मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ असोज ५ मंगलबार ०८:५५:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

थप चार आरोपी सार्वजनिक गर्दै प्रहरीले भन्यो– दाजुभाइका दुई परिवार मिलेर हत्या

संखुवासभा सामूहिक हत्याकाण्डमा नयाँ मोड

Read Time : > 5 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ असोज ५ मंगलबार ०८:५५:००

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा एक व्यक्तिको मात्रै संलग्नता ठोकुवा गर्दै आरोपी सार्वजनिक गरेको प्रहरीले सात दिनपछि थप चारजनालाई सार्वजनिक गरेको छ । २७ भदौमा पत्रकार सम्मेलनमार्फत २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको प्रहरीले उनी एक्लैले चिर्पट प्रहार गरी पाँचजनाको तथा भित्तामा टाउको ठोकाएर एकजनाको ज्यान लिएको जनाएको थियो । 

तर, सोमबार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, यसअघि पक्राउ परेका लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई आरोपीका रूपमा सार्वजनिक गरेको हो । घटनाको मुख्य योजनाकारसमेत लोकबहादुर नभई खड्गबहादुर भएको पनि प्रहरी जनाएको छ । खड्गबहादुर मृतक तेजबहादुर कार्कीका काकाका छोरा हुन् । खड्गबहादुर र रणबहादुर सहोदर दाजुभाइ हुन् । प्रहरीका अनुसार खड्गबहादुर र रणबहादुरका दुई परिवार मिलेर योजनाबद्ध रूपमा सामूहिक हत्या गराएको पछिल्लो अनुसन्धानमा खुलेको छ ।

२१ भदौको बिहान मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ५२ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की र उनका दुई छोराछोरी आठ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव घरनजिकै फेला परेको थियो ।

तेजबहादुरले सधैँ होच्याउने, अपशब्द बोल्ने, हेप्ने, गालीगलौज गर्ने गरेकाले पाँचैजना अभियुक्तले हत्याको योजना बनाएको बयान दिएको संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए । ‘२० भदौमै तेजबहादुरको हत्या गर्ने योजना बनाइएको रहेछ, तर भोलिपल्ट तेजबहादुरको धान गोड्ने दिन भएकाले बिहानै खेताला भन्न आउने अनुमानसहित सोही समयमा उनको र उनकी श्रीमती कमलाको हत्या गर्ने योजना बनेको पाइयो,’ पत्रकार सम्मेलनमा एसपी दाहालले भने, ‘हत्या गर्दैगर्दा अरू कसैले देखे देख्नेजतिको पनि हत्या गर्ने सल्लाह पहिले नै जुटेको रहेछ । हत्यापछि घरमा भएको धनमाल सम्पत्तिसमेत लैजाने योजना बने पनि हल्ला धेरै भएकाले घरभित्र नपसेको बयान उनीहरूले दिएका छन् ।’

हत्याको योजना सामूहिक बने पनि घटनापछि प्रहरीले थाहा पाए लोकबहादुरले मात्रै जिम्मा लिने, त्यसको बदलामा सबैले लोकबहादुरको परिवारलाई सहयोग गर्नेसमेत सहमति बनेको पाइएको एसपी दाहालले बताए । ‘एकै घरका दुई परिवार खड्गबहादुर र रणबहादुर सहोदर दाजुभाइ हुन् । उनीहरू दुवै परिवारको आर्थिक अवस्था निम्न रहेकाले तेजबहादुरले नै खेताला र ज्याला–मजदुरी काम दिने, हरेक कामकाज गर्दा सिकाउने, होच्याउने र हेप्ने गरेकाले दुवै परिवार रुष्ट रहेछन् । आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने, सधैँ गालीगलौज गर्ने गरेकाले हत्या गरेको अभियुक्तहरूले बयान दिएका छन्,’ एसपी दाहालले भने ।

देख्नेजति सबैको  हत्या गर्ने योजना रहेछ

पत्रकार सम्मेलनमा एसपी भीम दाहाल

२० भदौमै तेजबहादुरको हत्या गर्ने योजना बनाइएको रहेछ, तर भोलिपल्ट तेजबहादुरको धान गोड्ने दिन भएकाले बिहानै खेताला भन्न आउने अनुमानसहित सोही समयमा उनको र उनकी श्रीमती कमलाको हत्या गर्ने योजना बनेको पाइयो । हत्या गर्दै गर्दा अरू कसैले देखे देख्नेजतिको पनि हत्या गर्ने सल्लाह पहिले नै जुटेको रहेछ । हत्यापछि घरभित्र भएको धनमाल सम्पत्तिसमेत लैजाने योजना बने पनि हल्ला धेरै भएकाले घरभित्र नपसेको बयान उनीहरूले दिएका छन् ।

सामूहिक हत्याकाण्ड अनुसन्धान गर्न सुरुदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट डिएसपीको नेतृत्वमा टोली खटिएको थियो भने प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण बिसीसमेत खटिएका थिए । २७ भदौको पत्रकार सम्मेलनमा डिआइजी बिसीले घटनामा लोकबहादुरको मात्रै संलग्नता रहेको र सुरुमा तेजबहादुरको हत्या गरेको देख्नेजति सबै ६ जनालाई मारेको अनुसन्धानमा भेटिएको बताएका थिए । प्रहरीले घटना अनुसन्धानबारे एक साताअघि दिएको विवरण र सोमबार सार्वजनिक गरेको विवरणमा ठूलो भिन्नता देखिएको छ । हतारमा निष्कर्ष सार्वजनिक गर्दा प्रहरी अनुसन्धानमाथि फेरि पनि प्रश्न उठेको छ । 

रञ्जनाको मोबाइलले खोल्यो घटनाको रहस्य
अनुसन्धानको क्रममा प्रहरीले मृतक ३२ वर्षीया रञ्जनासँग दुईवटा मोबाइल रहेको जानकारी पाए पनि एउटा मोबाइल फेला पारेको थिएन । वैदेशिक रोजगारमा रहेका रञ्जनाका श्रीमान्ले पठाइदिएको ओप्पो मोडलको एन्ड्रोइड मोबाइल हराइरहेको थियो । तर, प्रहरीले आइएमइआई नम्बरका आधारमा सो मोबाइललाई डिजिटल सर्भिलेन्समा राखेको थियो । शुक्रबार मोबाइल स्विच अन भएको संकेत प्रहरीले पायो । त्यसपछि मोबाइल ट्र्याक गर्दै गाउँ पुग्दा सो मोबाइल नरेशको हातमा फेला प¥यो । नरेशलाई नियन्त्रणमा लिई केरकार गर्दा उनले नै घटनाको बेलीबिस्तार लगाए । 

प्रहरीलाई नरेशले दिएको बयानअनुसार रञ्जनाको हत्यापछि ओप्पो मोबाइलबाट लोभिएर सिम फाली स्विच्ड अफ गरेर घरमुनिको ओडारमा लुकाएका थिए । घटनाका अन्य आरोपीलाई यसबारे थाहा थिएन । साथै, प्रहरीले सो मोबाइललाई डिजिटल सर्भिलेन्समा राखेको नरेशले पत्तो पाएनन् । हत्याको पाँच दिनपछि लोकबहादुर पक्राउ परेपछि अनुसन्धान गर्न पुगेका प्रहरी गाउँबाट फर्किए । सञ्चारकर्मीको भिड पनि कम भयो ।

२७ भदौमा प्रहरीले पत्रकार सम्मेलन गरेर लोकबहादुर एक्लैले सबैको हत्या गरेको सार्वजनिक गरेपछि नरेश अब आफू जोगिएको भन्दै ढुक्क भए । त्यसपछि ओडार पुगेर नरेशले मोबाइल निकाले । अन गरेर आफ्नो नम्बर हाले । हराएको रञ्जनाको मोबाइलमा नरेशको नम्बर देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर केरकार गर्दा बाँकी आरोपीहरू पनि खुले । यसअघि पनि नरेशले लगाएको टिसर्टमा रगतको दाग देखेपछि केरकार गर्दा लोकबहादुर पक्राउ परेका थिए । तर, उनले योजनामुताबिक नै हत्या आफूले मात्र गरेको बयान प्रहरीलाई दिएपछि प्रहरीले त्यसैमा विश्वास गरेको थियो । 

पोस्टमार्टम रिपोर्टपछि अनुसन्धान फराकिलो भयो
प्रहरीले हत्या भएका सबैको शवको पोस्टमार्टम गराएको थियो । २७ भदौमा सार्वजनिक गरिएका लोकबहादुरले दाउराको चिर्पटले हानेर पाँचजनाको तथा भित्तामा टाउको ठोकाएर एकजनाको हत्या गरेको बताएका थिए । तर, पोस्टमार्टम रिपोर्टमा हत्यामा धारिलो हतियारको प्रयोग भएको देखिएपछि प्रहरीले अनुसन्धानको दायरा बढाएको थियो । नरेश पक्राउ परेपछि नियन्त्रणमा लिइएका अन्य सबैले हत्यामा अलैँची काट्ने कैँचीको पनि प्रयोग गरेको बयान दिएका छन् । प्रहरीका अनुसार तेजबहादुरलाई हत्या गर्दैगर्दा देखेर गुहार लगाउँदै आएकी उनकी श्रीमतीमाथि सोही कैँचीले प्रहार भएको थियो । 

दुव्र्यवहारका कारण बदलाभावमा हत्या गरेको दाबी
पक्राउ परेकाहरूले तेजबहादुरले सधैँ आफूहरूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने, गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । ‘हत्याका प्रमुख योजनाकार देखिएका खड्गबहादुर सधैँ मादक पदार्थ सेवन गर्ने, श्रीमती र छोराहरूसँग पनि झगडा गरिरहने व्यक्ति थिए । उनका भाइ रणबहादुरको बोली स्पष्ट थिएन ।

रणबहादुरका छोरा लोकबहादुर दुईपटक मलेसिया र एकपटक दुबई गएर आए पनि प्रगति गर्न नसकेपछि हीनताबोधले ग्रस्त थिए । खड्गबहादुर र रणबहादुरको परिवार तेजबहादुरको हेपाइबाट आजित थिए । उता, तेजबहादुरका दुवै छोराले वैदेशिक रोजगारबाट राम्रै आम्दानी गरिरहेका थिए । र, उनीहरूले झापामा ८० लाख रुपैयाँमा जग्गाजमिन जोड्ने तयारीस्वरूप बैनासमेत गरिसकेका थिए । त्यसैले पनि हीनभावमा ग्रस्त भएर हत्या गर्ने योजनामा उनीहरू पुगेको देखिएको छ,’ एसपी दाहालले नयाँ पत्रिकासँग भने । 

यसरी भएको थियो हत्या
प्रहरी अनुसन्धानमा खुलेअनुसार २० भदौको राति लोकबहादुर कार्कीको घरमा मुख्य योजनाकार खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश बसी भोलिपल्ट हत्या गर्ने योजना बनाएका थिए । २१ भदौको बिहानै तेजबहादुर खेताला बोलाउन लोकबहादुरको घर गएका थिए । तेजबहादुरको मादी–३ मा पर्ने पिप्लेखेतमा अभियुक्तहरू पाँचैजना खेताला जाने पहिला नै निश्चित भइसकेको थियो । योजनामुताबिक तेजबहादुरको घर पुगी खड्गबहादुरले लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू भनेर उक्साए । त्यसपछि तेजबहादुर लोकबहादुरको घरतिर हिँडे । लगत्तै खड्गबहादुर र हस्तबहादुर घरपछाडिबाट दाउराको चिर्पट बोकेर पछिपछि लागे ।

लोकबहादुरलाई उठाएर फर्किएका तेजबहादुर खोल्सामा पुग्दा लोकबहादुरले पछाडिबाट चिर्पटले आक्रमण गरे । बाँकी चारैजनाले आ–आफूले बोकेका चिर्पटले प्रहार गरे । एकाएक आक्रमण भएपछि ‘लोकेले मार्‍यो’ भन्दै तेजबहादुर चित्याए । आवाज सुनेर तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना हारगुहार गर्दै त्यहाँ आइपुगे । त्यसैक्रममा हस्तबहादुरले अलैँची टिप्ने चक्कुले तेजबहादुरको पेटमा प्रहार गरे र डिलबाट लडाई बाटोमा घोप्टो पारेर छाडे ।

तेजबहादुरको हत्या गरेपछि सबैले कमला र रञ्जनामाथि आक्रमण गरे । लोकबहादुरले कमलालाई चिर्पटले प्रहार गरे भने हस्तबहादुरले कमलाको घाँटीमा चक्कुले प्रहार गरे । बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारे । खड्कबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर उनको पनि हत्या गरे । त्यसपछि रणबहादुर र नरेशले रञ्जनाको लास कमलाको लास भएकै स्थानसम्म पुर्‍याए । 

घटनाका वेला नाबालकहरू दिपेन र गोमा घरनजिकको बाटोमा आइपुगेका थिए । त्यो देखेपछि हस्तबहादुर र लोकबहादुरले लखेटी–लखेटी बाटो छेकेर दुवैलाई पक्रिए । हस्तबहादुरले मुख थुने भने लोकबहादुरले चिर्पटले हाने । त्यसपछि लोकबहादुरले दुवैको घाँटी बटारी हत्या गरे । त्यसपछि पाँचैजना तेजबहादुरको घरतर्फ गए । तेजबहादुरकी ८४ वर्षीया आमा पार्वती मकै नंग्याइरहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घरपछाडिको गोठनजिक पु¥याए भने लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारेर हत्या गरे । 

प्रहरी अनुसन्धानमा फेरि विश्वसनियताको प्रश्न
 निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीको सुरुवाती अनुसन्धान गलत थियो कि सही भन्ने विषय अझै अस्पष्ट छ । उक्त घटनामा प्रहरी के विषयमा मात्रै प्रस्ट छ भने अभियुक्त सार्वजनिक गर्न हतार गर्दा अनुसन्धान विवादमा पर्‍यो । कुनै प्रस्ट प्रमाणविना नै आरोपीले आरोप सकारैकै आधारमा त्यतिवेला प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, पछि प्रमाणले त्यसलाई पुष्टि गर्न नसकेपछि विष्ट छुटे । अहिलेसम्म उक्त घटना प्रहरीले सुल्झाउन सकेको छैन । 

निर्मला प्रकरणमा प्रहरी अनुसन्धानको विश्वसनीयतामाथि गम्भीर प्रश्न  उठ्यो । तैपनि प्रहरीको अनुसन्धान शैली नफेरिएको संखुवासभाको सामूहिक हत्या घटनाले देखाएको छ । तेजबहादुर कार्कीको परिवारका ६ सदस्यको हत्यामा उनका भजित लोकबहादुर कार्कीको मात्र संलग्नता देखिएको भनेर २७ भदौमा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । सोही आधारमा सफल अनुसन्धान गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेश नम्बर १ का डिआइजी अरुण बिसीसहित पाँचजनालाई पुरस्कृतसमेत गर्‍यो । तर, थप अनुसन्धान गर्ने क्रममा यसमा थप व्यक्तिहरूको संलग्नता देखिएको र योजनाकार अर्कै रहेको भन्दै प्रहरीले सोमबार सार्वजनिकसमेत गरेको छ ।

यसले प्रहरी अनुसन्धानको विश्वसनीयतामाथि फेरि प्रश्न उठेको छ । तर, प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भने यसमा प्रहरीको गल्ती नरहेको दाबी गर्छन् । ठूलो घटना भएकाले सुरुमा लोकबहादुर पक्राउ परेलगत्तै सार्वजनिक गरेर अनुसन्धान अघि बढाएको र थप अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता खुलेको उनको भनाइ छ ।