१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २२ शनिबार १७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२७:oo

विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा योजनाविना काम गर्न खोज्दा झन्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको झन्डै तीन वर्ष पुगेको छ । ०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमका बीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए । त्यसयता आकाशे पुलको डिजाइन गरी ठेक्कासमेत लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन ।

पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण योजना अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरूको भनाइ छ ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै ०७६ साल फागुन १६ गते टेन्डर निकालेको थियो । त्यसको झन्डै एक वर्षपछि ०७७ माघ २८ गते मात्र महानगरले ढिला गरी टेन्डर स्वीकृत गरेको थियो । नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदलयात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछी र कंचनबारीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने योजना अघि बढाइएको थियो । त्यसमध्ये बरगाछीसमेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ ।

महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कला बिल्डर्सले आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाइसके पनि बनाउने ठाउँको सुनिश्चितता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताइएको छ ।

यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाउँमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सिर्जना भएको छ । कला बिल्र्डसले सो ठाउँमा भदौ १८ गते यता जग निर्माणको काम सुरु गरे पनि स्थानीयको विरोधका कारण निर्माण कार्य रोकिएको छ । पुल निर्माण गर्न लागिएको छेउका जग्गाधनीहरूसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरूले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्डर्सका प्रोपाइटर सञ्जय यादवले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताउँछन् । देखिएका विवादहरूलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उनको भनाइ छ ।

महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याए पनि सरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल नगरिएको र स्थानीयलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन । समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्ष र निकायबीच समन्वय हुन जरुरी देखिएको छ।

ad
ad