दसैँलक्षित बजार अनुगमन सुरु

दसैँमा बढी खरिद–बिक्री हुने लत्ताकपडा, माछा–मासु, खाद्यान्न, फलपूmल, तरकारीलगायतमा अनुगमन केन्द्रित

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण
दसैँलक्षित बजार अनुगमन सुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमातहतको सिन्धुली डिभिजन कार्यालयले अनुगमनका क्रममा फेला पारेको करिब २२ हजार मूल्यको उपभोगहीन चकलेट, जिरा, चिप्सलगायत नष्ट गर्नका लागि जफत गरिँदै । तस्बिर सौजन्य : प्रमोद पौडेल

वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले दसैँलक्षित अनुगमन टोली परिचालन गरेको छ । विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट काजमा कर्मचारी मगाएर दैनिक ६ टोली बजार अनुगमनमा पठाउन थालेको हो । विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वमा उपभोग्य पस्तुको मूल्य नियमन, कृत्रिम अभाव नियन्त्रण, कार्टेलिङ निरुत्साहनलगायतका जिम्मेवारी दिएर निरीक्षण अधिकृतहरूलाई बजार अनुगमनमा खटाएको बताए ।

सामान्य प्रशासन मन्त्रालयमा करिब १२ जना कर्मचारी थपिएर अनुगमन टोली विस्तार भएको विभागको निर्देशक तथा प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । ‘हामीले अन्य समयमा दैनिक तीन टोलीसम्म परिचालन गरेर अनुगमन गरिरहेका थियौँ । तर, यो वेला किनमेलको संस्कृति बढ्ने र गैरव्यवसायिक क्रियाकलाप पनि बढ्ने आशंकामा अनुगमन संख्या बढाएका हौँ’ उनले भने । दसैँमा बढी खरिद–बिक्री हुने लत्ताकपडा, माछा–मासु, खाद्यान्न, फलफूल, तरकारीलगायतमा अनुगमनकेन्द्रित भइरहेको बताए । ‘बुधबार मात्रै दुई अनुगमन टोली कलंकीआसपास खटिएका थिए । उनीहरूले त्यस क्षेत्रको व्यावसायिक क्रियाकलापको निरीक्षण गरेका छन् । 

अन्य टोलीले लत्ताकपडालगायतमा अनुगमन गरेका छन्’ सेढाईंले भने । विभागका साथै काठमाडौं जिल्ला प्रशासन कार्यालय, पशुसेवा विभाग, काठमाडौं महानगरपालिकालगायतले पनि दसैँका लागि अलग्गै बजार अनुगमन टोली खटाउन विभागसँग निरीक्षण अधिकृत माग गरिरहेका छन् ।

 व्यवसायीसँग निरन्तर छलफल
विभागले अनुगमनसँगै विभिन्न क्षेत्रका व्यवसायीलाई मूल्य र गुणस्तर नियन्त्रणका लागि निर्देशनसमेत दिइरहेको महानिर्देशक पौडेलले बताए । विभागका अनुसार भाटभटेनी, बिग मार्ट, सेल्सबेरीलगायतले छुट मूल्य प्रकाशित गरी खाद्यवस्तु बिक्री गर्ने जनाएका छन् । विभागले चिनी र खानेतेल व्यवसायीसँग पनि निरन्तर संवाद गरिरहेको छ । ‘खानेतेल व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा एक सय ४० प्रतिशतसम्म कच्चा पदार्थको मूल्य बढेको तथ्यांक पेस गरेका छन् । उनीहरूको तथ्यांकबारे विश्लेषण गरिरहेका छौँ’ पौडेलले भने । 

चिनीको भने मौज्दात सकिन लागेकाले मूल्य अकासिएको उनले बताए । हाल भारतमै प्रतिकिलो ३७ रुपैयाँ भारुआसपास मूल्य रहेको र त्यसमा ४० प्रतिशत भन्सार तिर्दा लागत नै प्रतिकिलो ८० रुपैयाँसम्म पुग्ने गरेको व्यवसायीको तर्क छ । त्यसमा ढुवानी, ज्याला, लोड–अनलोडलगायतका खर्च जोड्दा प्रतिकिलो ९८ रुपैयाँ उपभोक्ता मूल्य पुग्ने व्यवसायीको तर्क रहेको महानिर्देशक पौडेलले बताए । 

एकातिर मूल्य बढ्ने र अर्कातिर सरकारले साल्ट ट्रेडिङलाई भन्सार सहुलियत (प्रचलित भन्सारदरमा ५० प्रतिशत छुट)मा चिनी ल्याउन दिने तयारी गरिरहेकाले आयातकर्ता व्यवसायी अत्तालिएको उनको भनाइ छ । ‘साल्ट टे«डिङलाई सहुलियतमा चिनी ल्याउन दिँदा आयातकर्तालाई आफ्नो चिनी बिक्री नहुने डर देखियो ।’ पौडेलले भने, ‘यी समस्या हल गरी हामी चिनीको बजार र मूल्यमा हस्तक्षेप गर्न खोजिरहेका छौँ । चिनीको अधिकतम खुद्रा मूल्य तोकेर मूल्य नियन्त्रण गर्न सकिन्छ कि भनेर गृहकार्य पनि गरिरहेका छौँ ।’

See More On

सुझावित समाचार