१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल पहिलोपटक अमेरिकासँग पराजित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२९:oo

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भयो । अमेरिकाले पहिलोपटक एकदिवसीय खेलमा नेपालमाथि जित निकाल्दा ओपनर स्टिभ टेलरले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरी ९२ रनको योगदान दिए । 
नेपाल पहिलोपटक एकदिवसीय खेलमा अमेरिकासँग पराजित भएको छ । ओमानको अल क्रिकेट मैदानमा शुक्रबार अमेरिकाले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई ६ विकेटले हराएको हो । नेपालमाथिको सानदार जितसँगै अमेरिकाले विश्वकप लिग–२ मा लगातार ६ खेलमा हारको पूर्णविराम लगाएको छ । पहिलो ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ७४ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा अमेरिकाले २९.३ ओभरमा केवल ४ विकेट गुमाउँदै एक सय ७५ रन जोड्यो । 

नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । अमेरिकासँग खेलमा पराजित भएको नेपाल अंक तालिकामा समेत कमजोर अवस्थामा पुगेको छ । आइसिसी विश्वकप २ लिगको तालिकामा नेपालले आठ खेलमा ६ अंक मात्र जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिकाले आठ खेलबाट १६ अंक बनाउँदै दोस्रो स्थान बलियो बनाएको छ । शीर्ष स्थानमा ओमानले २० अंक बटुल्दा दश खेलमा जित निकालेको छ । 

स्टिभ टेलरको विस्फोटक ब्याटिङ
अमेरिकाले नेपालमाथि पहिलोपटक जित निकाल्दा ओपनर स्टिभ टेलरले विस्फोटक ब्याटिङ गरेका थिए । उनले पावर प्लेमै आक्रामक रूपमा ब्याटिङ गर्दै ९२ रनको योगदान दिए । उनले यसक्रममा ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरेका थिए । इनिङ्सको १९.३ ओभरमा टेलरले आफ्नो विकेट गुमाए । करण केसीको ओभरमा टेलर सोमपाल कामीबाट क्याचआउट भएका हुन् । टेलरले व्यक्तिगत ४२ रनमा लङअङमा कुशल भुर्तेलले सहज क्याच मिस गरेका थिए । टेलरले प्राप्त एक जीवन दानको भरपूर फाइदा लिए । 

यसैगरी मोनांक पटेल र जस्कराम मल्होत्राबीच पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै अमेरिकालाई जित दिलाए । मोनांकले ७० बलमा एक चौकाको सहयोगमा ३८ रन बनाए । मल्होत्रा नटआउट रहँदै ३२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३६ रनमा अविजित रहे । मल्होत्रा डक आउट हुनबाट बचेका थिए । नेपाली टोलीबाट डेब्यु गरेका गुलसन झाले मल्होत्रा क्याच ड्रप गरेका थिए । 

सन्दीप र करणले लिए दुई–दुई विकेट 
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाँचौँ ओभरमा दुई विकेट हात पारे । सन्दीपले ५.१ ओभरमा ओपनर सुशान्त मोदानीलाई दुई रनमा एलबिडब्लू आउट गरे । ५.४ ओभरमा उनले कोरिमा गोरलाई शून्य रनमा बोल्ड गर्दै एकै ओभरमा दुई विकेट लिएका थिए । त्यसपछि मोनांक र ओपनर टेलेरले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । यसैगरी इनिङ्सको २०औँ ओभरमा करणले दुई विकेट लिएका थिए । उनले ओपनर टेलरलाई तेस्रो तथा चौथो बलमा सञ्जय कृष्णमूर्तिलाई आउट गरे । 

नेपाल एक सय  ७४ रनमा अलआउट
यसअघि नेपाली ब्याट्सम्यानले पुनः एकपटक कमजोर ब्याटिङ प्रदर्शन गरेका थिए । ओमानसँगको खेलमा मध्यक्रम ब्याट्सम्यान चल्न सकेका थिएनन् । अमेरिकासँगको प्रतिस्पर्धामा पनि त्यही समस्या दोहोरियो । नेपालले पूरै ५० ओभर ब्याटिङ गर्न सकेन । ११ जना ब्याट्सम्यान नै पेभेलियन फर्कंदा नेपाल एक सय ७४ रनमा समेटियो । यसवेला इनिङ्समा अझै दुई ओभर बाँकी नै थियो । 

कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल तथा डेब्यु खेलाडी गुलसन झाबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । पाँचजना ब्याट्सम्यानले दोहोरो रन पनि बनाएनन् । कुशल मल्ल पुनः एकपटक असफल भएका छन् । तीन बल सामना गरेका कुशल डकआउट भए । उत्कृष्ट फर्ममा रहेका रोहितकुमार पौडेल अमेरिकासँगको प्रतिस्पर्धामा केवल दुई रनमै आउट भए । निरन्तर विकेट गुमाउनु तथा गतिलो साझेदारी नहुँदा पनि नेपालले अमेरिकाविरुद्ध स्कोर बोर्डमा चुनौतीपूर्ण योगफल तयार पार्न नसकेको हो । 

दुई बलियो साझेदारी
नेपालको ब्याटिङमा दुईवटा मात्र बलियो साझेदारी भयो । कप्तान मल्लले ओपनर भुर्तेलसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे । भुर्तेलले आफ्नो फर्म यथावत् राख्दै ४३ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ३६ रनको योगदान दिए । त्यसपछि मल्लले गुलसनसँग पाँचौँ विकेटका लागि ५१ रनकै साझेदारी गर्दै नेपाललाई ८९–४ बाट १४०–५ को स्थितिमा राखे । गुलसन आउट हुँदा ३८.२ इनिङ्स चलिरहेको थियो । गुलसनले आफ्नो डेब्युमा आक्रामक रूपमै ब्याटिङ गरे । उनले ५३ बलमा दुई चौका र एक छक्का प्रहार गरी २८ रनको योगदान दिए । यसबाहेक अन्य कुनै पनि विकेटका लागि गतिलो साझेदारी भएन । 

६ विकेट ३४ रनमा पतन
नेपालको ब्याटिङ कमजोर हुनुको पछाडि अमेरिकन फास्ट बलर सौरभ नेत्राभाल्कर र कायल फिलिप नै हुन् । दुवैले एक–आपसमा सात विकेट लिए । नेत्राभाल्करले नौ ओभरमा २९ रन खर्चेर सर्वाधिक चार विकेट लिए । फिलिपले नौ ओभरमा एक मेडन राखी ४३ रन दिँदै तीन विकेट हात पारे । नेपालले अन्तिम ६ विकेट केवल ३४ रनको अन्तरमा गुमाएको थियो । 

पाँचौँ विकेटका रूपमा गुलसन आउट हुँदा नेपालले स्कोर बोर्डमा एक सय ४० रन जोडेको थियो । त्यपसछि थप ३४ रन नेपालले जोड्दा बाँकी ६ विकेट नै गुमायो । पुछारका ब्याट्सम्यान करण केसी र सन्दीप लामिछानेले केही आक्रमक ब्याटिङ गरे । 

 ज्ञानेन्द्रले पूर्वकप्तान पारसको रेकर्ड तोडे
नेपालका कप्तान ज्ञानेन्द्रले पूर्वकप्तान पारस खड्काले नेपालबाट एकदिवसीय खेलमा राखेको सर्वाधिक रन तोडेका छन् । सर्वाधिक ५५ रन बनाएपछि ज्ञानेन्द्रले नेपाली राष्ट्रिय टोलीबाट एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानका रूपमा आफूलाई उभ्याएका हुन् । उनले १५ एकदिवसीय खेलमा १५ इनिङ्समा ३ सय ६६ रन बनाएका छन् । ज्ञानेन्द्रले एकदिवसीय खेलमा दुई अर्धशतकसमेत बनाएका छन् । 

डेढ महिनाअघि राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका पारसले १० खेलमा एक शतक र एक अर्धशतक मद्दतमा ३१५ रन बनाएका थिए । सन् २०१९ मा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र नेपाली टोलीका कप्तान बनेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पारसकै नाममा छ । 

पारसले ३३ खेलमा सात सय ९९ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका ज्ञानेन्द्रले ३२ खेलबाट ६ सय ७३ रन बनाएका छन् । नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक रन बनाएका ज्ञानेन्द्रले धैर्यपूर्वक ब्याटिङ गरी एक सय पाँच बलमा सर्वाधिक ५५ रन बटुलेका हुन् । उनले आफ्नो इनिङ्समा तीन चौका प्रहार गरे । उनी इनिङ्सको ४५.३ ओभरमा आउट भए । 

 गुलसनको डेब्यु
अमेरिकाविरुद्ध फास्टबलर गुलसन झाले नेपाली टोलीबाट डेब्यु गरेका छन् । कप्तान ज्ञानेन्द्रले डेब्यु खेलमै गुलसनलाई छैटौँ क्रममै ब्याटिङ पंक्तिमा उतारेका थिए । गुलसनले डेब्यु अवसर पाउँदा बेन्चमा विक्रम सोब बसे । गुलसन नेपालबाट एकदिवसीय खेलमा डेब्यु क्याप पाउने २७औँ खेलाडी बनेका छन् ।

बायाँहाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम गतिका बलर गुलसन नेपाल पुलिस क्लबसँग आबद्ध छन् । गत मार्चमा काठमाडौंमै सम्पन्न मयेर कपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल पुलिस क्लबले एपिएफलाई फाइनलमा आठ विकेटले हराउँदा गुलसनले सात ओभरमा ३६ रन खर्चेर सर्वाधिक चार विकेट हात पारेका थिए । यही प्रदर्शनको आधारमै उनी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका हुन् ।

ad
ad