मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बेंसीशहर–६ चण्डीस्थानको खरखरेभिरमा गएको पहिरो।
२०७८ असोज ८ शुक्रबार ११:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेंसीसहर–चामे सडकमा यात्रुलाई सास्ती, खरखरे भिरमा दैनिक पहिरो

Read Time : > 1 मिनेट
२०७८ असोज ८ शुक्रबार ११:०३:००

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकमा बर्खा र हिउँद दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। बेंसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि नागरिकले सास्ती व्यहोर्नुपरेको छ।

बेंसीसहर नगरपालिका– ६ चण्डीस्थानकोे खरखरे भिरमा पहिरो खस्दा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ। खुदीका वीरेन्द्र भण्डारी डराइडराई जोखिमपूर्ण रूपमा पहिरोबाटै वारपार गर्नुपरेको गुनासो गर्छन्। उनी भन्छन्, ‘पानी परेपछि हिँड्नै डर हुन्छ। पहिरो खस्छ कि भन्दै डराएर हिँड्नुपर्ने अवस्था छ। मनाङ जाने सडक बनेको २५ वर्ष भयो, कहिल्यै राम्रोसँग हिँड्न पाइएन।’ 

उत्तरी क्षेत्रको सिंगो मर्स्याङ्दी गाउँपालिका जाने एक मात्र बाटो यही हो। मनाङ जानलाई अर्को विकल्प छैन। सडक विभागमातहतको उक्त सडक डिभिजन सडक कार्यालय दमौलीले हेर्दै आएको छ। मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बेंसीसहर–चामे सडक दैनिकजसो बाढीपहिरोले अवरुद्ध हुने गरेको बताए। वर्षायाम तथा हिउँदमा समेत चण्डिस्थानको अक्करखोला, उत्तिसघारी र चिसापानी वरपर झरिरहने पहिरोले बेंसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको  छ। मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगेका नरबहादुर गुरुङले खरखरे भिरमा दैनिकजसो पहिरो जाँदा बाटो अवरुद्ध हुने गरेको बताए।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बेसीसहर–चामे सडकमा बाढीपहिराले सडक अवरुद्ध हुँदा बाटो खुलाउन तत्काल डोजर र प्रहरी परिचालन गर्ने गरिएको बताए। उनले भने, ‘बाटोमा पहिरो गएको खबर आएसँगै डिभिजन सडक कार्यालय दमौलीको सहयोगमा बाटो खुलाउँदै आएका छौँ।’

नेपाली सेनाले १९ वर्ष लगाएर पाँच वर्षअघि ट्रयाक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो। लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर दूरी रहेको सडक पार गर्न सवारीसाधनलाई ६ घन्टा लाग्छ। यात्रु मात्र होइन सवारीचालकसमेत सडकको हालत देखर चिन्तित छन्। जोखिमपूर्ण यात्रा गराउन आफूहरूको रहर नभएर बाध्यता भएको सवारीचालक सोमबहादुर मग्राती बताउँछन्।

सडक विभागले आर्थिक वर्ष ०५१/५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो। द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो। यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ।