मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Saturday, 12 July, 2025
हत्या आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी
२o७८ असोज ६ बुधबार १५:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतमा विवाह भएकी नेपाली महिलाको क्रुरतापूर्वक हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार १५:५३:oo

पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक नेपाली महिलाको क्रूरतापूर्वक हत्या भएको छ। भारतको किसनगन्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह भएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली भनिने धोन्नी टुडुको धारिलो हतियार प्रयोग गरी टुक्रा–टुक्रा पारेर हत्या गरिएको हो।

उनलाई झापा गाउँपालिका– १ मा रहेको माइतीमा आउने क्रममा बाटोमै हत्या गरिएको प्रहरीले जनाएको छ। भदौ २४ गते राति करिब ११ बजेतिर माइत आउने क्रममा उनलाई आफन्तले नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनका श्रीमानको पनि उनको हत्याभन्दा १५ दिनअघि मात्र मृत्यु भएको थियो। घरमा उनकी सौता पनि थिइन्। 

श्रीमानको मृत्युपछि घरमा पारिवारिक बेमेल सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। किरिया सकिएको भोलिपल्टै माइत आएकी उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। प्रहरीले २५ भदौमा झापा– १ स्थित सानो माईखोलामा कम्मरमुनि र घुँडामाथिको भाग मात्र भेटेको थियो।  उनको आन्द्रा खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

‘टुडुलाई हत्या गरेर टुक्रा–टुक्रा पारी खोलामा फालिएको अवस्थामा भेटिएको थियो,’ उनले भने, ‘घुँडामाथि र कम्मरमुनिको भाग भेटियो। बाँकीचाहिँ अझै भेटिएको छैन।’

उनको शरीरको अन्य भाग भने अझै नभेटिएको उनले बताए। घटना भएको स्थान नेपाल–भारत सीमादेखि करिब ३५ मिटर उत्तर मात्र हो। ‘हत्या करिब तीन सय मिटरमाथि भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले भने, ‘शरीरका अंगचाहिँ सीमादेखि ३५ मिटरमाथि मात्र भेटियो।’ 

हत्या अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  मृतका भान्जा भारत घर भएका २३ वर्षीय ऐतवार सोरेन, मृतकाको सौताका भाइ झापा– १ का ३७ वर्षीय लखन टुडु सतार रहेको उप्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। यस्तै, घटना थाहा पाएर पनि लुकाउन सहयोग गरेको अभियोगमा प्रहरीले झापा– १ का ५६ वर्षीय सिरी साइला भनिने सोमाई हेमरम सतार र सोही ठाउँका २७ वर्षीय हेमरम सतार रहेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई १ असोजमा झापा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्याय झापामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाले हत्या गरेर धारिलो हतियार दाउले शरीर टुक्रा–टुक्रा पारेर फालेको स्वीकार गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।


प्रारम्भिक अनुसन्धानबाट उनलाई हत्या गरिनुको मुख्य कारण पारिवारिक बेमेल रहेको पाइएको प्रहरीले जनाएको छ। उनका श्रीमानको मृत्युपछि उनलाई सौताले बोक्सीको आरोप लगाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भट्टराईले बताए। ‘श्रीमानको मृत्युपछि सौताले उनलाई अवहेलना गर्दै आएकी रहिछिन्। उनलाई बोक्सीको आरोप लगाउँदै उनकै कारण श्रीमानको मृत्यु भएको भन्दै हिंसा गर्ने रहेछन्,’ उनले भने, ‘मृतक र उनको देवरसँग जग्गासम्बन्धी विवाद पनि रहेछ।’