मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०८:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजार अनुगमनमा संयुक्त टोली परिचालन गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०८:०८:००

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक ६ टोली अनुगमनमा खटाइरहेकोमा अन्य अनुगमनकारी निकायसमेतको संलग्नतामा संयुक्त अनुगमन टोलीसमेत परिचालन गरिने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नजिकिँदै गरेको चाडपर्वमा बजार अनुगमन बढाउने बताएका हुन् । सोमबार दिउँसो राजधानीमा ‘बजार अनुगमन र सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा बोल्दै सचिव भट्टराईले चाडपर्वका वेला खरिद–बिक्री गर्ने प्रवृत्ति बढ्ने भएकाले सरकारको उपस्थिति देखाउन अनुगमन बढाउनुपर्ने चुनौती रहेको बताए ।  

उनले सबै पसलहरूमा पुग्न नसक्ने भएकाले व्यवसायीले कानुनको परिधिभित्र रहेर कारोबार गर्नुपर्ने र उपभोक्ताले सामान खरिद गर्दा आफैँ सचेत हुन आवश्यक रहेको बताए । कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वका वेला अनुगमन संख्या बढायो भनेर व्यवसायीले गुनासो गर्नुभन्दा पनि नियमनकारी निकायको उपस्थिति बढेर स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणमा सघाउ पुग्ने भयो भन्ने हिसाबले सोचिदिन आग्रह गरे । ‘अनुगमनबाट दण्ड, जरिवाना नै गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य होइन, तर कैफियत देखिएको ठाउँमा कारबाही जरुरी हुन्छ,’ महानिर्देशक पौडेलले भने ।

कार्यक्रममा व्यवसायीले अनुगमनका माध्यमबाट दण्ड, जरिवाना गर्ने प्रवृत्ति बढेको भन्दै अन्जानमा हुने गल्ती, कमजोरीलाई सुधार गर्न मौका दिनुपर्ने बताएका थिए । त्यसको जवाफ दिँदै गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कानुनले गल्ती गर्नेलाई छुट दिने ठाउँ नराखेको बताएका थिए ।

‘चिनी पर्याप्त छ, मूल्य बढाइनु अनुचित’
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बजारमा चिनीको मौज्दात पर्याप्त रहेकाले मूल्यवृद्धि अनुचित भएको बताए । उनले गत आवमा दुई लाख १२ हजार टन चिनी आयात भएको र एक लाख पाँच हजार टन चिनी स्वदेशमा उत्पादन भएको तथ्यांक देखाउँदै भने, ‘गत वर्ष तीन लाख ५७ हजार टन चिनी मुलुकमा आएको देखिन्छ, जबकि खपत भनेको अधिकतम दुई लाख ५० हजार टन मात्रै हो,’ उनले भने, ‘त्यसैले अहिले मुलुकमा एक लाख टन चिनीको मौज्दात छ, जुन अहिलेको माग धान्न पर्याप्त हो ।’

उनले चिनीको मासिक खपत औसतमा २० हजार टन रहेको र चाडपर्वमा बढेर २५ देखि ३० हजार टन पुग्ने भन्दै कृत्रिम अभावको हल्ला फैलाएर मूल्य बढाउन खोज्नेको पहिचान गरी कारबाही गर्ने बताए । चालू आव ०७८/७९ को साउनमा १७ हजार पाँच सय टन आयात भइसकेको र थप १० हजार टन चिनी आयातको प्रक्रियामा रहेकाले बजार माग धान्न कुनै समस्या नरहेको उनले जानकारी दिएका छन् ।