Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विवेकानन्‍द महत
२०७८ असोज ११ सोमबार ११:२९:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समृद्धिको सरल मार्ग : कृषिमा नवप्रवर्तन

Read Time : > 6 मिनेट
विवेकानन्‍द महत
२०७८ असोज ११ सोमबार ११:२९:००

अहिले देशलाई दक्ष किसान, वैज्ञानिक, प्राविधिक र प्रसार कार्यकर्ताको खाँचो छ । चीनले वार्षिक रूपमा आफ्ना कृषि केन्द्रहरूमा लाखौँ दक्ष किसान र प्राविधिक उत्पादन गरी बृहत्तर उत्पादन कार्यक्रममा लगाए जस्तै हामीले पनि लगाउन सक्छौँ । 

डेढ साल पहिले राजनीति, समाज र शिक्षाको विषयमा कलम चलाउँदै आएका मिलन पाण्डेले ‘किसानका निम्ति राज्य खोइ ?’ शीर्षकको लेखमार्फत कृषिमा इनोभेसन (नवप्रर्वतन)को महत्व र आवश्यकता जापानको खर्बुजाको दृष्टान्तमार्फत प्रकाश पारेका थिए । खर्बुजाको आकारसँगको नवप्रवर्तनले जापानको उपहार दिने संस्कृति नै परिवर्तन गरेको रहेछ । पद्धति नै बसाल्ने नवप्रवर्तनलाई सार्वजनिक बहसमा ल्याइदिएकोमा साधुवाद ! 

के हो नवप्रवर्तन ? : त्रिभुवन विश्‍वविद्यालयका भौतिकशास्त्री प्रा.डा. उदयराज खनालका अनुसार नवप्रवर्तन नयाँ प्रविधि विकास गर्ने कार्य हो । विज्ञानलाई आफ्नो माटो र परिवेशसुहाउँदो बनाउनु र परम्परागत विधिलाई नयाँ रूपमा विकास गर्नु नवप्रवर्तन हो । नवप्रवर्तनले विकासका लागि नयाँ सोचको अवलम्बन भन्‍ने बुझाउँछ । प्रा.डा. दयानन्द बज्राचार्यले नयाँ वा पुरानो कुनै पनि प्रक्रियालाई नवीन तरिकाले सफल पार्न उपयोग गरिने नयाँ सोच र प्रयोगलाई नवप्रवर्तन बताउनुभएको छ । वास्तवमा नवप्रवर्तनको गहिरो र व्यापक अर्थ छ । विज्ञान र प्रविधिले वैज्ञानिक सिद्धान्त र सिद्धान्तअनुरूप बनेका प्रविधिलाई जनाउँछ भने नवप्रवर्तनले विज्ञान र प्रविधिको आर्थिक तथा सामाजिक विकासका बृहत्तर आयामलाई समेट्छ । हामी सबैले चाहेको र खोजेको कृषिको आधुनिकीकरण र व्यवसायीकरणको आधारभूत जग नै नवप्रवर्तनको विकास र यसको समयानुकूल रूपान्तरण हो । 

नवप्रवर्तनका बारेमा अहिले विश्‍वमा धेरै बहस भइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो साल भारतीय विज्ञान सम्मेलनमा बोल्दै नवप्रवर्तन, पेटेन्ट र उत्पादनका लागि भारतीय वैज्ञानिक र युवाहरूलाई अघि बढ्न आग्रह गरे । कृषिलाई अत्यन्त महत्व दिँदै सिँचाइको सस्तो र प्रभावकारी समाधान र पोषणयुक्त बिउको सन्दर्भ जोडी वैज्ञानिकहरूलाई यसको खोजमा लाग्न आह्वान गरे ।

किसानलाई वितरण गरिएको स्वाइल हेल्थ कार्ड (माटोको स्वास्थ्य कार्ड) को तथ्यांकलाई कसरी दैनिक खेती किसानीका लागि उपयोग गर्ने हो, नयाँ शिराबाट सोच्न पनि आह्वान गरे । चीन अहिले देशको दुर्गम भेगको रूपान्तरण र विकासका लागि लागिपरेको छ । गरिबी निवारणमा कृषिलाई प्राथमिकता दिँदै अगाडि बढेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले अघिल्लो वर्ष ५० भन्दा बढी कृषि विश्‍वविद्यालका शिक्षक र विज्ञलाई पत्राचार गरी उनीहरूको कामलाई निकै प्रशंसा गर्दै कृषिको आधुनिकीकरणका लागि नवप्रवर्तन र प्रविधि विकासमा जुट्न अनुरोध नै गरे । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अघिल्लो साल नेसनल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा स्थापना गरिएको पहिलो विज्ञान तथा प्रविधि पार्कको उद्‍घाटन गर्दै पाकिस्तानलाई नवप्रवर्तन र ज्ञानको हब बनाउने उद्‍घोष गरे । यी उदाहरणले हाम्रा छिमेकी राष्ट्रहरूको नवप्रवर्तनबारेको गहन बुझाइ र उनीहरूले दिएको महत्वलाई छर्लंग पार्छ । 

परम्परागत ज्ञान : लेखिका द्वारिका थेबेले बजारले विस्थापन गरेको हाम्रो रैथाने खाद्य, आदिवासी ज्ञान र परम्परागत सीपबारे ‘बजारले बिगारेको खाद्य सञ्चिति’ लेखमार्फत उजागर गरिन् । परम्परागत ज्ञान मासिएपछि हाम्रो विपद्सँग लड्ने र संकटसँग जुध्ने सामथ्र्य घटेको चिन्तन प्रस्तुत गरिन् । कान्तिपुरकर्मी देवेन्द्र भट्टराईले पनि ‘मुलाका चाना र अमिलो मोही’ लेखमार्फत रैथाने स्वाद, ठेकी, मदानी, हर्पे र टोलुङ सम्झिए । अघिल्लो लकडाउनमा यी लेखहरूले हामीलाई हाम्रा अग्रजहरूको परम्परागत ज्ञानको भण्डारबारे सोच्ने बनायो । अग्रजहरूसँग प्रकृतिमैत्री ज्ञान र सीपको भकारी थिए, जुन नयाँ पुस्ताबीच हस्तान्तरण हुँदै परिष्कृत हुँदै जान्थे । यी ज्ञानलाई हामी रैथाने नवप्रवर्तन भन्‍न सक्छौँ । 

अन्तर्राष्ट्रिय विज्ञान परिषद्ले परम्परागत र रैथाने ज्ञान र सीपलाई विज्ञानमा महत्वपूर्ण योगदानको रूपमा लिएको छ । यस्ता ज्ञान र सीपको संरक्षण अनुसन्धान र प्रवद्र्धन हुनुपर्ने बताएको छ । सन् २००२ मा परम्परागत ज्ञानका विज्ञ र वैज्ञानिकबीच अन्तरसम्बन्ध स्थापना गरी यस्ता ज्ञानको वैज्ञानिक अध्ययन, अनुसन्धान हुनुपर्ने विश्‍व विज्ञान सम्मेलनले प्रकाश पारेको थियो । 

रैथाने इनोभेसन : इलामका डम्‍बरबहादुर राईले मुसा मार्ने साँचो बनाए, भण्डारणमा लाग्ने मुसा मार्ने विष किन्‍न नपर्ने भयो । रूपन्देहीका थारू समुदायले परम्परागत तरिकालाई केही सुधार गरेर परेवाको मल सं‍कलन गर्न जालीको प्रयोग गरे, खेर जाने विष्टा संकलन गरी मलका रूपमा प्रयोग भयो । बाँकेमा धेरै दूध उत्पादन भएर मिल्क होलिडे हुन थालेपश्‍चात् महेन्द्रप्रसाद पौडेलले स्थानीयस्तरमै प्रशोधन गर्न पानीबाट दूध तताउने नयाँ जुक्ति निकाले । यसबाट १२० लिटर दूध एकैपटकमा उमाल्न सकिने भयो ।

काँस्कीका लीलानाथ ढकालले परम्परागत प्रविधिमा केही सुधार गरेर सुन्तला जातका फलफूलको रस निकाल्ने कोल बनाए, रस निकाल्न निकै सहज भयो । रामेछापका जुनार कृषकहरूले पनि यस्तै खालको कोलबाट बिउ छान्छन् । चितवनका उत्तम चौधरीले पुरानो तरिकालाई केही सुधार गरी जालखरी बनाए, यसले भेडाबाख्रालाई घाँस खुवाउन सहज भयो । अरिंगाल र बच्‍छ्युँले मौरी मारेर उधुम गर्छन्, यसको समाधान गर्न चितवनका कृष्णबहादुर तामाङले नयाँ सोच निकाले र अरिंगालको पासो बनाए । यसबाट मौरीहरू सहजै चरनमा निस्कन पाए ।

पहाडका भिराला र साँघुरा पाटामा दुईवटा गोरुले जोत्‍न असहज भएपछि तनहुँका कृष्णबहादुर रेग्मीले परम्परागतभन्दा केही सुधार गरेर एउटा गोरुले जोत्‍ने हलो–जुवा बनाए । यसले जोताइ सहज र छरितो बनायो एउटै मात्र गोरु पाल्नुपर्ने हुँदा सहज पनि भयो । सिन्धुपाल्चोकका हुरी शेर्पाले तीन तलासम्म निर्माण सामग्री बोकेर लैजान सहज हुने क्रेन बनाएका छन् । केराखेतीमा निकै समस्याको रूपमा रहेको गभारो नियन्त्रणका लागि सिन्धुपाल्चोकका कृष्णबहादुर बनले नांगो तार छोएको केराको बोटमा गभारो नलागेको देखेपछि ब्याट्रीबाट चल्ने उपकरण बनाई सफल प्रयोग गरे ।

प्रोमोटिङ लोकल इनोभेसन (प्रोलिन्‍नोभा) नेपाल प्रोग्राम, स्थानीय अन्वेषण प्रवद्र्धन कार्यक्रम र तत्कालीन कृषि विकास विभागले प्रकाशन गरेको ‘स्थानीय अन्वेषणहरू’ नामक संकलनमार्फत स्थानीय अन्वेषणहरूको पहिचान र अभिलेखीकरण गरी समस्या समाधानमा आधारित स्थानीय खोजलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । माथि उल्लेखित रैथाने नवप्रवर्तन यही संकलनको देन हो । यस्ता स्थानीय अन्वेषणले जीविकोपार्जन सहज बनाएका हुन्छन् । यी प्रकृतिमैत्री पनि हुन्छन्, सस्ता र प्रयोग गर्न सजिला हुन्छन् । यस्ता प्रविधिमा अन्वेषकले अपनत्व अनुभूति गर्छन् भने समुदायले सहजै ग्रहण गर्छन् । 

आधुनिक इनोभेसन : कृषिमा नवप्रवर्तनको निकै ठूलो महत्व हुन्छ । जसका लागि कृषि अनुसन्धान र प्रसारको समन्वयको निकै ठूलो भूमिका रहन्छ । सन् २००० ताका इजरायलमा अनारको उत्पादन निकै कम थियो । धेरैजस्तो आयात हुन्थ्यो । त्यहाँको अनुसन्धान निकायले यसबारे अध्ययन सुरु गर्‍यो । अनुसन्धान निकायको कृषि इन्जिनियरिङ‍का वैज्ञानिकहरूले अनार तास्ने मेसिन बनाए । यसले पूरा मूल्य शृंखला नै सस्तो बनाइदियो । यो मेसिन विश्वभर बिक्न थाल्यो । प्रजनन वैज्ञानिकहरूले नयाँ जातको अध्ययन सुरु गरे । अर्काे समूहले मल र सिँचाइबारे अध्ययन थाल्यो । अनारको जुसबारे पनि अध्ययन थालियो । धेरै एन्टिअक्सिडेन्ट हुने र गाईको आहारामा प्रयोग गर्न सकिने अध्ययनले देखायो । रोग र पोस्ट हार्भेस्ट (उत्पादनोपरान्त) आयु र निर्यातबारे पनि अध्ययन गरिए । अन्ततः इजरायल अनार उत्पादनमा विश्‍वको अब्बल राष्ट्र बनेको छ । 

महावीर पुनले थालनी गर्नुभएको आविष्कार केन्द्रलाई एक प्रकारले नवप्रवर्तन केन्द्रको रूपमा विकास गर्न सकिन्छ । उनले खुलेरै भनेका छन्– आविष्कार केन्द्रले सिर्जनशील र नयाँ सोचलाई मात्रै चिन्छ । उनको यो भनाइ कोभिड महामारीका क्रममा गरेका थुप्रै इनोभेसनले पुष्टि गरेको छ । 
 

इजरायलमा एक समय ग्रिनहाउसभित्र लगाएको गोलभेँडा एकाएक मर्न थाल्यो । गोलभेँडा यहाँको प्रमुखमध्येको एक उत्पादन हो । यसको उत्पादन घट्दा निकै ठूलो आर्थिक असर पर्न सक्थ्यो । समस्या समाधानका लागि एक मल्टिडिसिप्लिनरी (बहुविधागत) टिम बनाइयो र सरकारले लगानी ग¥यो । यो टिमले कामदारहरूको क्रियाकलाप ट्र्याक गर्न थाल्यो र बिहानको शीतमा ब्याक्टेरिया जम्मा हुने र त्यसलाई कामदारहरूले थाहा नै नपाई सार्ने गरेको पाइयो । शीत सुकेपछि कामदारलाई काममा पठाउँदा समस्या समाधान भयो । यो सूचना सबै किसानमाझ पु‍र्‍याइयो । यो अध्ययन सोचेभन्दा छिटो नै सकियो, उनिहरूले बचेको पैसा सरकारी कोषमा फिर्ता गरे । हेरौँ त इनोभेसन र संस्कारको यो किस्सा ।

 हामीले के गर्ने त ? : सर्वप्रथम हामीले कृषि विज्ञान हो भन्ने बुझ्नुपर्छ । विज्ञानमा तथ्यको खोजी हुन्छ । अनुमान हैन, अनुसन्धान हुन्छ । अनुसन्धानबाट आएका तथ्यहरूबाट प्रविधिको विकास गरिन्छ । उदाहरणका लागि, चाइनिज सिट्रस फ्लाई सुन्तला जातका फलफूल कुहाउने एक मुख्य समस्या हो । यसले सिन्धुली, रामेछाप र अहिले त देशैभरका सुन्तला जातका बोट मासिसकेको छ । उत्पादन घटाएको छ । उपभोक्ताको मुख अमिलो बनाएको छ ।

माटोमुनि अचल अवस्था बिताउने यी किराहरू बगैँचाको उचाइअनुसार फागुन, चैत र वैशाख महिनामा जमिनबाट निस्कन्छन् । जेठ, असार र साउन महिनामा पोथी झिँगा फुल पार्न सक्रिय भई जुनारको फलभित्र फुल पार्छे । फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने हुँदा वयस्क झिँगाहरू प्रोटिनको खोजीमा हुन्छन् ।

अनुसन्धानकर्ताले यस किराको जीवनचक्र र आनीबानीको अध्ययनपश्चात् प्रोटिनको खोजीमा निस्केको वयस्कलाई विषाक्त प्रोटिन–पासोको सहयोगले आकर्षण गरी मार्छन् । व्यापक क्षेत्रगत नियन्त्रण विधिका रूपमा अहिले सिन्धुलीमा सफलतापूर्वक यसको प्रयोग भई रामेछाप र अन्य जिल्लाहरूमा पनि औँसा किरा नियन्त्रणका लागि प्रसार भइरहेको छ । किराको विज्ञान बुझे मात्रै व्यवस्थापन गर्न, प्रविधि बनाउन सहज हुने ज्वलन्त उदाहरणका रूपमा यसलाई प्रस्तुत गर्न सकिन्छ । 

डा. बज्राचार्यले ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’ पुस्तकमार्फत बताए जस्तै राष्ट्रियस्तरमा ऐन नै बनाएर स्वायत्त नवप्रवर्तन केन्द्र स्थापना गर्ने र यसलाई कृषि र यससँग सम्बन्धित सबै क्षेत्रहरूसँग समन्वय गर्ने संस्थाको रूपमा अगाडि बढाउनुपर्छ । महावीर पुनले थालनी गर्नुभएको आविष्कार केन्द्रलाई एक प्रकारले नवप्रवर्तन केन्द्रको रूपमा विकास गर्न सकिन्छ । उनले खुलेरै भनेका छन्– आविष्कार केन्द्रले सिर्जनशील र नयाँ सोचलाई मात्रै चिन्छ । उनको यो भनाइ कोभिड महामारीका क्रममा गरेका थुप्रै इनोभेसनले पुष्टि गरेको छ । 

समस्यामा आधारित अनुसन्धान र त्यस अनुरूपको प्रसारले हाम्रो कृषिको मुहार उज्यालो बनाउन सक्छ । कृषि ऐन बन्‍ने तरखरमा रहेको सुनिएको पनि दुई वर्ष बितिसकेको छ । नार्कका पूर्व योजना प्रमुखले सुझाउनुभएको कृषि अनुसन्धान सेवा ऐन र त्यसअन्तर्गतको कृषि अनुसन्धान विभागमा रूपान्तरणले धेरै कुरा समेट्न सक्छ । 

अहिले तीन तहको सरकारको गठनपश्‍चात् समन्वयमा केही अन्योल भएकै हो । किसानका समस्या अनुसन्धानको माध्यमसम्म पुग्न कहाँ कसरी अघि बढ्ने अन्योल छ । यसले गर्दा किसानका समस्या अनुसन्धानसम्म नपुग्ने र अनुसन्धानका तथ्य र प्रविधि किसानसम्म नपुगेको प्रतीत हुन्छ । यसलाई एक सहज पद्धतिमा लानका निमित्त पनि कृषि ऐन अति आवश्यक छ । 

अन्तमा, माथि उल्लेखित परम्परागत ज्ञान नयाँ आविष्कारका द्वार हुन सक्छन् । हाम्रा स्थानीय अन्वेषणहरूलाई वैज्ञानिक अनुसन्धानबाट नयाँ प्रविधिको विकासमा रूपान्तरण गर्न सकिन्छ । नेपालमा परम्परागत ज्ञानको अध्ययन, अनुसन्धान र प्रवद्र्धन गर्ने राष्ट्रिय निकाय नास्ट भएकाले नास्टसँगको समन्वयमा हाम्रा रैथाने कृषि ज्ञानको अध्ययन, अनुसन्धान र अभिलेखीकरणका साथै प्रवद्र्धन अघि बढाउनुपर्छ । 

ली क्वान युले सिंगापुरका जनतालाई विज्ञान र प्रविधिमा एक्सपर्ट बनाएर सिंगापुरको विकास गरेको ०४७ सालताका नै प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चाल पाइसकेका थिए । अहिले देशलाई उच्च दक्ष किसान, वैज्ञानिक, प्राविधिक र प्रसार कार्यकर्ताको खाँचो छ । चीनले वार्षिक रूपमा आफ्ना कृषि फार्म केन्द्रहरूमा लाखौँ हाई स्किल्ड (दक्ष) किसान र प्राविधिकको उत्पादन गरी बृहत्तर उत्पादन कार्यक्रममा लगाए जस्तै हामीले पनि लगाउन सक्छौँ । यस्ता कृषक र प्राविधिकलाई नियमित पुनर्ताजिकी पनि गराइन्छ । वैज्ञानिक र विज्ञस्तरमा ससर्त एक्सचेन्ज कार्यक्रमहरू प्रभावकारी हुन सक्छन् । कृषिको विज्ञानलाई बुझेर आत्मसात् गर्न सके मात्रै हाम्रा भकारी टम्म भरिनेछन् ।