Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ २९ मंगलबार २१:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी सर्वसम्मत

Read Time : > 1 मिनेट
२०७८ भदौ २९ मंगलबार २१:१६:००

नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । प्रदेश इन्चार्ज गरिमा शाहको उपस्थितिमा मंगलबार बसेको संसदीय दलको बैठकले सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोडारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । 
    
बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको प्रस्ताव र सांसद तारा लामा तामाङको समर्थनमा सोडारीलाई सर्वसम्मत दलको नेता चयन गरिएको सांसद अमरबहादुर साउदले जानकारी दिए । तामाङ र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी पनि दलको नेताका आकांक्षी थिए ।

बैठकले संसदीय दलको विधान पनि पारित गरेको सांसद साउदले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक अर्को बैठकबाट चयन गरिने समाजवादीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको एकीकृत समाजवादीका १४ सांसद छन् ।

यसअघि सोमबार बसेको उक्त दलको बैठकले सरकारलाई समर्थन दिने निर्णय गरेको थियो । समाजवादीले समर्थन गर्ने निर्णय गरेसँगै सरकारलाई बहुमत कायम भएको छ । एमालेमा हुँदादेखि नै आफ्नो समूहको सरकारमा गठबन्धन रहेकाले समर्थन कायम राख्ने निर्णय दलको बैठकले गरेको सांसद दुर्गा कामीले बताइन् । 


एमालेमै हुँदा माधव नेपाल समूह माओवादी नेतृत्वको सरकारमा सत्तासाझेदार रहँदै आएको छ । नेपाल समूहमा रहेका बहुमत सांसद उनी नेतृत्वको एकीकृत समाजवादीमा गएसँगै सरकारमा विगतकै गठबन्धनले निरन्तरता पाउने भएको हो । दुई दलको प्रस्ट बहुमत रहेकाले सरकारमा तत्काल अरू दललाई सहभागी गराउने कुनै तयारी नरहेको सांसदहरूले बताएका छन् ।
    
‘सरकार आफैँ प्रस्ट बहुमतमा छ । त्यसैले अरू दललाई सहभागी गराउने कुरा भएन ।’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भनिन्, ‘सरकारमा दुई दलकै गठबन्धन कायम रहन्छ ।’

एमाले विभाजनअघि नेपाल समूहका चार मन्त्री र तीन राज्यमन्त्री सरकारमा थिए । एमालेमै रहने निर्णय गरेका प्रकाशबहादुर शाहले आन्तरिक मामिलामन्त्री र अर्चन गहतराजले सोही मन्त्रालयको राज्यमन्त्रीबाट राजीनामा दिइसकेका छन् । रिक्त मन्त्रालयमा समाजवादीबाटै नयाँ मन्त्री नियुक्त हुने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भइरहेको बताइएको छ ।
     
हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा सरकारको बहुमतका लागि २७ सदस्य आवश्यक पर्छन् । सबैभन्दा ठूलो दल समाजवादीका १४ र सरकारको नेतृत्व गरिरहेको माओवादीका १३ सांसदसहित सरकार गठनका लागि चाहिने मत पुग्छ ।