१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ७ बिहीबार २१:१३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चाडपर्वमा व्यापार नभई सेवा गर्न व्यवसायीलाई गृहमन्त्रीको निर्देशन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार २१:१३:oo

गृहमन्त्री बालकृष्ण खाणले आसन्न चाडपर्वमा बढीभन्दा बढी वस्तुको बिक्री गर्न व्यवसायीले सेवाको भावना लिनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सुरक्षा निकायका प्रमुख, सबै अनुगमनकारी निकायका प्रमुख, व्यवसायी, उपभोक्ताकर्मीलगायतसँग लामो अन्तरक्रिया गर्दै उनले छुट तथा सहुलियतसमेत घोषणा गरेर व्यापार गर्न व्यवसायीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा मन्त्री खाण र सचिव टेकनारायण पाण्डेको उपस्थितिमा दिउँसो ३ बजेदेखि करिब ३ घण्टा बैठक चलेको थियो । उक्त बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, सुरक्षा निकायका पदाधिकारी, वाणिज्य तथा आपूर्ति संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग, यातायात व्यवस्था विभाग, औषधि व्यवस्था विभागलगायत अनुगमनकारी निकायका प्रमुख, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघका पदाधिकारी, उपभोक्ताकर्मीलगायतसँग चाडपर्वको समयमा शान्ति, सुरक्षा र उपभोग्य वस्तुको आपूर्ति तथा मूल्य नियन्त्रणको स्थितिबारे छलफल भएको थियो । 

सो छलफलमा मन्त्री खाणले कोरोना भाइरसका कारण जनजीवन प्रभावित बनेकाले आमनागरिकको क्रयशक्ति कमजोर भएको बताएका थिए । उनले नागरिकको आयस्रोत घटेका वेला व्यवसायीले छुट तथा सहुलियत दिएर वस्तु बिक्री गर्नुपर्ने बताएका थिए । ‘अहिले नागरिकहरूको आयस्रोत कमजोर भएको छ । यस्तो वेला व्यवसायीले छुट तथा सहुलियत घोषणा गर्नुपर्छ । त्यस्तै, व्यापार नभई सेवाको भावनाले वस्तु बिक्री गर्न तपाईंहरू (व्यवसायी) क्रियाशील हुनुपर्छ,’ बैठकमा मन्त्री खाणले बोलेको कुरा उद्धृत गर्दै उपभोक्ताकर्मी माधव तिमिल्सिनाले भने ।

मन्त्री खाणले व्यापारको परिमाण बढेपछि नाफाको दर पनि स्वभाविक रूपमा बढ्ने भएकाले उनले नियम कानुनको परिधिभित्र रहेर काम गर्न निर्देशन दिएका थिए । चाडपर्वमा बजार अनुगमन तीव्र हुने जानकारी दिँदै उनले कैफियत देखिएका ठाउँमा कारबाही हुने भन्दै कुनै व्यवसायीले दबाब दिने उद्देश्यले फोन नगर्न पनि निर्देशन दिएका छन् । ‘कसैले नियम कानुनविपरीत व्यवसाय गरेको छ भने कारबाही हुन्छ । त्यस्तो वेला अनुचित दबाब दिन मलाई कुनै व्यवसायीले फोन नगर्नुहोला,’ उनले बैठकमा भनेका थिए ।

बैठकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल सहभागी थिए । महासंघ उपाध्यक्ष श्रेष्ठले विषम परिस्थितिमा पनि व्यवसाय गरेर उपभोक्तालाई सेवा दिइरहेको बताएका थिए । उनले नागरिकप्रति उत्तरदायी भएर व्यवसाय गर्ने जानकारी दिँदै अनुगमनका नाममा दुःख नदिन आग्रह गरेका थिए । त्यस्तै, चेम्बरका वरिष्ठ उपाध्यक्ष अग्रवालले अनुगमनले व्यवसायीलाई निरुत्साहित गर्न नहुने धारणा राखेका थिए । ‘हामी कुनै एउटा वस्तुको बिक्रेता हौँला तर अन्य वस्तुको उपभोक्ता हाँै । अनुगमनका नाममा हामीलाई निरुत्साहित हुने गरी कहीँकतैबाट कदम चालिनुहुँदैन,’ उनले बैठकमा भनेका थिए, ‘सरकारी निकायसँग सहकार्य गरेर अनुगमन गर्न र व्यवसाय गर्न हामी प्रतिबद्ध छौँ ।’

बैठकमा उपस्थित वाणिज्यसचिव दिनेश भट्टराईले चाडपर्वमा अनुगमनको तयारी, बजारमा उपभोग्य वस्तुको माग र आपूिर्तको स्थितिबारे जानकारी गराएका थिए । उनले उपभोग्य वस्तुको मागअनुसार आपूर्ति गर्न सक्ने परिमाण मौज्दातमा रहेकाले कुनै वस्तुको अभाव नरहेको र अभावको हल्ला फैलाएर मूल्यवृद्धि गर्न खोज्नेलाई पहिचान गरी कारबाही गरिने बताएका थिए ।

त्यस्तै, अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले दसैँलक्षित अुनगमन सुरु गरिसकेको र उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा संयुक्त अनुगमन थालिएको बताएका थिए । उनले चाडपर्वमा बढी कारोबार हुने वस्तु तथा सेवाको पहिचान गरी अनुगमन केन्द्रित गरी स्वच्छ र प्रतिस्पर्धी बजार निर्माण गर्न अघि बढेको बताए । वाणिज्य विभागले १ असोजेदेखि नै दैनिक ६ टोली परिचालन गरी उपत्यकामा बजार अनुगमन बढाएको छ ।

बैठकमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ढकतराजुको चेकजाँच बढाइएको तथा गुणस्तर प्रमाण चिह्न (एनएस) लिएर कारोबार गर्नुपर्ने वस्तुको नमुना संकलन तीव्र पारिएको बताए ।

‘पेट्रोलपम्प, तरकारी तथा माछामासु पसल, किराना पसल, खुद्रा तथा थोक बिक्रेताले प्रयोग गर्ने ढकतराजुको क्यालिब्रेसन परीक्षण तीव्र पारिएको छ । त्यस्तै, एनएस लिएका वस्तुको तौल र गुणस्तर सही भए नभएको परीक्षण गर्न विराटनगर, पोखरा, जनकपुर, झापालगायतमा टोली खटाई नमुना संकलन तीव्र पारिएको छ,’ पुडासैनीले भने, ‘हामीले चाडपर्व अवधिमा सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने कार्यतालिका बनाएका छौँ ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा कुनै वस्तुको अभाव नरहेको तर अभावको हल्ला फैलाएर मूल्यवृद्धि गरिएको भन्दै नियमनकारी निकायले कडाइ गर्नुपर्ने बताएका थिए । बैठकमा उपस्थित सुरक्षा निकायका पदाधिकारीले चाडपर्वमा शान्तिसुरक्षा कडा पारिएको, दसँैैमा घर फर्कने यात्रुलाई सहजीकरण गर्न १४ भन्दा बढी स्थानमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेकोलगायतका विषयमा जानकारी गराएका थिए ।