एमालेबाट चुनाव जितेका कञ्चनपुरका स्थानीय तहका ५१ जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। निर्वाचन आयोगले दिएको समय सीमाअनुसार एमालेबाट स्थानीय तह चुनाव जितेका नाै पालिकाका ५१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन्।
एक नगर प्रमुख, ११ वडाध्यक्ष, एक जिसस सदस्य, नाै कार्यापालिका सदस्य र २९ वडासदस्यले नेपाल नेतृत्वको पार्टी चयन गरेका हुन्। पुनर्वासका मेयर जीवन थापा, १ र ३ नम्बर वडाका अध्यक्षहरू प्रताप चन्द र कृष्ण तामाङ, कार्यपालिका सदस्य विष्णुदेवी सिग्देल र वडासदस्यहरू सुकमाया तामाङ, सुमित्रा राना, पार्वतीदेवी शाही, शान्तिमाया तामाङ, पृथमसिंह राना, फुर्वा तामाङ, बमबहादुर तामाङ, मानबहादुर तामाङ र सुपा तामाङले समाजवादीमा सनाखत गरेका छन्।
यस्तै, बेलौरीका दुई वडाध्यक्षसहित नाै जनप्रतिनिधिले समाजवादी पार्टी राजेका छन्। बेलौरी ८ र ९ का वडाध्यक्षहरू नन्दकुमार राना र शमशेरसिंह पेला, बलौरीका प्रवक्ता विनोद नेपाली, कार्यपालिका सदस्य तुलसी श्रेष्ठ धनबहादुर सार्की र सदस्य रामप्यारी विक, सोनादेवी दमाई, चमरु राना तथा राजमान चौधरीले समाजवादी पार्टीमा सनाखत गरेका छन्।
भीमदत्त नगरका दुई वडाध्यक्षसहित नाै जनप्रतिनिधिले समाजवादी पार्टी रोजेका छन्। शुक्लाफाँटा नगरका नाै जनप्रतिनिधि, बेलडाँड– १ का वडाध्यक्ष र दोधाराचाँदनी नगरका कार्यपालिका सदस्य नन्दकला सुनार, बेदकोट नगरका कार्यपालिका सदस्य नन्दकला पुलामी पार्वती सार्की, लक्ष्मी लुहारले समाजवादी पार्टीमा सनाखत गरेका छन्।
कृष्णपुरका वडाध्यक्षहरू सुन्दर चौधरी, छत्र महरा र सदस्य जहरसिंह कुँवरले समाजवादी पार्टीमा सनाखत गरेको दोस्रो दिन एमालेमै रहेको भन्दै आयोगमा निवेदन दिएका छन्। पहिले समाजवादी रोजेर फेरि समर्थन फिर्ता भन्दै उनीहरूले निवेदन दिएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगमा पठाउने भएको छ। लालझाडीबाट वडा सदस्यमा निर्वाचित तीन सदस्य जिसस सदस्य डिठ्डा राना, वडा सदस्य भगतराम चौधरी, शान्तिदेवी कामीले समेत समाजवादी पार्टीमा सनाखत गरेको दोस्रो दिन विज्ञप्ति निकालेर एमालेकै रहेको घोषणा गरेका छन् ।
यसअघि कञ्चनपुरबाट समानुपातिक प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, एमालेबाट चुनाव जितेका चारै प्रदेश सभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, लालबहादुर खड्का र प्रकाश रावलले समाजवादी पार्टीमै सनाखत गरेका थिए। खड्का सामाजिक विकासमन्त्री र रावल पूर्वराज्यमन्त्री हुन् भने तामाङ एमाले कञ्चनपुरक पूर्वअध्यक्ष तथा एमाले सुदूरपश्चिम प्रदेशका सचेतक थिए ।
एमालेबाट भीमदत्त नगरपालिका– ६ को वडाध्यक्ष निर्वाचित तथा नेकपा एकीकृत समाजवादी पार्टी कञ्चनपुरका नेता हरकसिंह धामीले ओलीपक्षीय जनप्रतिनिधिले सनाखतका वेला राज्य कोषको लाखौँ रकम हिनामिना गरेर समाजवादीमा आउन चाहेकाहरूलाई थुनेर अपहरण शैलीमा घुमाउन लगेका कारण जिल्लाभरिका अधिकांश जनप्रतिनिधिले समाजवादीमा सनाखत गर्न नपाएको बताए।