१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ भदौ २७ आइतबार ०७:५३:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

देशभर २७ हजार ३५५ सक्रिय संक्रमित :उपत्यकामा मात्रै ६ हजार ५३१

सक्रिय संक्रमितमध्ये १६४७ अस्पतालमा उपचाररत, तीमध्ये ४५६ आइसियू र १२२ संक्रमित भेन्टिलेटरमा

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ भदौ २७ आइतबार ०७:५३:००

नेपालमा कोभिड संक्रमणदर बिस्तारै घट्दै गइरहेको छ । साउनदेखि स्थिर रहेको संक्रमणदर ओरालो लाग्दै गएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या २७ हजार छ । सबैभन्दा उच्च संक्रमण रहेको काठमाडौं उपत्यकामा मात्रै ६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । सामान्यतया संक्रमितको संख्या पाँच सयभन्दा बढी हुँदा स्वास्थ्य संकट लागू गरिन्छ, तर पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मात्रै १४ वटा छन् । 

संक्रमणदर उच्च रहेका जिल्लामध्ये काठमाडौं पहिलो नम्बरमा छ । साउन तेस्रो सातासम्म काठमाडौंमा दैनिक पाँच सयभन्दा बढी संक्रमित भेटिए पनि पछिल्लो दुई सातादेखि तीन सय हाराहारीमा देखिन्छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गम्भीर समस्यासहित अस्पताल भर्ना हुनेको संख्या अझै पनि उपत्यकामै बढी देखिन्छ ।

काठमाडौंमा ११ लाख सात हजार ३३१ जनाले पहिलो र नौ लाख ११ हजार ६५० ले पूर्ण खोप पाएका छन् । अर्थात् ४७ प्रतिशत नागरिकले पहिलो मात्रा र ३९ प्रतिशतले पूर्ण खोप पाएका छन् ।
 बद्रीबहादुुर खड्का, जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौं

पछिल्लो २४ घन्टामा मात्र काठमाडौंमा दुई सय ३० जना नयाँ संक्रमित थपिएका छन् भने उपत्यकामा तीन सय ५७ मा संक्रमण पुष्टि भएको छ । उपत्यकामा मात्रै ६ हजार पाँच सय ३१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । देशभर सक्रिय संक्रमित २७ हजार तीन सय ५५ छन् । काठमाडौंमा तीन हजार चार सय १८, भक्तपुरमा एक हजार एक सय ६७ र ललितपुरमा एक हजार नौ सय ४६ जना सक्रिय संक्रमित छन् । निषेधाज्ञा खुला भइसके पनि देशभर सक्रिय संक्रमितको संख्या २७ हजारभन्दा बढी हुनु सामान्य नभएको विज्ञहरू बताउँछन् । यस्तै, तेस्रो लहरको जोखिम पनि उत्तिकै रहेकाले पूर्वतयारी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 कुल मृत्युदरको  झन्डै ३० प्रतिशत उपत्यकाका
संक्रमितको संख्या मात्रै नभई संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि काठमाडौंमा सबैभन्दा धेरै छ । हालसम्म कोभिडका कारण उपत्यकामा तीन हजार एक सय ९१ जनाले ज्यान गुमाएका छन् । जुन कुल मृत्युदरको २९.१७ प्रतिशत हो । हालसम्म नेपालमा १० हजार नौ सय ३६ जनाको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर नौ सय ९४ जना संक्रमित थपिएका छन् ।

पिसिआर परीक्षणमा सात सय ७७ र एन्टिजेन परीक्षणमा दुई सय १७ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा ६ हजार एक सय ३६ जनाको पिसिआर परीक्षण र तीन हजार सात सय तीनजनाको एन्टिजेन परीक्षण गरिएको थियो । शनिबार एक हजार तीन सय ६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ ।

खोप अपडेट
कोभिसिल्ड : २३ लाख ३७ हजार ५ सय सात (पहिलो डोज), १३ लाख ६४ हजार १४३ (दोस्रो डोज) 
भेरोसेल : ३४ लाख दुई हजार आठ सय ३८ (पहिलो डोज), २३ लाख ७४ हजार ५१५ (दोस्रो डोज)
जोन्सन एन्ड जोन्सन : १३ लाख ८२ हजार दुई सय १९ (यो खोप एक डोज मात्र लगाउँदा पुग्छ)

 काठमाडौं, ललितपुर र भक्तपुरमा  शुक्रबार थपिएका संक्रमितको अवस्था

काठमाडौंमा शुक्रबार दुई सय ७१ जना नयाँ संक्रमित देखिएकामध्ये एक सय १४ जनाले खोप लगाएका थिए । तीमध्ये ३१ जनाले पहिलो र ३ जनाले दोस्रो मात्रा लगाएका थिए । एक ५७ जनाले खोप लगाएको नलगाएकोबारे कुनै विवरण भरेका थिएनन् ।

संक्रमितमध्ये कोभिसिल्ड खोप लगाएका १९, भेरोसेल लगाएका ८ र जोन्सन खोप लगाएका सातजना थिए । कोभिसिल्ड खोप लगाएर पुनः संक्रमित हुने सबैजसो पाँचदेखि ६ महिना अगाडिका छन् । त्यस्तै, जोन्सन खोप लगाएर संक्रमित हुने एक महिना र भेरोसेलको खोप लगाएपछि संक्रमित हुने दुई महिनायताका छन् । देशभरको तथ्यांक हेर्दा ९९ प्रतिशत संक्रमितले भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । 

ललितपुरमा ५९ जना नयाँ संक्रमित थपिएकामध्ये २३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ११ संक्रमितले खोप नलगाएको बताएका छन् । बाँकी २५ जनाले खोपबारे केही खुलाएनन् । खोप लगाएकामध्ये १९ जनाले दोस्रो डोज लगाएका छन् । बाँकी चारजनाले पहिलो डोज मात्रै लगाएका छन् । २० जनाले भेरोसेलको दुवै मात्रा लगाएका छन् । तीनजनाले कोभिसिल्ड लगाएका छन् । 

भक्तपुरमा ४५ जना नयाँ संक्रमित थपिएकामध्ये २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ६ जनाले खोप नलगाएको बताएका छन् । अन्य १५ जनाको खोपबारे कुनै विवरण उल्लेख गरेका छैनन् । खोप लगाएका २४ मध्ये २० जना दोस्रो मात्रा खोप लगाएका छन् । चारजनाले पहिलो डोज मात्रै खोप लगाएको बताएका छन् । भक्तपुरमा कोभिसिल्ड लगाउने पाँच, भेरोसेल लगाउने १७ र दुईजनाले खोपको नाम खुलाएका छैनन् ।