१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गट्र्युड लियोनार्द किमोरो
टेकराज थामी काठमाडाैं
२०७८ भदौ २४ बिहीबार ०८:४७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यार्थी भिसामा बसेर लागुऔषध कारोबार र यौनधन्दा

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ भदौ २४ बिहीबार ०८:४७:००

विद्यार्थी भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियाकी २६ वर्षीया गट्र्युड लियोनार्द किमोरो पक्राउपछि लागुऔषध नियन्त्रण ब्युरोका अनुसन्धान अधिकृत ढुक्क थिए–लागुऔषध कारोबारको नेपाल ‘नेक्सस’ अब हात लाग्नेछ । किनभने उनी लागुऔषध कारोबार नेपालमा ‘एन्टी सर्भिलेन्स’को भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानमै देखिएको थियो । तर, उनीमाथिको विस्तृत अनुसन्धानले परिणाम थप गम्भीर देखायो । 

किमोरोसँग उपलब्ध सबै सामग्री बरामद गरेर मिहिन विश्लेषण गर्दा उनी लागुऔषधबाहेक यौनधन्दामा पनि संलग्न रहेको भेटियो । उनले प्रयोग गर्ने मोबाइल र ल्यापटप ‘डिभाइस’मा यौन कारोबारका दररेट तोकिएको सन्देश भेटिए । ग्राहकको सूचीसमेत भेटियो, जसमा प्रतिष्ठित घरानादेखि व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूको नामावली ‘कोड’ भाषामा समावेश थिए । धन्दाका लागि ‘स्पट’ पनि ‘कोड’ भाषामै तोकिएका थिए । केही ग्राहकलाई भने उनले क्षेत्रपाटीस्थित फ्लाटमै लिएर जान्थिन् । यही प्रयोजनका लागि क्षेत्रपाटीस्थित एक भव्य घरमा प्रतिमहिना २० हजार भाडामा फ्लाट लिएको प्रहरीले जनायो ।

यही क्रममा युगान्डा, आइभरिकोस्ट र नाइजेरियाका केही महिला पनि पक्राउ परे । अनुसन्धानका क्रममा उनीहरू पनि कहीँ–कतै यौनधन्दामै सक्रिय भएको सुराक भेटिएको प्रहरी बताउँछ । पक्राउ परेकामध्ये युगान्डाकी युवतीको बाक्लो उठबस किमोरोसँग भएको देखियो । प्रहरीका अनुसार यसबीचमा ५० भन्दा धेरै शंकास्पद व्यक्ति पक्राउ परे । तीमध्ये कोही विद्यार्थी त कोही खेलाडीको आवरणमा नेपाल बस्दै आएका भेटिए । विद्यार्थी भिसामा नेपाल बस्ने उनीहरू कलेज भर्ना भएको त देखिन्छ, तर खेलाडीको आवरणमा बस्नेहरू नेपालका कुनै क्लबसँग आबद्ध छैनन् । क्षेत्राधिकारभन्दा बाहिर भएकाले किमोरोबाहेक सबैलाई प्रहरीले निगरानीमा रहने गरी छाड्यो । 

अफ्रिकी र दक्षिण अमेरिकी नागरिकसँग पनि उनको सम्पर्क हुने गरेको देखिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले भने, ‘लागुऔषधसँग सम्बन्धित अपराधलाई ब्युरोले मिहिन ढंगले केलाउँछ । प्राप्त प्रमाण विश्लेषण गर्नु हाम्रो ड्युटी हो । हामीले कोक– २ अपरेसनमा पनि त्यही गर्‍यौँ । यस क्रममा पक्राउ परेकी तान्जानियाली युवती लागुऔषध कारोबारबाहेक अन्य धन्दामा पनि संलग्न रहेको सुराक हामीले फेला पार्‍यौँ । उनीसँग सम्पर्क भएकी अन्य युवतीको धन्दा पनि शंकास्पद नै देखिन्छ । यिनीहरूलाई अब निगरानीमा राख्न जरुरी छ । नत्र ढिलोचाँडो दुर्घटना हुने निश्चित छ ।’ किमोरो गत जनवरीमा प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा भर्ना भएकी थिइन् । दुई किलो नौ सय ६६ ग्राम कोकिन कारोबारका क्रममा सिन्धुलीको खुर्कोटबाट पक्राउ परेपछि विद्यार्थीको आवरणमा उनले गरेको अपराध सार्वजनिक भएको थियो । 

विद्यार्थी भिसाका विदेशी नागरिक प्रहरीको उच्च निगरानीमा 
किमोरो पक्राउलगत्तै प्रहरीले विद्यार्थी भिसामा नेपाल बस्दै आएका विदेशी नागरिकमाथि निगरानी बढाएको छ । विशेष निगरानीमा खासगरी अफ्रिकी र दक्षिण अमेरिकी मुलुकका नागरिक परेका छन् । यसका लागि अध्यागमन विभाग र अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा अंगसँग प्रहरीले समन्वयसमेत गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले विद्यार्थी भिसामा नेपाल बस्दै आएका विदेशी नागरिकलाई निगरानी गर्ने काम उच्च तवरले भएको जानकारी दिए । 

उनले भने, ‘केही दिनअघि विद्यार्थी भिसामा नेपाल बस्दै आएकी तान्जेनियाली युवती लागुऔषध कारोबारमा संलग्न रहेको खुल्यो । यसले हामीलाई झस्काएको छ । त्यसो हुँदा विद्यार्थी भिसामा नेपाल बस्ने विदेशी नागरिकमाथिको निगरानी बढ्नु स्वाभाविक हो । यसप्रति प्रहरी सचेत छ ।’

अध्यागमनले पनि बढायो निगरानी 
विद्यार्थी भिसामा बसेर लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेपछि अध्यागमन विभागले पनि विद्यार्थी भिसामा नेपाल बस्ने विदेशी नागरिकमाथिको निगरानी बढाएको छ । यसक्रममा विभागले विद्यार्थी भिसामा नेपाल बस्ने विदेशी नागरिकको स्क्रिनिङ गर्ने, उनीहरू भर्ना भएका कलेजमा हाजिर भए वा नभएको अनुमगन गर्ने, कलेज प्रमुखलाई सचेत गराउनेलगायतका गतिविधि बढाएको छ । त्यसबाहेक विदेशी विद्यार्थी बस्ने होटेलमा समेत अध्यागमनले निगरानी बढाएको छ । यसका लागि होटेल एसोसिएसनलाई अलर्ट रहन निर्देशन जारी गरिसकेको छ । विभागले विशेषगरी अफ्रिकी र दक्षिण अमेरिकी मुलुकका नागरिकमाथिको निगरानीलाई प्राथमिकतामा राखेको छ । 

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विद्यार्थी भिसामा नेपाल बस्ने विदेशी नागरिकमाथिको निगरानी बढेको स्वीकार गरे । उनले भने, ‘विदेशी नागरिकमाथि निगरानी गर्नु, भिसा अद्यावधिक गर्नु, भिसाअनुसारको गतिविधि भए वा नभएको परीक्षण गर्नु अध्यागमनको नियमित काम हो । पछिल्ला दिन विद्यार्थी भिसामा नेपाल बस्ने विदेशी नागरिक विभिन्न धन्दामा संलग्न भएको भेटिए । यो संवेदनशील घटना हो । यसप्रति विभाग सचेत छ । त्यसैले यस्ता भिसामा नेपाल बस्ने विदेशी नागरिकमाथि निगरानी बढाएको साँचो हो । यो कदमले इमानदार विद्यार्थीलाई हतोत्साहित गर्दैन ।’

कुन वर्ष कति विदेशीले विद्यार्थी भिसा लिए ?        
मिति         विद्यार्थी 
०१७        १,७८२
०१८        २,१७६
०१९        १,९२७
०२०        ९८३
०२१        ६४८
जम्मा        ७,५१६

चार वर्षमा दुई सय ४४ अफ्रिकी र दक्षिण अमेरिकीले विद्यार्थी भिसा लिए 

अध्यागमन विभागको तथ्यांकअनुसार विगत चार वर्षयता अफ्रिकी र दक्षिण अमेरिकी मुलुकका दुई सय ४४ नागरिकले विद्यार्थी भिसा लिएर नेपाल बस्दै आएको देखिन्छ । उनीहरूमध्ये अधिकांश नेपाली भाषा विज्ञानका विद्यार्थी रहेको विभागमा प्राप्त तथ्यांकले बताउँछ । उनीहरू अध्ययनरत कलेज पनि विभागको तथ्यांकमा उल्लेख छ । धेरै विद्यार्थी प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा भर्ना भएको देखिन्छ । तर, उनीहरू नियमित कलेज जाने/नजाने र आर्थिक स्रोत भए/नभएको तथ्यांक, आर्थिक स्रोतका लागि उनीहरूले गर्ने धन्दाको विवरण भने विभागसँग छैन । 

विभागका सूचना अधिकारी झंकनाथ ढकालले भने, ‘हामीसँग विद्यार्थी भर्ना भएको पत्र, परराष्ट्र मन्त्रालयको स्वीकृतपत्र र दुई हजार अमेरिकी डलरको बैंक ब्यालेन्स देखिने पत्र हुन्छन् । त्यसबाहेकका अन्य विवरण हामीसँग छैनन् । त्यसका लागि हामी कोसिस गरिरहेका छौँ ।’ 

विद्यार्थी भिसामा रहेका अफ्रिकी र दक्षिण अमेरिकी मुलुकका नागरिक 
मुुलुक    ०१७    ०१८    ०१९    ०२०    जम्मा
ब्राजिल    १४    २८    १६    ७    ६५
मेक्सिको    १२    १०    १०    ११    ४३
चिली    ३    ३    ३    ३    १२
कोलम्बिया    १    ४    ३    २    १०
कोस्टारिका    ५    ५    १    १    १२
दक्षिण अफ्रिका    ४    ५    ३    २    १४
बोलिभिया    ४    ४    १    १    ६
फिजी    ४    २    २    २    १०
मोरिसस    १                १
केन्या    १    १    ३    ३    ८
टिमोर    २    ३    ३    १    ९
मलावी    १    २    १        ४
टोबागो    २    १            ३
जिम्बाबे        १            १
अर्जेन्टिना        २    ४    २    ८
पपुवा        १    १        २
कंगो        १    २    २    ५
इरिसिया        ३    ३    ३    ९
अल्जेरिया        १    १    १    ३
होन्डुरस        १            १
पाराग्वे        १            १
बुल्गेरिया            १        १
भेनेजुएला            १    १    २
जाम्बिया            ३    ३    ६
पेरू            १        १
नाइजेरिया                २    २
बेनिन                १    १
जम्मा    ५४    ७९    ६३    ४८    २४४

 

पाँच वर्षमा साढे सात हजार विदेशी विद्यार्थी 
अध्यागमन विभागको तथ्यांकअनुसार पाँच वर्षयता विद्यार्थी भिसामा नेपाल बस्ने विद्यार्थीको संख्या सात हजार पाँच सय १६ पुगेको छ । भिसा लिनेमा सबैभन्दा अगाडि जापानी (१,०८७) नागरिक छन् । त्यसपछि क्रमशः अमेरिकी (९६८), दक्षिण कोरियाली (९०४), बेलायती (८३५), चिनियाँ (७३३), श्रीलंकन (४८३), माल्दिभियन (४७१), अस्ट्रेलियाली १६५), क्यानेडियन (११५), जर्मन (९०)लगायतका दुई सयभन्दा धेरै मुलुकका नागरिकले विद्यार्थी भिसा लिएर नेपाल बस्दै आएका छन् । 

विद्यार्थी भिसामा धर्म प्रचार 
३७ वर्षीया युक्रेनी नागरिक एन्टोनिना डोमासेन्को विद्यार्थी भिसामा नेपाल बस्दै आएकी थिइन् । आवरणमा उनी समाजसेवी देखिन्थिन् । यसका लागि उनले ललितपुरको सैंबुमा टुहुरा तथा कमजोर आर्थिक अवस्थाका विद्यार्थी पढाउन डायनामिक पब्लिक स्कुल नै सञ्चालनमा ल्याइन् ।

तर, स्कुल कतै दर्ता थिएन । शंकास्पद देखिएपछि अध्यागमनले अनुसन्धान गर्‍यो । यस क्रममा खुल्यो– उनले क्रिस्चियन धर्म प्रचारका लागि युरोपका विभिन्न चर्चबाट रकम ल्याउने रहिछिन् ।

स्कुलमा अध्ययन गर्ने सबै विद्यार्थीलाई क्रिस्चियन बनाइने रहेछ । २०१५ देखि नेपाल बस्दै आएकी उनलाई अन्ततः अध्यागमनले देश निकाला गर्‍यो ।

विद्यार्थी भिसाको प्रयोजनका लागि उनी काठमाडौं विश्वविद्यालयमा भर्ना भएकी थिइन् । पर्यटक भिसामा बस्दा एक वर्षमा बढीमा एक सय ५० दिन मात्र बस्न पाइने भएकाले वर्षभरि बस्न उनले विद्यार्थी भिसा लिएकी हुन् ।