपेक्षाका साथ कांग्रेस नेताहरूले तयारी गरिरहेका छन् । गगन थापाले १४ भदौमा आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको काठमाडौं महानगरपालिका ३० नं. वडामा आयोजित क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरे । प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरे । दुई प्रभावशाली युवा नेताको उम्मेदवारी घोषणाले अन्य पदाधिकारीमा पनि युवाहरूलाई नै उम्मेदवार बनाउन वा युवाहरूले आँट गर्ने सहज बाटो खुलेको छ । महाधिवेशन नेतृत्व छनोटको अवसर मात्र होइन, सैद्धान्तिक बहस, नीति, भावी कार्यदिशा निर्माणसहितको नेतृत्व छनोटको अवसर पनि हो । महाधिवेशनमा युवा नेताहरूको अग्रसरता नहुँदा त्यसको मूल्य पार्टीले मात्र होइन, सारा मुलुकले नै चुकाउनुपर्छ । युवा कांग्रेसले आँट गर्नैपर्छ र इमानदार शीर्ष नेतृत्वले गुट–उपगुट बिर्सिएर युवालाई साथ दिनैपर्छ । 

गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी सन्दर्भमा सार्वजनिक गरेका अभिव्यक्तिहरूमा केही समान कुरामा जोड दिएको पाइन्छ । कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ । यी दुई युवा नेताले कांग्रेसको क्रान्तिकारी छविको पुनरावृत्ति गराउने, पार्टीप्रति युवापुस्ताको आकर्षण बढाउने, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अगुवा बनाउने, क्रियाशील सदस्यता वितरणको भद्रगोललाई सधैँका लागि अन्त्य गर्नेलगायत व्यवस्थापनका अन्य विषय पनि अगाडि सारेका छन् । मूलतः कांग्रेसलाई नीतिगत रूपमा प्रस्ट र कार्यशैलीमा चुस्त पार्ने योजना सुनिन्छ । कांग्रेसमा वैचारिक शून्यता अन्त्यका लागि युवा नेतृत्व आँट र तयारीका साथ अगाडि आउनैपर्छ ।

सहभागितात्मक निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता, जवाफदेहिता, नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधारस्तम्भ हुन् । लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास जरुरी छ । हाम्रै नेपालको राजनीतिक इतिहासलाई फर्केर नियाल्दा आधुनिक नेपाल एकीकरणको अभियान थाल्दा पृथ्वीनारायण शाह २१ वर्षका थिए । जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्रीका रूपमा शासनको बागडोर सम्हालेका थिए । कृष्णप्रसाद भट्टराई ३५ वर्षको उमेरमै पहिलो सभामुख भएको इतिहास छ । ००७ सालको क्रान्ति सम्पन्न गर्दा बिपी कोइराला ३६ वर्षका मात्रै थिए, ३७ वर्षमा मुलुकको गृहमन्त्री र ४५ वर्षको उमेरमा प्रधानमन्त्री भए । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । गगन थापा र विश्वप्रकाश शर्माको सफलताले बिपी, सुवर्णजस्ता नेताहरूको परिकल्पनामा आधारित भएर अघि बढ्न सहज हुनेछ । बिपी कोइराला, पुष्पलाल, सुवर्ण शमशेरहरूको सपनाको बाटोमा हिँडे हाम्रो समाज एक कदम अगाडि बढ्नेछ । कांग्रेसमा संस्थागत रूपमा सैद्धान्तिक बहसले ठाउँ नपाएको वर्षाैं भयो । पटक–पटकको अवसरमा सफल साबित हुन नसकेका नेताहरूभन्दा प्रचुर सम्भावना भएका युवा नेताहरूलाई मौका दिए नेपाली राजनीतिमा कांग्रेसको योगदान सार्थक होला ।

गगन थापा र विश्वप्रकाश शर्मा दुवैलाई हार्ने छुट छैन, अहिलेको महाधिवेशन हारे पार्टीमा मनोनीत हुनेछैनन् । थापा र शर्मा बाहिर रहँदा कांग्रेस कम्तीमा २५ वर्ष पछि धकेलिनेछ ।

नेतृत्व नयाँ पुस्तामा आउनु जरुरी छ । सामाजिक आन्दोलनमा राजनीतिक दलका युवाको उपस्थिति कमजोर छ । राजनीतिक पार्टीका युवामा अध्ययनको अभाव, राजनीतिको अपराधीकरण र गुटगत राजनीतिको अभियानमा आकर्षण छ । अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएको युवा जमात निकै कम छ । आत्मबल, सोच, कार्यशैली र क्षमता कमजोर छ । गाउँ, बस्तीमा जताततै युवा र आमजनताका मुद्दा छन् । राजनीतिक मुद्दा छरपस्ट छन् । युवा नेताहरूलाई यसमा कुनै रुचि छैन । उमेरले युवा देखिए पनि सोचमा युवापन, कार्यशैली र क्षमता धेरै कम नेतामा छ । विधिको शासन, लोककल्याणकारी राज्यव्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता नागरिकका आधारभूत आवश्यकतामा राज्यलाई जिम्मेवार युवाहरूले दबाब दिनैपर्छ । युवा नेतृत्वको बहस गर्दा कम्तीमा अहिलेको समाजलाई विभिन्न कोणबाट हेर्न सक्नुपर्छ । राजनीति जब भुइँसँग जोडिँदैन, उसको राजनीतिमा वैधानिकता कमजोर हुँदै जान्छ । अहिलेका युवा भुइँसँग जोडिएका छैनन् या जोडिन चाहँदैनन् । राजनीतिमा पनि युवा विचार र युवा सोचको उपस्थिति पातलिएको छ । पढेलेखेका युवा जमात राजनीतिदेखि टाढा हुँदै गएका छन् । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएको व्यक्ति भेट्नै मुस्किल छ । 

प्रवृत्ति र संस्कार नबदल्ने हो भने अहिलेको युवावर्गले पुरानो विचारको पुस्तालाई आगामी धेरै वर्षसम्म प्रतिस्थापन गर्ने हैसियत राख्ने देखिँदैन । युवाकेन्द्रित राजनीति, मुद्दा र मूलधारको राजनीतिबारे छलफल चलाउँदा हामीले समाजसँग जोडेर बहस गर्न सकेनौँ भने त्यो अपूरो हुन्छ । युवा राजनीति केवल राजनीतिक पार्टीका युवा संगठनले गर्ने राजनीति होइन । निष्ठा, सिद्धान्त, ज्ञान र चेतनाले भरिएका युवाहरूको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उपस्थितिले मात्रै मुलुकलाई समृद्धितर्फ लैजान सक्छ । यसका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आवश्यक छ । नेतृत्वको खडेरी परेका वेला युवाहरूले विकल्पसहित प्रस्तुत हुन ढिला गर्नुहुँदैन ।

गगन थापा र विश्वप्रकाश शर्मा वंशविरासत होइन, आफ्नै मिहिनेतनिर्मित सार्वजनिक साख भएका नेता हुन् । पार्टीभित्र मूल्यमान्यताको खडेरी पर्दै गएको आमआलोचनाबीच यिनले आत्मानुशासन र संस्कारको अभ्यास गर्न खोजेका छन् । गगन थापा र विश्वप्रकाशले लामो अवधि पार्टीभित्र असहमतिको भद्र स्वर दर्ज गर्दै आएका हुन् । पार्टीभित्र प्रतिस्पर्धा गर्दै हुर्केका यी नयाँ पुस्ताले मूलधारको राजनीतिको नेतृत्व गर्ने सामथ्र्य राख्छन् । भारतमा कन्हैया कुमार, अमेरिकामा अलेक्जेन्डर कोर्टेजजस्ता युवा ‘वर्किङ क्लासबाट राजनीतिको केन्द्रमा स्थापित भएका छन् । समाज एकै दिनमा त परिवर्तन हुँदैन, तर उज्यालो कुरेर बस्ने कि बत्ती बालेर उज्यालो बनाउने भन्ने हाम्रो इच्छाशक्ति र तयारीमा भर पर्छ । युवा नेतृत्वको विषय राजनीतिक पार्टीहरूमा उनीहरूको सहभागिता र नेतृत्व कस्तो छ भन्नेमा निर्भर गर्छ । अहिले पनि विभिन्न देशमा भएका आन्दोलन हेर्ने हो भने युवाहरूले नै नेतृत्व लिएका छन् ।

यसअघि १३औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने आँट गरेका थापा महाधिवेशनकै सबैभन्दा लोकप्रिय उम्मेदवार भए । कांग्रेस नेतृत्वको काँध थाप्ने जिम्मेवारी अब आफ्नो पुस्तामा आएको सन्देश दिन थापा सफल भए । महाधिवेशनका सन्दर्भमा विश्वप्रकाशले बिपी कोइरालाको सपना र युवाको सपना एकाकार गरेर समयसापेक्ष सपना निर्माण गर्ने वेला आएको भनी दिएको अभिव्यक्ति अर्थपूर्ण छ । कांग्रेसको संशोधित विधानअनुसार पार्टीका दुवै महामन्त्री निर्वाचनबाट चयन हुनेछन् । गगन थापा र विश्वप्रकाश शर्मा दुवैलाई हार्ने छुट छैन, अहिलेको महाधिवेशन हारे पार्टीमा मनोनीत हुनेछैनन् । थापा र शर्मा बाहिर रहँदा कांग्रेस कम्तीमा २५ वर्ष पछि धकेलिनेछ । आशा गरौँ, गगन र विश्वप्रकाशले जिते एउटा व्यक्ति राष्ट्रपति एकपटक मात्रै, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक भन्दा बढी हुन नपाउने व्यवस्था संविधानमा राख्न प्रयास गर्नेछन् । 
 

ad
ad
ad
ad