मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
विजयराज खनाल काठमाडाैं
२०७८ भदौ २२ मंगलबार १०:३७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्रीको फोनले नेप्सेमा ऐतिहासिक वृद्धि  : कर्जा सीमामा संशोधन नभए पनि सेयर बजारमा ‘युटर्न’

Read Time : > 3 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ भदौ २२ मंगलबार १०:३७:००
  • इतिहासमै पहिलोपटक एक सय अंकभन्दा धेरैले नेप्सेमा वृद्धि भएको अनुमान
  • राष्ट्र बैंकका अनुसार कुल आठ हजार पाँच सय ६४ जनाले सेयर धितोमा कर्जा लिएका छन्
  • सेयर धितोमा एउटा बैंकबाट एकल ग्राहक कर्जा चार करोड र समग्र प्रणालीबाट १२ करोड ऋण लिन सक्ने राष्ट्र बैंकको व्यवस्था

राष्ट्र बैंकले लागू गरेको एकल ग्राहक कर्जा सीमाका कारण घटेको भनिएको सेयर बजारमा कुनै नयाँ व्यवस्था लागू नभए पनि सोमबार ऐतिहासिक वृद्धि भएको छ । मुख्यतः अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग फोनवार्ता गरेको खबर सार्वजनिक भएपछि बजारले आइतबार घटेको भन्दा पनि बढी अंक जोडेको छ । 

नयाँ व्यवस्था भएको छैन, पुरानैलाई उल्लेख गरेका हौँ : देवकुमार ढकाल, प्रवक्ता तथा कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

गभर्नर र अर्थमन्त्रीज्यूबीच कुराकानी भए–नभएको मलाई जानकारी भएन । हामीले अहिले यस अघिल्लो व्यवस्थामा संशोधन वा परिमार्जन केही गरेका होइनौँ । एकीकृत निर्देशिकाले भनेकै कुरालाई हाम्रो वेबसाइटमा राखेका हौँ । जस्तो, सेयर कारोबारबाहेक अन्य कामका लागि कसैले एक अर्ब रुपैयाँ कर्जा लिन्छ र धितोले ७० करोड मात्र खाम्ने अवस्था आएमा बाँकी ३० करोडबराबरको सेयर धितोका रूपमा राख्न सकिन्छ भनेका हौँ । सेयर धितो राखेर सेयर कारोबारकै लागि एकल कर्जाको सीमा भने अहिले पनि यथावत् छ ।   

सोमबार नेप्से यू टर्न हुँदै एक सय ६१ अंकले बढेर दुई हजार नौ सय ८० बिन्दुमा पुगेको छ । इतिहासमै पहिलोपटक एक सय अंकभन्दा धेरैले नेप्सेमा वृद्धि भएको अनुमान गरिएको छ । आइतबार नौ महिनापछि नेप्से एक सय अंकभन्दा बढीले घटेको थियो । अर्थ मन्त्रालयले सञ्चारमाध्यममा पठाएको विवरणमा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गर्नुपर्ने सुधार र पुँजी बजारको समस्या समाधान गर्न गभर्नरसँग छलफल गरेको उल्लेख छ ।

यससँगै राष्ट्र बैंकले सोमबार सेयर धितोमा एकल कर्जालाई स्पष्ट पार्ने प्रयास पनि गरेको छ । उद्यमी–व्यवसायीहरूले उद्योग–व्यवसायका लागि अन्य धितोसँगै सेयरसमेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यसबाहेक अन्य संस्थाको सेयर किन्ने प्रयोजनबाहेक व्यावसायिक प्रयोजनका लागि सेयर धितोमा प्रवाह भएको कर्जामा हालको एकल ग्राहक कर्जा सीमा नलाग्ने बताएको छ । ‘यो हामीले नयाँ व्यवस्था गरेका होइनौँ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘हाम्रो एकीकृत निर्देशिकामै सेयर कारोबारका लागिबाहेक अन्यका लागि लिइएको कर्जामा मार्जिन कर्जामा रहेको व्यवस्था नलाग्ने स्पष्ट नै छ ।’ 

राष्ट्र बैंकको एकीकृत निर्देशिकाले सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जाबाहेक अन्य प्रयोजनका लागि प्रवाह भएको कर्जाका लागि थप सुरक्षणस्वरूप ऋणीले दिएको सेयर धितोको हकमा यस्तो व्यवस्था लागू नहुने उल्लेख छ । थप धितो सुरक्षणस्वरूप लिइने त्यस्तो सेयर, अतिरिक्त धितोका रूपमा मात्र रहनेसमेत उल्लेख छ । 

अर्थमन्त्रीको संवादपछि राष्ट्र बैंकलाई दबाब पुगेको र यो नीतिमा आवश्यक संशोधन हुन सक्ने अपेक्षामा बजारमा वृद्धि भएको लगानीकर्ता बताउँछन् । राष्ट्र बैंकले यस्तो नीतिमा संशोधन गर्नुपर्ने भन्दै सोमबार लगानीकर्ताले राष्ट्र बैंकअगाडिसम्म र्‍यालीसमेत निकालेका थिए । कतिपयले भने राष्ट्र बैंकको एकल सीमा कर्जा नीतिले परिवार नै टुक्रने अवस्था आएको जिकिर गरेका छन् । ‘राष्ट्र बैंकको यो नीतिले भने परिवारहरू विखण्डन हुने अवस्था आउने भएको छ,’ ठूला सेयर लगानीकर्ताका रूपमा बजारमा चिनिएका नीरञ्जनकुमार टिबडेवालाले बताए, ‘एकल ग्राहक कर्जा सीमाले गर्दा सेयर कारोबार गर्ने एकापरिवारका मानिसहरू यो सीमाका कारण अलग्निुपर्ने अवस्था छ ।’ 

एकीकृत निर्देशिकाले व्यक्ति, कम्पनीका सञ्चालक, प्राइभेट लिमिटेड कम्पनीका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा तिनको एकाघरमा बसोवास गर्ने वा छुट्टा–भिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नुपर्ने दाजु, भाइ तथा दिदी, बहिनी सबैलाई आपसी सम्बन्ध भएका ग्राहकमा राखेको छ । आपसी सम्बन्ध भएका ग्राहकमा एकल कर्जा सीमा लागू हुन्छ । 

राष्ट्र बैंकले केही सीमित लगानीकर्तालाई हेरेर यस्तो नीति ल्याएको भन्दै लगानीकर्ताले विरोध गरेका छन् । विशेष गरी सेयर धितो कर्जामा सीमाभन्दा बढी कर्जा लिने ग्राहक सीमित भएकाले सबैलाई प्रभाव पार्ने नीति ल्याउनुभन्दा सम्बन्धित लगानीकर्तालाई मात्रै दायरामा ल्याउन राष्ट्र बैंकले निर्देशन दिन सक्ने अवस्था रहेको लगानीकर्ताले बताएका छन् । 

राष्ट्र बैंकका अनुसार कुल आठ हजार पाँच सय ६४ जनाले सेयर धितोमा कर्जा लिएका छन् भने यसमध्ये एक सय ६० जनाले १२ करोड रुपैयाँभन्दा माथि र ६ सय ३६ जनाले चार करोडभन्दा माथि कर्जा लिएका छन् । सेयर धितो कर्जामा एक अर्बभन्दा धेरै रुपैयाँको कर्जा लिनेको संख्या चारजना रहेका छन् । कुल एक खर्ब ६ करोड रुपैयाँ कर्जा लगानी भएको छ । राष्ट्र बैंकले सेयर धितोमा एउटा बैंकबाट एकल ग्राहक कर्जा सीमामा रहेर चार करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँ ऋण लिन सक्ने व्यवस्था गरेको छ । 

राष्ट्र बैंकको नीतिले परिवार टुक्रिने अवस्था : निरञ्जनकुमार टिबडेवाला, सेयर लगानीकर्ता

सोमबार राष्ट्र बैंकले थप स्पष्ट पारेको भनिएको बुँदा हेर्दा कुनै नयाँ व्यवस्था गरिएको देखिँदैन । किनभने, यसअघि पनि कुनै व्यावसायिक कर्जा लिनुपरे वा अन्य कर्जा लिनुपरे सेयरलाई धितोका रूपमा राख्न सकिने थियो ।

सेयर कारोबारका लागि भने अहिले पनि सीमाभन्दा बढी कर्जा लिन पाइँदैन नै । त्यसैले यही कारणले बजार पुनः बढ्यो भन्न मिल्दैन । अन्य कुराहरू पनि होलान् । राष्ट्र बैंकको यो नीतिले भने परिवारहरू विखण्डन हुने अवस्था आउने भएको छ । एकल ग्राहक कर्जा सीमाले गर्दा सेयर कारोबार गर्ने एकापरिवारका मानिसहरू यो सीमाका कारण अलग्निुपर्ने अवस्था छ । 

भारतमा के व्यवस्था छ भनेर हेर्ने हो कि अन्य सिंगापुरलगायतका मुलुकहरूको उदाहरण हेर्ने हो, जहाँ कर्जामा सीमा लगाइएको छैन । बैंकहरूले ग्राहकको क्षमता, मूल्यांकनका आधारमा कर्जा दिन्छन् ।

हाम्रोमा यस्तो सीमा लगाउनुभन्दा बैंकलाई नै उसको पुँजीका आधारमा सेयर कर्जामा लगाइएको सीमा घटाउन सक्थ्यो । व्यक्तिकेन्द्रित नियमन गर्ने हो कि प्रणालीकेन्द्रित ? राष्ट्र बैंकले बजार सम्बन्धित नीतिहरूले माइक्रो म्यानेजमेन्ट गरिरहेको छ ।

लघुवित्त कम्पनीहरूकै कुरा गर्दा उनीहरूको सञ्चिति बढाउन लगाउने हो कि योभन्दा बढी लाभांश दिन पाइँदैन भन्ने हो । नियमनभन्दा पनि राष्ट्र बैंक नियन्त्रणमा लागेको छ ।