मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
प्रा. डा. निरञ्जन पराजुली
२०७८ भदौ ३१ बिहीबार ११:२८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

त्रिविको असफल परीक्षा प्रणाली

Read Time : > 4 मिनेट
प्रा. डा. निरञ्जन पराजुली
२०७८ भदौ ३१ बिहीबार ११:२८:००

एक–दुई सय विद्यार्थी भएका शैक्षिक कार्यक्रमको परीक्षाफल प्रकाशन गर्नसमेत महिनौँ लाग्नुलाई ‘सिस्टम फेलियर’ नभनेर के भन्ने ?
विविध समस्याले ग्रस्त त्रिभुवन विश्वविद्यालय कोभिड–१९ को कारण झन् थलिएको छ । ६ दशक लामो त्रिविको इतिहासमा सायदै परीक्षा सञ्चालन शैक्षिक क्यालेन्डरअनुसार चलेको छ । सामाजिक सञ्जालमा विद्यार्थीको बढी गुनासो परीक्षा प्रणालीमै केन्द्रित देखिन्छ । देशको ७८ प्रतिशत उच्च शिक्षाको भार थेगेको त्रिविको परीक्षा प्रणाली सुधार नभई परिवर्तन सम्भव छैन । परीक्षाफल प्रकाशन भएपछि विद्यार्थीको गुनासो सुनिन्छ– त्रिविमा उत्तरपुस्तिका राम्रोसँग परीक्षण हुँदैन । मैले पनि यस्तो गुनासो त्रिविका केही जिम्मेवार पदाधिकारीलाई सुनाएँ । परीक्षा हुँदै जान्छ । विद्यार्थीका गुनासा आउँछन्, तर सुनुवाइ हुँदैन । त्यसैले, सञ्चार माध्यममा यस लेखमार्फत फरक मत व्यक्त गरेको छु । 

पछिल्लो समय त्रिविले सेमेस्टर प्रणालीमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यस प्रणालीमा ६–६ महिनामा परीक्षा हुनुपर्ने हो, तर एकाध घटनाबाहेक परीक्षा समयमा हुँदैन । सेमेस्टर प्रणालीमा पढाइ र विद्यार्थीको मूल्यांकन (परीक्षा र ग्रेडिङ) समानान्तर जाने भएकाले यो बढी लोकप्रिय कार्यक्रम हो । अझै पनि त्रिविका अधिकांश स्नातक तह वार्षिक परीक्षा प्रणालीमै छन् । समयमै परीक्षा नहुने समस्या दुवैखाले शैक्षिक कार्यक्रममा छ । त्रिविमा प्रायजसो सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालयले सञ्चालन गर्छ । डिन कार्यालयमा उपलब्ध सीमित जनशक्ति र साधनस्रोतका कारण बल्लतल्ल परीक्षा भए पनि नतिजा प्रकाशन हुन महिनौँ लाग्छ ।

विश्व बैंकले परीक्षाफल छिटो प्रकाशन गर्न त्रिविमा लगानी गरेको छ, तर अपेक्षाकृत सुधार हुन सकेको छैन । एक दुई सय विद्यार्थी भएका कार्यक्रमको परीक्षाफल प्रकाशन गर्नसमेत महिनौँ लाग्नुलाई ‘सिस्टम फेलियर’ नभनेर के भन्ने ? विदेशमा ‘एक मिनेटमा मेसिनले ट्रान्सक्रिप्ट प्रिन्ट हुने’ सुनेका नयाँ पुस्ताले त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न हप्तौँ वा महिनौँ कुर्नुपर्ने भएपछि आलोचना स्वाभाविक हो । यसबीच केही राम्रा काम पनि नभएका होइनन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पछिल्लो समय अनलाइन तथा डिजिटल प्रविधिमा जोड दिएको छ, जसलाई सकारात्मक मान्नुपर्छ । 

पश्चिमा मुलुकमा सेमेस्टर प्रणालीमा जुन प्राध्यापकले अध्यापन गरायो, उसैले विद्यार्थीको विभिन्न चरण र विधिबाट मूल्यांकन (परीक्षा) गरी ग्रेडिङ गर्ने प्रचलन छ । विद्यार्थीले प्राध्यापकको ग्रेडिङविरुद्ध उजुरी नगर्दासम्म त्यसमा विभागीय प्रमुख वा डिनबाट कुनै हस्तक्षेप हुँदैन । तर, विभागीय प्रमुख वा सिनियर फ्याकल्टी वा डिनबाट सेमेस्टरको अन्तिममा फ्याकल्टीको ‘परफरमेन्स’ बुझ्न विद्यार्थीबाट फिडब्याक लिइन्छ । विद्यार्थीको फिडब्याक पटक–पटक नकारात्मक आए उक्त फ्याकल्टीलाई हटाउनेसम्मको निर्णय हुन सक्छ । यस्तो ‘चेक एन्ड ब्यालेन्स’को व्यवस्थाले शैक्षिक गुणस्तर निर्धारणमा महत्वपूर्ण स्थान राख्छ । तर, नेपालमा विद्यार्थीको फिडब्याक लिने चलनै छैन । विद्यार्थीको सफलता वा असफलतामा प्राध्यापकको डेलिभरी महत्वपूर्ण हुन्छ ।

अन्तर्राष्ट्रिय प्रचलनविपरीत नेपालमा सेमेस्टर प्रणालीका प्रायजसो शैक्षिक कार्यक्रममा निश्चित विषय पढाउन एकभन्दा बढी प्राध्यापकको संलग्नता देखिन्छ । विडम्बना, यसलाई हाम्रो प्राज्ञिक जगत्ले सहज रूपमा लिएको छ । यसरी मानव संसाधनको अनावश्यक प्रयोगले राज्यलाई आर्थिक बोझ थपिने, गुणस्तर मापनको दायरा खुम्चिने निश्चित छ । त्रिविमा एक सय ५० जति विषय समिति छन्, जसलाई पाठ्यक्रम तर्जुमा र शैक्षिक कार्यक्रमको प्रारूप तयार गर्ने अधिकार छ । तर, बिरलै विषय समितिले परीक्षा सञ्चालन र पाठ्यक्रम विकासमा रचनात्मक भूमिका खेलेको पाइन्छ । विषय समिति क्रियाशील नभई शैक्षिक सुधार हुने अवस्था छैन ।

त्रिविको शैक्षिक कार्यक्रम कमजोर हुनुमा विषय समिति र फ्याकल्टी बोर्ड निष्क्रिय र निष्प्रभावी हुनुमा दुई मत छैन । हाल त्रिविमा करिब ७५ सय प्राध्यापक भए पनि परीक्षा सञ्चालन (प्रश्न बनाउने, उत्तरपुस्तिका जाँच्ने) मा ३० प्रतिशतजति प्राध्यापक मात्र संलग्न हुने गरेको अनुमान छ । बाँकी ७० प्रतिशत प्राध्यापकको दशकौँ लामो सेवा अवधि परीक्षामा एउटै प्रश्न नबनाई र उत्तरपुस्तिका नजाँची नै टुंगिन्छ । यस्तो विश्वमा कुनै विश्वविद्यालयमा सायदै होला । वास्तवमा कक्षामा उभिएर पढाउनु मात्र प्राध्यापन होइन । आफूले पढाएको विद्यार्थीले कति बुझेका छन्, उनीहरूको सिर्जनशीलता उत्तरपुस्तिकामा कसरी व्यक्त भएको छ ? सोको जानकारी प्राप्त गर्नु प्रत्येक प्राध्यापकको अधिकार हो । सोविना प्राध्यापन पेसाको रूपान्तरण हुन सक्दैन । परम्परागत शिक्षणले उच्च शिक्षालाई रोजगारीमूलक बनाउन सक्दैन । 

विदेशमा जसरी परीक्षाको जिम्मा त्रिविले प्राध्यापकलाई दिन नचाहनुमा असंख्य कारण छन् । यसका सकारात्मक र नकारात्मक पक्ष प्रशस्तै छन । पञ्चायती व्यवस्थादेखि नै केही पदाधिकारीले परीक्षा सञ्चालनलाई शक्ति आर्जनको साधन बनाउने गरेका हुन् । विदेशमा पिएचडी कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालयको विषयगत विभागले नै डिग्री अवार्ड गर्ने–नगर्ने सैद्धान्तिक निर्णय गर्छ । औपचारिकताका लागि मात्र विश्वविद्यालयको माथिल्लो निकायमा प्रस्ताव पठाइन्छ । तर, त्रिविमा यस्तो प्रावधान छैन ।

एक–दुई सय विद्यार्थी भएका शैक्षिक कार्यक्रमको परीक्षाफल प्रकाशन गर्नसमेत महिनौँ लाग्नुलाई ‘सिस्टम फेलियर’ नभनेर के भन्ने ?
 

पिएचडीको भाइभा (अन्तिम परीक्षा) लिने काम विषयगत कमिटीको साटो डिन कार्यालयले गर्दै आएको छ । जसका कारण शोधार्थीले अनुसन्धान सकेपछि डिफेन्सका लागि महिनौँ कुर्नुपर्छ । परीक्षालाई पारदर्शी बनाउँदा, प्राध्यापकलाई परीक्षाको जिम्मा दिँदा गुणस्तर खस्किने होइन । निश्चय पनि फ्याकल्टीलाई विश्वासमा लिएर टिम वर्कमा विश्वास गर्दा मात्र त्रिविले भावी चुनौतीको सामना गर्न सक्छ । तथापि गुणस्तर सुनिश्चताका लागि ‘चेक एन्ड ब्यालेन्स’ गर्न विद्यार्थीको फिडब्याक लिन थालनी गर्नुपर्छ । 

करिब डेढ वर्षदेखि कोभिड–१९ का कारण अनलाइन कक्षाहरू चलेका छन् । पढाइ अनलाइनबाट हुने भएपछि परीक्षा किन अनलाइनबाट नहुने भनेर विद्यार्थीले प्रश्न गरिरहेका छन् । भौतिक उपस्थितिमा हुने परीक्षाका बहुरूपीपन पनि नदेखिएको होइन । २०–३० वटा प्राक्टिकल गराउनुपर्ने कोर्समा एक–दुईवटा मात्र प्राक्टिकल गराएर परीक्षा सञ्चालन हुँदा पनि विद्यार्थीले राम्रै अंक ल्याएका उदाहरण नभएका होइनन् । विषय समिति प्रमुखले प्राक्टिकलको बाह्य परीक्षक तोक्ने परिपाटी हटेपछि स्नातक तहमा प्राक्टिकल कक्षा नै हुन छाड्यो । तर, सबै क्याम्पसको आलोचना गरेको पनि होइन, ‘क्युएए’ प्राप्त संस्थाले यसमा सुधार गरेका पनि छन् । 

पटक–पटक मिडियामा परीक्षाका कमी कमजोरी छरप्रस्ट हुने गर्छन्, तर सुधारको पहल भने हुँदैन । नियमन शून्यप्रायः छ । त्रिविको परीक्षाको नियमानुसार पुराना प्रश्न १० प्रतिशतभन्दा बढी दोहोर्‍याएर सोध्न पाइन्न । यसको पनि नियमन हुन सकेको छैन । आन्तरिक परीक्षामा सोधिएको प्रश्न हुबहु बाह्य परीक्षामा सोधिएको अघिल्लो सालको प्रश्न ६०–७० प्रतिशतसम्म दोहोर्‍याएर सोधिएका उदाहरण प्रशस्तै पाइन्छन् ।

डिनहरूबाट परीक्षा सञ्चालनको वास्तविक समस्या पहिचान नगर्दा विद्यार्थीका गुनासा नजरबन्द भएका छन् । आमनागरिकको नजरमा प्राध्यापन पेसाको साख गिर्दाे छ । पुराना प्रश्न दोहोर्‍याएर परीक्षामा सोध्दा विद्यार्थी त खुसी नै हुने भए, तर यसले शिक्षामा सिर्जनशीलता समाप्त गर्छ । वार्षिक परीक्षा प्रणालीको जननी बेलायतमा १० वर्षसम्म पुराना प्रश्न दोहोर्‍याएर नसोधेका उदाहरण भेटिन्छन् । परीक्षामा सोधिने प्रश्नावलीको ढाँचामा त चर्चा नै नगरौँ । बुझ्नुपर्दैन, घोके पुग्छ । 

अन्तर्राष्ट्रिय प्रचलनविपरीत नेपालका विश्वविद्यालयले सेमेस्टर प्रणालीमा आन्तरिक र बाह्य परीक्षाको व्यवस्था गरेर विद्यार्थीको मूल्यांकन गर्ने परिपाटी छ । कोभिड–१९ का कारण समयमा बाह्य परीक्षा सञ्चालन हुन नसक्दा हजारौँ विद्यार्थीले पढाइलाई निरन्तरता दिन सकेका छैनन् । सेमेस्टरको आन्तरिक परीक्षामा केही प्राध्यापकले मनोमानी विद्यार्थीलाई बढी नम्बर दिएका कारण विश्वविद्यालय नेतृत्व केन्द्रीकृत परीक्षाबाट पछि हट्ने मुडमा छैन । 


सेमेस्टर प्रणालीको आन्तरिक मूल्यांकनलाई पारदर्शी र वैज्ञानिक बनाउन नयाँ नियमको जरुरत छ । यस्ता सवाललाई विश्वविद्यालयमा आन्तरिक बहसको विषय नबनाउने र चुप लागेर वस्ने हो भने उच्च शिक्षा थप धराशयी हुने निश्चित छ । परीक्षालाई अमूर्त, अदृश्य, अलौकिक वस्तु जसरी बुझ्ने र बुझाउने क्रममा क्रमभंग हुनुपर्छ । त्रिवि नेतृत्वले बदलिँदो परिस्थिति र विद्यार्थीको मागअनुसार रूपान्तरित हुन र सोहीअनुसार कार्यशैली बदल्न आवश्यक छ ।