कोरोनाको महामारी र सडकको दुरावस्थाले उत्तरी नाका तातोपानी र रसुवाबाट हुँदै आएको आयात दुई वर्षदेखि दैनिक पाँच कन्टेनरमा सीमित थियो । पुनर्निर्माणसँगै भूकम्प र बर्खाको बाढीपहिरोले भत्किएका सडकको अवस्था सुध्रियो । कोरोना संक्रमण दर पनि अहिले कम भएको छ ।
यद्यपि, चीनले तातोपानी र रसुवागढी नाकामा गर्ने व्यवहारमा कुनै परिवर्तन आएको छैन । मुस्किलले दुवै नाकाबाट दैनिक बढीमा नौ–नौ कन्टेनर सामान आयात हुन्छ । उत्तरी नाकासम्बद्ध व्यापारी चीनसँगको कारोबार झन् कष्टकर बन्दै गएको बताउँछन् । दक्षिण छिमेकी भारतले नाकाबन्दीको वेला एकदुई गाडी छोडेर दुःख दिएको थियो । त्यही शैलीमा चीनले अघोषित नाकाबन्दी गरेर नेपाली व्यापारीलाई सास्ती दिएको छ ।
दसैँका लागि भनेर ग्वान्झाओ र इयूबाट खरिद गरेको सिजनेबल सामान दुई हप्तादेखि सिंगात्से, केरुङ र न्यालममा थुप्रिएका छन् । ल्हासा पार गरेका करिब एक हजार कन्टेनर स्वशासित क्षेत्र तिब्बतको विभिन्न पार्किङ क्षेत्रमा छन् । तातोपानीबाट दैनिक बढीमा आठ कन्टेनर सामान आयात हुन्छ । उत्तरी नाकाबाट आयात हुने कार्गोको आयात बढाउन विभिन्न पक्षबाट पहल नभएका पनि होइनन् । तर, चिनियाँ पक्षले टेरपुच्छर लगाएको छैन ।
बिहीबार ल्हासास्थित महावाणिज्य दूतावासमा वाणिज्यसम्बद्ध चिनियाँ अधिकारीसँग बैठक भएको थियो । बैठकमा महावाणिज्यदूत नवराज ढकालले दसैँतिहारको लागि आएका सामान चिनियाँ क्षेत्रमै अड्किएकाले आयात बढाउन चिनियाँ पक्षलाई आग्रह गरेका थिए । ‘चिनियाँ पक्षले दुवै नाकाबाट कार्गो बढाउने वचन दिएका छन् । तर, व्यवहारमा नआएसम्म यसै भन्ने अवस्था छैन,’ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने ।
चिनियाँ पक्षले दिएको हैरानीले नेपाली व्यापारीको गुनासो बढ्दै गएको उनले सुनाए । चिनियाँ क्षेत्रमा थुप्रिएका सामान ढुवानी गर्न केरुङ र सिंगात्सेका स्थानीयले नेपाली व्यापारीसँग ‘बार्गेनिङ’ गर्छन् । स्थानीयस्तरमा रहेको बेथिति हटाउन चिनियाँ पक्षसँग कुरा गरेको भए पनि सुनुवाइ नगरेको गौतमले बताए । बिहीबार बसेको बैठकको सहमतिअनुसार तातोपानी नाकाबाट दैनिक २० गाडी सामान आयात गरिनेछ । तातोपानीजस्तै रसुवामा पनि हुक एन्ड ड्रप सिस्टम लागू गर्न अध्ययन गर्ने र चिनियाँ क्षेत्रमा रहेको १५ हजार मेट्रिक टन रासायनिक मल तातोपानीबाट भित्र्याउने सहमति भएको थियो ।
तर, तातोपानी नाकाबाट आयात बढेको छैन । सोमबार वाणिज्यसंम्बद्ध चिनियाँ अधिकारीले खासामा आएर बैठक गरेका छन् । मितेरीपुलबाट दैनिक २० चिनियाँ गाडी छोड्दा नेपाली ४० कन्टेनर हुन्छ । कोभिड महामारी कम भएकोले नाकामा खतरा छैन । तर, कोदारी राजमार्गको अवस्था जीर्ण भएकोले गाडी गन्तव्यसम्म पु¥याउन कठिन हुने निष्कर्ष खासा बैठकको छ ।
चिनियाँ सहरबाट खरिद गरेको बढीमा २० दिनभित्र काठमाडौं भित्र्याउने योजनासहित व्यापारीले ‘विच्याट’ प्रयोग गरेर दसैँलक्षित सामान अर्डर गरेका थिए । आजभोलि काठमाडौं नआएका सामान अब दसैँतिहारमा उपभोग गर्न पाइँदैन । केरुङ र खासाबाट काठमाडौं आइपुगेका सामान काठमाडौंबाहिर विभिन्न सहर र बजारमा पुग्न समय लाग्छ ।
‘दसैँतिहारका सबै सामान चिनियाँ क्षेत्रमै छन्,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले केरुङ क्षेत्रमा त्यहाँका स्थानीयले गाडीको पालो मिलाउने नाममा महँगो भाडा असुलेर मनपरी गरिरहेको बताउँदै भने, ‘यही अवस्था रहने हो भने एक महिनामा पनि ती सामान काठमाडौं आइपुग्ने अवस्था छैन ।’
केरुङबाट एक कन्टेनर सामान काठमाडौं ढुवानी गर्न पाँच हजार आरएमबी लाग्थ्यो । तर, अहिले झुटो विवरण बनाएर गाडीको किनबेच भएकोले ६० हजारसम्म चिनियाँ रकम तिर्नुपरेको उनले सुनाए । बढी पैसा तिर्नेको सामान इयूबाट २० दिनमा काठमाडाँै आइपुग्छ । पालो कुरेर बस्नेको सामान दुई महिना लाग्छ । केरुङ र सिंगात्सेमा गाडीको लाइन नसरेकोले खासा आउने गाडी पनि रोकिएका छन् ।
कर्जाको ब्याज, दोब्बर गोदाम भाडा र उसै खेर गएको अमूल्य समयका कारण व्यापारी मारमा परेका छन् । भूकम्पयता निर्यात ठप्प छ । कोरोना महामारीको कारण नेपाली पक्ष चिनियाँ क्षेत्रमा जान निषेध छ । दसैँका लागि हालेको सामान १० प्रतिशत मात्रै काठमाडौं आइपुगेको व्यापारी कुमार पौडेलले बताए ।