१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २२:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चाडपर्वमा अनुगमन बढ्छ, खुला बजारमा कारोबार गर्नेले कानुनको पालना गर्नुपर्छ : वाणिज्य सचिव

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २२:१४:oo

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नजिकिँदै गरेको चाडपर्वमा बजार अनुगमन बढाउने बताएका छन् । मन्त्रालयमातहतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल दैनिक ६ टोली अनुगमनमा खटाइरहेकामा अन्य अनुगमनकारी निकायसमेतको संलग्नतामा संयुक्त अुनगमन टोलीसमेत परिचालन हुने उनले बताए ।

सोमबार दिउँसो राजधानीमा ‘बजार अनुगमन र सरोकारवालको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै सचिव भट्टराईले चाडपर्वका वेला खरिद–बिक्री गर्ने प्रवृत्ति बढ्ने भएकाले सरकारको उपस्थिति देखाउन अनुगमन बढाउनुपर्ने चुनौती रहेको बताए । ‘चाडपर्वमा हामी विगतमा जस्तै विशेष अनुगमन गछौँ । अनुगमन संख्या बढाउन जनशक्ति पनि थप गरेका छौँ,’ उनले भने ।

उनले सबै पसलहरूमा पुग्न नसक्ने भएकाले व्यवसायीले कानुनको परिधिभित्र रहेर कारोबार गर्नुपर्ने र उपभोक्ताले सामान खरिद गर्दा आफैँ सचेत हुन आवश्यक रहेको बताए । ‘हाम्रो अनुगमन टोली सबै पसलमा पुग्न सक्दैन तर कुनै पनि गलत प्रवृत्तिलाई दण्डित गर्नेछौँ,’ उनले भने । उनले चाडपर्वमा कुनै पनि उपभोग्य वस्तुको अभाव हुन नदिने पनि बताए ।

सचिव भट्टराईले पेट्रोलियम र नुनबाहेक सबै वस्तुको कारोबार खुला अर्थतन्त्रमा छाडिएको बताए । खुला अर्थतन्त्रमा प्रतिस्पर्धा गरी वस्तु तथा सेवाको कारोबार हुनुपर्ने उनले बताए । ‘खुला अर्थतन्त्रमा कारोबार गर्ने जो कोही निर्धारित कानुनअनुसार चल्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले बजारको विकृतिलाई सुधार गर्न अनुगमन भइरहेको बताए । उनले चाडपर्वका वेला अनुगमन संख्या बढायो भनेर व्यवसायीले गुनासो गर्नुभन्दा पनि नियमनकारी निकायको उपस्थिति बढेर स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणमा सघाउ पुग्ने भो भन्ने हिसाबले सोचिदिनुपर्ने बताए । ‘अनुगमनबाट दण्ड, जरिवाना नै  गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य होइन तर कैफियत देखिएको ठाउँमा कारबाही जरुरी हुन्छ,’ महानिर्देशक पौडेलले भने ।

कार्यक्रममा व्यवसायीले अनुगमनका माध्यमबाट दण्ड, जरिवाना गर्ने प्रवृत्ति बढेको भन्दै अन्जानमा हुने गल्ती, कमजोरीलाई सुधार गर्न मौका दिनुपर्ने बताएका थिए । त्यसको जवाफ दिँदै गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कानुनले गल्ती गर्नेलाई छुट दिने ठाउँ नराखेको बताए । 

‘कानुनले योपटकको गल्तीलाई माफी भयो, अर्कोपटक गल्ती नगर्नु भनेर छुट दिँदैन,’ उनले भने, ‘व्यवसायीले पारदर्शी र उपभोक्तामैत्री कारोबारमा जोड दिन आवश्यक छ ।’ उनले प्याकेटमा उपलब्ध हुने धेरै वस्तुको तौल कम हुने भएकाले त्यसलाई सुधार गर्न सुझाब दिएका थिए । वाणिज्य विभागका निर्देशक शिवराज सेढाईले अनुगमन संख्या बढाएर कारबाहीको दर पनि बढाउँदै लगे पनि बजार अवस्थामा सुधार आउन नसकेको जानकारी दिए ।

‘गत आव ०७७–७८ मा दुई हजार पाँच सय फर्ममा अनुगमन गरेका थियौँ, त्यसमध्ये ६८ फर्ममा मात्रै कैफियत आएन । अरू सबैलाई सानो, ठूलो कारबाही भयो,’ उनले भने, ‘चालू आवको पहिलो दुई महिनामा चार सय २४ फर्ममा अनुगमन गर्दा सबैमा कैफियत भेटिएको छ । हामीले जति अनुगमन बढाए पनि जति कारबाही गरे पनि बजार अवस्थामा सुधार नआउनुचाहिँ  चिन्ताको विषय हो,’ उनले भने ।

उनले आसन्न चाडपर्वमा व्यवसायीले छुट र सहुलियत दिएर करोबार गर्नुपर्नेमा जोड दिए । ‘कोभिडका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । व्यवसायीले पनि जोखिम मोलेर वस्तु तथा सेवा उपलब्ध गराउनुपर्ने अवस्था छ,’ निर्देशक सेढाईले भने, ‘त्यसैले आसन्न चाडपर्वमा व्यवसायीले सेवा भाव राखेर कारोबार गर्नु उपयुक्त हुन्छ ।’ 

कार्यक्रममा उपभोक्ताकर्मीहरूले बजार अनुगमन बढाई व्यवसायी र उपभोक्तामैत्री बजार निर्माण गर्न नियमनकारी निकायलाई सुझाब दिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले नियमनकारी निकायले आफ्नो भूमिका बढाई उपभोक्ताको हित गर्नुपर्ने बताए ।

चिनी पर्याप्त छ, मूल्य बढाइनु अनुचित
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बजारमा चिनीको मौज्दात पर्याप्त रहेकाले मूल्य वृद्धि अनुचित भएको बताए । उनले गत आवमा २ लाख ५२ हजार टन चिनी आयात भएको र एक लाख ५ हजार टन चिनी स्वदेशमा उत्पादन भएको तथ्यांक देखाउँदै भने, ‘गत वर्ष तीन लाख ५७ हजार टन चिनी नेपाली बजारमा आएको देखिन्छ जब कि खपत भनेको अधिकतम दुई लाख ५० हजार टन मात्रै हो,’ उनले भने, ‘त्यसैले अहिले मुलुकमा एक लाख टन चिनीको मौज्दात छ, जुन अहिलेको माग धान्न पर्याप्त हो ।’ 

उनले चिनीको मासिक खपत औसतमा २० हजार टन रहेको र चाडपर्वमा बढेर २५ देखि ३० हजार टन पुग्ने भन्दै कृत्रिम अभावको हल्ला फैलाएर मूल्य बढाउन खोज्नेको पहिचान गरी कारबाही गर्ने बताए । चालू आव ०७८–७९ को साउनमा १७ हजार ५ सय टन आयात भइसकेको र थप १० हजार टन चिनी आयातको प्रक्रियामा रहेकाले बजार माग धान्न कुनै समस्या नरहेको उनले जानकारी दिएका छन् ।

व्यवसायीले तौलमा ठग्ने नियत राखे 
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्याकेट गरेका वस्तुमा ‘प्याकेज गर्दाको समयको तौल (ह्वेन प्याक्ट)’ लेखेर व्यवसायीले ठग्ने नियत राखेको बताएका छन् । ‘उपभोक्ताले किन्दाखेरीकै समयमा तोकिएको तौल हुनुपर्छ । तर, व्यवसायीले धेरै वस्तुको बोरा वा प्याकेटमा ह्वेन प्याक्ट भनेर तौल निर्धारण गर्ने गरेका छन्,’ पुडासैनीले भने, ‘यो ठग्ने नियत हो । यस्तो छुट व्यवसायीलाई कानुनले दिएको छैन ।’

उनले उपभोक्ताले खरिद गरेको समयमा तोकिएको परिमाण हुनुपर्ने र त्यसको जवाफदेहिता उत्पादक वा वितरक हुनुपर्ने बताए । ‘जति वेला प्याक गरेको हो, त्यति वेला तौल ठीक थियो तर उपभोक्ताले किन्ने वेला तोकिएको परिमाणबराबरको तौल भए, नभएको ग्यारेन्टी हुन्न भन्नु अव्यावहारिक छ । यस्तो कार्यलाई कसुर गरेको ठहरिन्छ र कारबाही गर्ने कानुनी प्रावधान छ,’ उनले भने । व्यवसायीले जहिल्यै निश्चित परिमाणमा केही ग्राम तल–माथि गरी वस्तु प्याक गर्ने गरेको भन्दै उपभोक्तालाई तोकेकै परिमाणअनुसारको वस्तु दिन निर्देशन दिए । उनले आसन्न दसँैतिहारमा बढी खपत हुने तरकारी, माछामासु, खाद्यान्न पसलले प्रयोग गर्ने ढक, तराजुको चेकजाँच नियमनलाई कडाइ गरेको बताए । 

पसलहरूमा हुने ढक, तराजुको नापतौलमा समस्या बढ्दै गएको उनले जानकारी दिए । ‘वर्षेनी २०–२२ हजार ढक, तराजुको परीक्षण हुन्छ, त्यसमा करिब ५ हजारमा कैफियत देखिएर कारबाही हुने गरेको छ,’ उनले भने । विगत ६–७ वर्षदेखि ठूलो संख्यामा ट्याक्सीहरूले मिटर रिडिङ नगराई उपभोक्ता ठगी गरिरहेको बताउँदै उनले त्यस्ता ट्याक्सीलाई खोजी गरी कारबाही प्रक्रिया अघि बढाउन लागिएको बताए ।

दसैँमा बिदा नबसी आयल निगमले इन्धन वितरण गर्ने
आयल निगमका निर्देशक वीरेन्द्र गोइतले दसैँतिहारमा बिदा नबसी इन्धन वितरण गर्ने जानकारी दिएका छन् । ‘पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु हो । दसैँतिहारमा सवारीसाधनको आवागमन झन् बढ्ने भएकाले यो अवधिमा देशभरका डिपो खुला राखेर इन्धन कारोबार सुचारु गर्छौँ,’ उनले भने, ‘हामीले नियमित रूपमा कम्तीमा ७५ प्रतिशत इन्धन स्टक राख्ने गरेका छौँ । त्यसैले चाडपर्वमा अभाव हुने सम्भावना पनि छैन ।’

कार्यक्रममा निगमका प्रवक्ता विनीतमणि उपाध्यायले उपभोक्तालाई सहज हुने गरी इन्धन वितरण गर्ने बताए । ‘जुनसुकै ठाउँका उपभोक्ताले मागेको समयमा इन्धन आपूर्ति गर्ने गरी हामीले वितरण प्रणालीलाई चुस्त राखेका छौँ,’ उनले भने ।

ad
ad