मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Saturday, 12 July, 2025
२o७८ असोज ३ आइतबार १६:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विभेद गर्नेलाई पार्टीको ढोका बन्द गरौँ : विश्वप्रकाश शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १६:४o:oo

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विभेद गर्ने राजनीतिकर्मीलाई पार्टीको ढोका बन्द गर्नुपर्ने बताएका छन् । बाल श्रमशोषण, माहिलामाथि हिंसा, जातीय विभेदसँगै सबै प्रकारका विभेद गर्नेलाई सबै पार्टीले उसका लागि ढोका बन्द गर्नुपर्ने बताएका हुन् ।

‘राजनीतिमा रूपान्तरण जरुरी छ भने राजनीतिमा परिवर्तनको एउटा पाटो महिलामाथि हिंसा, बाल श्रमशोषण, जातीय विभेद गर्छ भने त्यसलाई कांग्रेस–कम्युनिस्ट सबैले पार्टीमा ढोका बन्द गर्नुपर्छ,’ उनले भने, ‘कसैलाई पनि अपमान गर्न पाइँदैन । हामीले विद्रोही उम्मेदवार, प्रस्तावक, समर्थकलाई कारबाही गर्छौँ । त्यहाँसम्म ठीक छ । तर, जसले सामाजिक विसंगति गर्छ उसलाई राजनीतिबाट बाहिर निकालिएन भने समाज परिवर्तनको राजनीतिक आन्दोलन सफल हुँदैन ।’

२४ भदौमा कांग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्माले आइतबार गृहजिल्ला झापाको बिर्तामोडमा अवधारणापत्र सार्वजनिक गर्दै नेपालभित्र थरीथरीको नेपाल रहेको बताए । ‘नेपालभित्रै पनि दुईवटा नेपाल छ । एउटा नेपाल बिहान १० बजे टाई लगाएर बोर्डिङ जाने छ । अर्को नेपाल दिनको २ बजे होटेलको टेबल पुछिरहेको हुन्छ,’ उनले भने, ‘एउटा नेपाल ३३ प्रतिशत अधिकार लिएर सिंहदरबार छिर्छ, संसद् छिर्छ, पार्टीको क्षेत्रीय प्रतिनिधि बन्छ, अर्को नेपाल खाडीमा मेरो लागि, देशका लागि खाडीमा आँसु बगाइरहेको छ र अर्को नेपाल व्यापारमा छ, राजनीतिमा छ ।’

उनले सामाजिक न्यायको विषय राजनीतिमा मुख्य भएको बताए । अहिले दलहरू सामाजिक न्याय मैले लिएको भन्दै झगडा गरिरहँदा जनता भने खान नपाएर मरिरहनुपरेको बताए । ‘सामाजिक न्यायको सन्दर्भमा दलहरू मैलै ल्याएको र तैँले ल्याएको भन्दै छन् । तर, शम्भु सदा स्लाइन नपाएर किन मने ?,’ उनी प्रश्न गर्छन्, ‘खान नपाएर किन मरे मलद सदा ? किन मरे कीर्तिपुरको सडकमा शेरबहादुर तामाङ ? सामाजिक सुरक्षाका लागि हामीले गरेको २०–२५ वर्षको व्यवस्थाले किन चिन्न सकेन उनलाई ।’

उनले कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गर्दा मूल एजेन्डा राजनीतिमा परिवर्तनमा भएको बताए । ‘ठूला–ठूला राजनीतिक परिवर्तन भए । अब राजनीतिमा परिवर्तन आवश्यक छ । एउटा विद्यालय पढ्ने विद्यार्थीलाई के बन्छस् भन्दा डाक्टर, इन्जिनियर बन्छु भन्छ,’ उनले भने, ‘राजनीति गरेर देश परिवर्तन गर्छु किन भन्दैन ? राजनीतिमा परिवर्तन गरे मात्र देशमा परिवर्तनको ढोका खुल्नेछ ।’ उनले अहिले देशको राजनीति ठीक भएको र अब अव्यवस्थाको अन्त्य आवश्यक रहेको बताए ।

शर्माले देशमा निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै यसलाई नियन्त्रण आवश्यक जरुरी रहेको बताए । ‘एउटा व्यक्ति निर्वाचन उड्दै गर्दा उसले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण र वास्तविक खर्च फरक हुन्छ । कुनै पारदर्शी खर्च छैन, केका लागि खर्च ? किन खर्च ? कसले गराउँदै छ खर्च ?’ उनले भने, ‘मिहिनेत गरेर । इमानको अन्न खाएर दाताकोमा ढोग्दै–ढोग्दै पैसा माग्न जानेले निर्वाचन लड्न पाउने कि नपाउने ?’

उनले अब एकपटक मात्र राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक मात्र सांसद बन्न पाउने नीति आवश्यक रहेको बताए । 
 विश्वप्रकाश शर्माको अवधारणापत्र