समस्या समाधानका लागि वार्तामा आाउन एमालेलाई गृहमन्त्री खाणको आग्रह

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले संसदमा देखिएका समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरेका छन् । आइतबार संसदभवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संवादमार्फत समस्याको हल खोज्न एमालेलाई आह्वान गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै एमालेले प्रतिनिधिसभा बैठक आज तेस्रो दिन पनि अवरुद्ध पारेको छ । कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाणले संवादको माध्यमबाट समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै संसदमा देखिएका समस्या समाधानका लागि सभामुखले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएकाे जानकारी दिए । गृहमन्त्री खाणले भोलि बस्ने बैठकले संसदमा देखिएका सबै समस्या समाधान हुने अपेक्षा गरेको बताए । 

‘म आग्रह गर्न चाहन्छु– भएका मतभेदहरूलाई सुल्झाएर जाऔँ । संवाद, छलफल र वार्ताको माध्यमबाट हामीले ठूल्ठूला समस्याहरूलाई सम्बोधन गरेका छौँ । र, अहिले संसदमा देखिएका समस्याहरूलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो । आज पनि सभामुखले बोलाउनुभयो र हाम्रो कानुनमन्त्री र प्रतिपक्ष दलका माननीयहरूबीचमा संवाद भयो । तर, सहमति जुट्न सकेको छैन । भोलि पनि सभामुखले सबै दलका नेताहरूलाई बोलाउनुभएको छ । विश्वास गरौँ– भोलि समस्या समाधान हुन्छ,’ उनले भने ।

सुझावित समाचार