Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लन्डन एजेन्सी
२०७८ असोज ९ शनिबार ०७:५१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

Read Time : > 1 मिनेट
लन्डन एजेन्सी
२०७८ असोज ९ शनिबार ०७:५१:००

सन् २०२१/०२२ को सिजनमा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले १२ करोड ५० डलर तथा पेरिस सेन्ट जर्मेनका लियोनल मेसीले ११ करोड डलर धन आर्जन गरे

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२१/०२२ सिजनकै सर्वाधिक कमाउने फुटबलर बनेका छन् । रोनाल्डोले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई समेत पछि पारेका छन् । यसै सिजन रोनाल्डो सिरिए क्लब युभेन्ट्स छाडेर म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् । अमेरिकाको चर्चित पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा रोनाल्डो पहिलो तथा मेसी दोस्रो स्थानमा छन् ।

रोनाल्डोले यस सिजन १२ करोड ५० लाख डलर आर्जन गरेका छन् । यसै सिजन बार्सिलोना परित्याग गरी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध मेसीले ११ करोड डलर धन आर्जन गरेको फोर्ब्सले जनाएको छ । बार्सिलोनाले सम्झौताअनुसार कुनै पनि प्रतिबद्धता पालना नगरेका कारण मेसीले स्पेनिस क्लबसँग नाता तोड्दै पिएसजी पुगेका हुन् । 

बार्सिलोनामा रहँदा मेसीले कीर्तिमानी प्रदर्शन गरेका थिए । उनी बार्सिलोना फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । करिअरमा मेसीको यो दोस्रो क्लब हो । वर्तमान समयकै मेसीका प्रतिद्वन्द्वी रोनाल्डोले भने अहिलेसम्म चार क्लब परिवर्तन गरेका छन् । रोनाल्डो १२ वर्षपछि आफ्नै पुरानो क्लब युनाइटेडसँग आबद्ध भएका हुन् । 

युनाइटेडमा आबद्ध भएयता रोनाल्डोले आफ्नो छविअनुसारै उत्कृष्ट प्रदर्शन गरेका छन् । यता मेसी चोटका कारण त्यति मैदानमा जम्न सकेका छैनन् । फोर्ब्सले खेलाडीहरूको आम्दानीका स्रोत दुई भागमा विभाजन गरेको छ । पहिलो क्लबबाट दिइने पारिश्रमिक तथा दोस्रो विभिन्न कम्पनीसँग आबद्ध भई प्राप्त हुने रकम नै खेलाडीको मुख्य कमाइ भएको फोर्ब्सले जनाएको छ । रोनाल्डोले युनाइटेडबाट ७० मिलियन तथा विज्ञापनबाट ५५ मिलियन डलर प्राप्त गरेका छन् । मेसी रोनाल्डोभन्दा एक करोड डलरले पछि छन् । 

मेसीले पिएसजीबाट पारिश्रमिक रूपमा ७५ मिलियन तथा विज्ञापनबाट ३५ मिलियन डलर कमाउँछन् । मेसी र रोनाल्डोको वार्षिक आम्दानीमा ठूलो रकम घटेको छ । कोरोना भाइरसका कारण गत वर्षको तुलनामा यसपटक मेसी र रोनाल्डोको आम्दानी ९ प्रतिशत घटेको छ । कोभिड– १९ का कारण दुवै खेलाडीको तलब कटौती भएका छन् । रोनाल्डोको फेसबुक र इन्स्टाग्राममा धेरै प्रशंसक छन् । उनले ठूलो रकम प्रायोजनबाट समेत प्राप्त गर्दै आएका छन् । 

सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा तीनजना पिएसजीका खेलाडी परेका छन् । पिएसजीकै नेमार जुनियर तेस्रो स्थानमा छन् । उनको कमाइ नौ करोड ५० लाख डलर रहेको छ । उनले पिएसजीबाट पारिश्रमिकमा ७५ मिलियन तथा विज्ञापनबाट २० मिलियन डलर कमाउने गरेका छन् । 

यसैगरी फ्रेन्च युवा खेलाडी केलियन एम्बाप्पे चौथो स्थानमा रहँदा पारिश्रमिक २८ मिलियन तथा विज्ञापनबाट १५ मिलियन डलर कमाउने गरेको फोब्र्सले जनाएको छ । स्पेनिस क्लब रियल म्याड्रिडका दुई खेलाडी शीर्ष दशभित्र समावेश भएका छन् । यसै सिजन टोटनह्यामबाट रियल म्याड्रिड फर्केका गेराथ वेल तथा इडेन हजार्ड दशौँ स्थानमा छन् । लिभरपुलका स्टार खेलाडी मोहमद सलाह चार करोड १० लाख पाउन्डका साथ पाँचौँ स्थानमा छन् । 

बुन्डेस लिगबाट एक्लो प्रतिनिधित्वका रूपमा रोबर्ट लेवान्डोस्की मात्र समावेश भएका छन् । बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीको आम्दानी तीन करोड ५० लाख डलर रहेको छ । म्यानचेस्टर युनाइटेडका पाउल पोग्बाले तीन करोड ४० लाख डलर कमाएका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी, च्याम्पियन्स लिग विजेता चेल्सी, स्पेनिस लिग च्याम्पियन एटलेटिको म्याड्रिडका एकजना खेलाडी पनि शीर्ष दशभित्र पर्न सकेनन् ।