मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
भवानीश्वर गौतम काठमाडाैं
२०७८ असोज ५ मंगलबार १०:००:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारीमै वैदेशिक अध्ययनमा बाहिरियो २५ अर्ब

महामारीमा समेत २९,९७८ विद्यार्थीले वैदेशिक अध्ययनको अनुमति लिएका छन्, देशका प्रमुख विश्वविद्यालयको वार्षिक बजेटभन्दा ठूलो रकम अध्ययनका नाममा बाहिरिँदै

Read Time : > 5 मिनेट
२०७८ असोज ५ मंगलबार १०:००:००

कोरोना महामारी उत्कर्षमा रहेका वेला पनि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीको संख्यामा कमी आएको छैन । गत आर्थिक वर्ष ०७७/७८ मा २९ हजार नौ सय ७८ विद्यार्थीले संसारका ५७ देशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । जसमा २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बिदेसिएको छ । 

देशभित्रै भविष्य नदेख्दा अन्तर्राष्ट्रिय डिग्रीसँगै काम पाइने आशामा महामारीको समयमा पनि विद्यार्थी विदेश जान खोजेको देखिन्छ । विगतमा आकर्षक गन्तव्य मानिएका अस्ट्रेलिया, जापानमा बोर्डर बन्द हुँदा सहज देशमा विद्यार्थीको आकर्षण बढेको छ ।

 अस्ट्रेलियाको युनिभर्सिटीमा भर्ना भएकी सुप्रिया शर्मा अन्तर्राष्ट्रिय डिग्रीको अपेक्षामा विदेश अध्ययन गर्न चाहेको बताइन् । अस्ट्रेलियाका विश्वविद्यालयलाई रकम पठाएका धेरै विद्यार्थीले त्यहाँ जान पाएका छैनन्, अनलाइन पढिरहेका छन् । अस्ट्रेलिया र जापानका विश्वविद्यालयमा भर्ना भएर जान नपाएका विद्यार्थीको संख्या मात्रै करिब सात हजार छ । अमेरिका, क्यानडा तथा केही युरोपली देशमा भने अहिले पनि गइरहेका छन् । 

वैदेशिक अध्ययनका लागि आर्थिक वर्ष ०७५/७६ मा ४६ अर्ब २४ करोड तीन लाख रुपैयाँ बाहिरिएको थियो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार त्यस वर्ष ६३ हजार दुई सय ५९ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका थिए । आव ०७६/७७ मा एनओसी लिनेको संख्या आधा घटेको छ भने बिदेसिने रकम पनि घटेको छ । त्यस वर्षमा ३४ हजार ९४ जनाले एनओसी लगेका छन् भने २५ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बाहिरिएको थियो । 

चालू आवको साउन र भदौमा मात्रै आठ हजारभन्दा बढी विद्यार्थीले एनओसी लगेको शिक्षा मन्त्रालयले जनाएको छ । जापानका लागि एक हजार नौ सय ३६, अमेरिका अध्ययनका लागि एक हजार पाँच सय ८५, युकेका लागि एक हजार एक सय ८८, क्यानडा जान नौ सय ९६, अस्ट्रेलिया तीन सय ६६, युएईका लागि दुई सय ९५, फ्रान्सका लागि एक सय ५८ जनाले एनओसी लगेको शिक्षा मन्त्रालयले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले पढाइ सँगसँगै काम गर्न पाइने भएकाले ठूलो रकम खर्च गरेर युवाहरू बिदेसिने गरेको बताए । विदेशमा अध्ययन सक्नेबित्तिकै पढाइअनुसारको काम पाइने भएकाले पनि नेपालीको आकर्षण बढेको उनको भनाइ छ । ‘देशमा जे भइरहेको छ यसले आशा गर्ने ठाउँ छैन । देशमा उद्योगहरू खुलेका छैनन्, राम्रो शैक्षिक संस्थाहरूको विकास भएको छैन, सूचना प्रविधिको क्षेत्रका व्यापक विकास हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले पनि महामारीमा समेत वैदेशिक अध्ययनको आकर्षण नरोकिएको देखिन्छ ।’

विदेश अध्ययनका लागि ५७ देशका लागि एनओसी
शिक्षा मन्त्रालयका अनुसार गत आवमा जापान अध्ययनका लागि आठ हजार एक सय ४६, अस्ट्रेलिया जान चार हजार आठ सय ४९, भारतका लागि दुई हजार सात सय ९७, कोरिया जान दुई हजार ६ सय ४३, क्यानडाका लागि दुई हजार पाँच सय १६, युके अध्ययनका लागि दुई हजार तीन सय ५४ जनाले एनओसी लगेका छन् । त्यस्तै, अमेरिकाका लागि नौ सय ६४, युएई जान नौ सय ३३, युक्रेनका लागि तीन सय ७६, जर्मनी जान तीन सय ५० र फ्रान्समा अध्ययनका लागि दुई सय ६९ ले एनओसी लगेका छन् । 

अमेरिका र क्यानडामा आकर्षण बढ्दै
अघिल्ला वर्षहरूमा अस्ट्रेलिया र जापान नेपाली विद्यार्थीको आकर्षक गन्तव्य थियो । आव ०७५/७६ मा एनओसी लिने ६३ हजार दुई सय ५९ विद्यार्थीमध्ये आधाभन्दा धेरै अस्ट्रेलिया जाने थिए । तर, महामारी सुरु भएयता ती देशमा जान सहज नभएपछि अमेरिका र क्यानडामा जानेको संख्या बढेको छ ।

आव ०७७/७८ मा अमेरिकामा अध्ययनका लागि नौ सय ६४ जनाले एनओसी लगेका थिए । तर, ०७८/८९ को दुई महिना (साउन र भदौ)मा मात्रै एक हजार पाँच सय ८५ जनाले एनओसी लगिसकेका छन् । अध्ययनका लागि अमेरिका र क्यानडा आवेदन गर्न र जानका लागि रोकावट नभएकाले पनि ती देशमा आकर्षण बढेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । युरोपका केही देशमा पनि क्वारेन्टिनको मापदण्ड पूरा गरेमा आवतजावत गर्न दिइएको छ । 

कुन वर्ष कतिले नो अब्जेक्सन लेटर लिए ?
आर्थिक वर्ष        विद्यार्थी संख्या

२०६५/०६६        २४,८२४
२०६६/०६७        २६,९१९
२०६७/०६८        ११,९१२
२०६८/०६९        १०,२५८
२०६९/०७०        १६,४९९
२०७०/०७१        २८,०२५
२०७१/०७२        ३०,६९६
२०७२/०७३        ३२,४८९
२०७३/०७४        ५०,६५९
२०७४/०७५        ५८,७५८
२०७५/०७६        ६३,२५९
२०७६/०७७        ३३००३७
०७७/०७८        २७,९७८

शिक्षामा आयो एक अर्ब
विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीबाट समेत केही आम्दानी भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा दुई अर्ब २५ करोड १६ लाख विदेशबाट शिक्षाका नाममा भित्रिएको छ । तर, पछिल्ला दुई वर्षमा भने घट्दै आएको छ । आर्थिक वर्ष ०७६/७७ मा दुई अर्ब २३ करोड चार लाख आम्दानी भएको छ । तर, आर्थिक वर्ष ०७७/७८ मा आधाभन्दा बढीले घटेर एक अर्ब चार करोड ५९ लाख मात्र आम्दानी भएको छ । 

पाँच वर्षमा साढे सात हजार विदेशी विद्यार्थी 
विदेशबाट नेपालमा अध्ययनका लागि समेत आउने गरेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार पाँच वर्ष (सन् २०१७ देखि २०२१ हालसम्म)मा विद्यार्थी भिसामा नेपाल बस्ने विद्यार्थीको संख्या सात हजार पाँच सय १६ छ  । सबैभन्दा धेरै विश्वभाषा क्याम्पसमा भर्ना भएका छन् । सबैभन्दा धेरै विद्यार्थी जापानबाट आएका छन् । पाँच वर्षमा एक हजार ८७ जापानी विद्यार्थी भिसामा आएका छन् । अमेरिकी नौ सय ६८, दक्षिण कोरियाली नौ सय चार, बेलायती आठ सय ३५, चिनियाँ सात सय ३३, श्रीलंकन चार सय ८३ छन् । त्यसैगरी, माल्दिभियन चार सय ७१, अस्ट्रेलियाली एक सय ६५, क्यानेडियन एक सय १५, जर्मन ९० गरी दुई सयभन्दा धेरै मुलुकका नागरिकले विद्यार्थी भिसा लिएर नेपाल बस्दै आएका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार विगत चार वर्षयता अफ्रिकी र दक्षिण अमेरिकी मुलुकका दुई सय ४४ नागरिकले विद्यार्थी भिसा लिएर नेपाल बस्दै आएको देखिन्छ । उनीहरूमध्ये अधिकांश नेपाली भाषा विज्ञानका विद्यार्थी रहेको विभागमा प्राप्त तथ्यांकले बताउँछ ।

मिति  विद्यार्थी 
२०१७  १,७८२
२०१८  २,१७६
२०१९  १,९२७
२०२०  ९८३
२०२१  ६४८
जम्मा  ७,५१६

अस्ट्रेलिया र जापानका कलेजलाई मात्र सात अर्ब बुझाइयो
गत वर्ष मात्रै ५७ देशमा नेपालबाट रकम गएको छ महामारीको वेला अस्ट्रेलिया अध्ययनका लागि करिब चार हजार विद्यार्थीले भिसा पाएका छन् । विश्वविद्यालयमा भर्ना गर्नेले कम्तीमा ६ महिनाको र भोकेसनल विषय अध्ययन गर्नेले एक वर्षको औसतमा प्रतिविद्यार्थी १२ लाख रुपैयाँ बुझाएका छन् । त्यस्तै, करिब ६ हजार विद्यार्थीको जापान अध्ययनका लागि सिओई आएको छ ।

उनीहरूले तीन हजारले विश्वविद्यालयलाई रकम नै बुझाइसकेका छन् । प्रत्येक विद्यार्थीले औसतमा सात लाख रुपैयाँ तिरेका छन् । तर, अस्ट्रेलिया र जापान जान अहिले सबैभन्दा गाह्रो भएको छ । विश्वविद्यालयलाई करिब सात अर्ब तिरिसकेका विद्यार्थी जान नपाएर अनलाइन कक्षा लिन बाध्य छन् । नेपाली विद्यार्थीले अध्ययनका लागि गत आर्थिक वर्षमा मात्रै ५७ देश रोजेका छन् । त्यसभन्दा अघिल्ला वर्षहरूमा त अझ धेरै देशहरू जाने गरेका थिए ।

 शिक्षामा आयो एक अर्ब :पाँच वर्षमा साढे सात हजार विदेशी विद्यार्थी 
विदेशबाट नेपालमा पनि अध्ययन गर्न विद्यार्थी आउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा उनीहरूबाट दुई अर्ब २५ करोड १६ लाख भित्रिएको छ । त्यस्तै आव ०७६/७७ मा दुई अर्ब २३ करोड चार लाख आम्दानी भएको छ । तर, महामारीयता भने विद्यार्थी आउने क्रम घटेको छ । आव ०७७/७८ मा विदेशी विद्यार्थीबाट एक अर्ब चार करोड ५९ लाख आम्दानी भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा सात हजार ५१६ विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आएका छन् ।

देशमा भविष्य नदेखेपछि अध्ययनका नाममा बिदेसिन्छन् युवा
केदारभक्त माथेमा पूर्वउपकुलपति, त्रिवि

अध्ययनका नाममा युवाहरू ठूलो रकम खर्चेर बिदेसिन चाहनुका धेरै कारण छन् । विदेशमा पढाइ सँगसँगै काम पनि पाइन्छ । अध्ययन सक्नेबित्तिकै पढाइअनुसारको काम पनि पाइन्छ । नेपालमा भने पढाइअनुसार काम पाउन कठिन छ । 
महामारीका वेला पनि शिक्षाका नाममा बाहिरिन चाहनुको अर्को कारण देशमा भविष्य नदेखेर पनि हो । हामीले देशमा विकास भइरहेको छ, सबैले काम पाउँछन् र भविष्य राम्रो छ भनेर आश्वस्त पार्न सकेका छैनौँ । देशमा जे भइरहेको छ त्यसले आशा गर्ने ठाउँ पनि छैन । उद्योगहरू खुलेका छैनन्, शैक्षिक संस्थाहरूको राम्रो विकास भएको छैन, सूचना प्रविधिको क्षेत्रमा व्यापक विकास हुन सकेको छैन । 

भारतमा जसरी उदारवाद आएपछि आइटीलगायतका क्षेत्रमा भएको विकासले अमेरिकाबाट समेत जनशक्ति फर्किएका थिए । नेपालमा अझै पनि त्यो अवस्था छैन । आशावादी बनाउने, उज्यालो भविष्य देखाउन सकिएको छैन । देशमा भ्रष्टाचार बढेको छ, राजनीतिक स्थिरता छैन, योग्यताको कदर छैन । यिनै कारणले मिर्मिरे उज्यालो नदेख्दा महामारी पनि नभनी युवाहरू विदेश जान खोजेका छन् । देश चलाउनेले उज्यालो देखाएमा युवा यहीँ बस्छन् । लाखौँ खर्च गरेर सुन्दर देश छाडेर विदेश पस्दैनन् । 

 देशकै ठूलो विश्वविद्यालयको बजेटभन्दा बढी रकम बाहिरिन्छ 

आर्थिक वर्ष ०७७/७८ मा देशको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको बजेट २१ अर्ब ८६ करोड ४५ लाख छ । त्योभन्दा ठूलो रकम महामारीमा वैदेशिक अध्ययनका नाममा बाहिरिएको छ । राष्ट्र बैंकको रिपोर्टअनुसार आव ०७७/७८ मा विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ खर्च गरेका छन् । 

करिब सवा चार लाख विद्यार्थी अध्ययनरत त्रिविको वार्षिक बजेटभन्दा ठूलो रकम शिक्षामा बाहिरिनु युवाको भविष्यप्रतिको चिन्ता भएको विज्ञहरूको भनाइ छ । उच्चशिक्षा अध्ययन गर्ने देशभरका विद्यार्थीको ८० प्रतिशत त्रिविमा अध्ययनरत छन् । 

त्रिविबाहेकका विश्वविद्यालयको त बजेट नै एकदम न्यून छ । काठमाडौं विश्वविद्यालयको वार्षिक बजेट दुई अर्ब ३८ करोड ५४ लाख (धुलिखेल अस्पतालबाहेक) मात्रै छ । त्यसैगरी विद्यार्थी संख्याको हिसाबले त्रिविपछिको ठूलो पूर्वाञ्चल विश्वविद्यालयको बजेट जम्मा सवा अर्ब छ ।