Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७८ भदौ १६ बुधबार १६:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका तीन सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७८ भदौ १६ बुधबार १६:०८:००

कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। उनीहरू एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन्।

मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सांसद देवी ओलीले कर्णालीका अरू सांसद पनि एकीकृत समाजवादीमा आउने बताइन्। 

‘मलगायत तीन सांसदले सनाखत गरेका छौँ,’ उनले भनिन्, ‘सनाखत गर्ने समय बाँकी रहेकाले अरू सांसद थपिन्छन् ।’ 

२२ भदौसम्म सनाखत गर्ने समय रहेको छ। तीन सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै प्रदेश सभामा अब एमालेका १३ जना सांसद छन्। प्रदेशमा एमालेका २० सांसद थिए। माधव नेपाल समूहसँग विगतमा रहेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढाले फ्लोर क्रस गरेपछि एमाले सांसदबाट कारबाही गरिएको थियो।

नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन।

४० सांसद रहेको कर्णाली प्रदेश सभा अब एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६, नेकपा (एकीकृत समाजवादी)का तीन र राप्रपाका एक सांसद रहेका छन्। माओवादीबाट एमाले रोजेका धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको छ।