१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १२ शनिबार १३:४८:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

प्रोत्साहन भत्ता कटौती गरेपछि ट्राफिक प्रहरीमा निराशा 

Read Time : > 3 मिनेट
२०७८ भदौ १२ शनिबार १३:४८:००

दिनको १५ घन्टा ड्युटी। मासिक तलब २० हजार ६ सय रुपैयाँ । काम दिनभरि सडकमा उभिएर हात हल्लाउँदै सिटी फुक्ने । पद प्रहरी जवान । 

महामारीको वेला सडकमा सवारीसाधनको चाप बढेसँगै कामको पेलानमा छन् ट्राफिक प्रहरी। सडकको धुलो र घामपानीमा १५ घन्टासम्म उभिएरै देशको सेवा गर्ने बानी परिसक्यो उनीहरूलाई। नेपाल प्रहरीको तल्लो दर्जामा बसेर धेरै काम गर्ने प्रहरी जवान निकै चलाखीपूर्ण भएर सडकमा खट्छन्। सडकमा जोसिलो बनेर खटिएका यी जवानलाई सरकारले दिने तलबले भने जिन्दगी चलाउन मुस्किल भइरहेको छ।

सुविधा कम दिएर काममा पेल्दै आइरहेको सरकारले उनीहरूको तलब नबढाएको तीन वर्ष भइसक्यो। गत वर्ष त झन् उनीहरूले खाइपाई आइरहेको प्रोत्साहन भत्तासमेत काटियो। प्रोत्साहन भत्ता काट्दा आफूहरू मर्कामा परेको उनीहरूको भनाइ छ। 

बिहीबार सिंहदरबार–रामशाहपथ सडकमा खटिएका प्रहरी जवान सागर विष्टले प्रोत्साहन भत्ता काटिएपछिको पीडा सडकमै उभिएर सुनाए। उनले प्रहरी जवानमा जागिर खाएको १० वर्षभन्दा बढी भइसक्यो। पछिल्लो ६ वर्षयता उनी उपत्यकाको मुख्य सडकमा हात हल्लाउँदै सिटी फुक्छन्। सडकमा जिम्मेवारी धेरै भए पनि उनको तलब जम्मा २० हजार हो। थोरै तलबले गुजारा चलाउन कठिन भइरहेको अनुभव उनले सुनाए। ‘दिनभरिको दुःख सम्झँदा मनमा अनेक कुरा खेल्छन्,’ उनले भने, ‘तर, काम नगरेर के गरुँ सर !,

महामारीको वेलामा यस्तै जागिर गरेर भए पनि परिवार पाल्न त पुगेको छ, तर अलि मीठो खाएर जिन्दगी चलाउँछु भन्ने हो भने जवानको तलबले थेग्दैन।’ उनले अहिले महँगी बढेकाले पनि थोरै तलबले दैनिकी चलाउन कठिन परेको सुनाए। सरकारले दिँदै आएको प्रोत्साहन भत्ता गत वर्षदेखि कटौती गरेपछि उनी निराश बनेका छन्। हालको तलबमा १० हजार प्रोत्साहन भत्ता जोडिएर आउने ३० हजार तलबले उनलाई जिन्दगी चलाउन त्यति कठिन थिएन। गत वर्ष तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ट्राफिक प्रहरीलाई दिँदै आएको प्रोत्साहन भत्ता महामारी अवधिभर कटौती गर्ने निर्णय गरेका थिए। प्रहरी प्रशासनको कार्य सम्पादनमा खटिने तल्लो दर्जाका प्रहरीको भत्ता कटौती गरेपछि उनीहरू मारमा छन्। 

ट्राफिक प्रहरीले कोरोनाकालअघि सडकमा चिट काटेबापत जम्मा हुन आएको राजस्व रकमको ४० प्रतिशत प्रोत्साहन भत्ता पाउँथ्यो। कोरोना संक्रमणको वेला बजेट अभाव हुने भन्दै अर्थ मन्त्रालयले खाइपाई आएको सुविधा कटौती गरेपछि ट्राफिक प्रहरीमा निराशा छाएको हो। ‘सबैभन्दा बढी काम हामीलाई नै छ, तर काम गर्दा पाउने तलबले बाँच्न मुस्किल छ,’ रामशाहपथमै ड्युटीमा खटिएकी प्रहरी जवान रिता ढुंगेलले भनिन्, ‘कि त पहिलेदेखि नै प्रोत्साहन भत्ता नदिएको भए हुन्थ्यो, तर दिँदै आएको भत्ता काट्दा हामीलाई नरमाइलो लागेको छ।’ 

उनीसँगै सिंहदरबारअगाडिको सडकमा खटिएका प्रहरी जवान ललितसिंह विष्टले पनि सरकारले दिँदै आएको प्रोत्साहन भत्ता काटेपछि तलबले मात्रै खर्च धान्न मुस्किल परेको बताए। उनले भने, ‘अहिले महँगी धेरै बढेको छ, तर हाम्रो तलब बढेको छैन, कम्तीमा सरकारले दिने प्रोत्साहन भत्ताले केही राहत मिलेको थियो, त्यही पनि गत वर्षदेखि काटियो।’ उनले आफूहरूले पाउँदै आएको प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखे। 

महामारीको वेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई सरकारले भत्ता दिइरहेको वेला सडकमा उत्तिकै सक्रिय ट्राफिक प्रहरीलाई दिँदै आएकोे सुविधा कटौती भएको छ। पूर्वट्राफिक प्रहरी सीताराम हाछेथूले काममा सक्रिय भएबापत पाउने भत्ता दिन छाडेपछि ट्राफिक प्रहरीहरू दुःखी भएको बताए। उनले यसबारेमा प्रहरी प्रधान कार्यालयले पहल गरेर उनीहरूलाई भत्ताको व्यवस्था गर्नुपर्ने बताए। ‘भत्ता नहुँदा धेरै प्रहरीमा निराशा छ, अहिले काठमाडौंमा खटिएका ट्राफिक प्रहरीले तलबबाहेक सुको आम्दानी गर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले धेरै ट्राफिक प्रहरी काठमाडौंबाहिर जान खोज्छन्।’ भत्ता नहुँदा ट्राफिक प्रहरीमा काम गर्ने ऊर्जा हराएको उनको भनाइ छ। 

ट्राफिक प्रहरीले सडकमा चिट काटेको रकम एकमुस्ट यातायात कार्यालयको खातामा जम्मा गरिदिन्छ। उक्त रकममध्ये ४० प्रतिशत रकम प्रहरी जवान, हवल्दार, असइ र सइले बाँड्छन्। महाशाखाका एपसी सञ्जीव शर्मा दासले पहिले दिएको भत्ता फेरि दिने सम्बन्धमा कतैबाट खबर नआएको जानकारी दिए। उनले भने, ‘प्रहरीले आफ्नो काम गरिरहेको छ, चिट काटेबापत जम्मा हुने राजस्वको केही प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिनेबारेमा कुनै सल्लाह भएको छैन।’

काम गर्ने जोसमा कमी 

कारबाहीमा खटिएबापतको रकम पाउने भएपछि प्रहरी जवानहरू जोसका साथ सडकमा खटिन्थे। तर, चिट काटेपछि जम्मा हुने राजस्व रकमको ४० प्रतिशत रकम नपाउने भएपछि काममा पनि उत्साहित छैनन् ट्राफिक प्रहरी। ‘पाउँदै आएको भत्ता कटौती हुँदा कस्तो भयो होला, त्यो प्रहरीको माथिल्लो निकायले बुझिदिनुपर्ने हो,’ प्रहरी प्रधान कार्यालयअगाडि ड्युटीमा खटिएका एक प्रहरी हवल्दारले भने, ‘प्रधान कार्यालयले पहल गर्ने हो भने हामीले भत्ता पाउँथ्यौँ होला, तर तल्लो दर्जाका प्रहरीको मर्का माथिल्लो तहले बुझ्दैन।’ 

प्रहरीको कार्य सम्पादनमा सबैभन्दा बढी तल्लो तहका कर्मचारी नै खटिने भएकाले उनीहरूको मनोबल उचो राख्नुपर्ने नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले बताए। उनले भने, ‘तल्ला तहका प्रहरी सधैँ पीडामै हुन्छन्, प्रहरीमा खास काम गर्ने उनीहरू नै हो, तर उनीहरूप्रति प्रहरी प्रधान कार्यालय र सरकार कठोर छ, यसले प्रहरीको कार्यकुशलता र सम्पादनमै असर पार्छ।’ 

जवानको पीडा कसले बुझ्ने ?

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कुर्सी सम्हालेको एक वर्षभन्दा बढी भयो। त्यसयता उनी प्रहरी संगठनकै काममा व्यस्त भए पनि प्रहरी जवानले पाउँदै आएको प्रोत्साहन भत्ता कटौती भएकोबारे त्यति वास्ता गरेका छैनन्। आइजिपीले पहल गर्ने हो भने जवानहरूले पाउँदै आएको प्रोत्साहन भत्ता पुनः पाउन सक्छन्। तर, महानिरीक्षक थापा क्षेत्रीले जवानहरूले पाउँदै आएको प्रोत्साहन भत्ताको पहल गर्न सकेका छैनन्।

महामारीको वेला सडकमा ट्राफिकलाई बढी खटाउने महानिरीक्षक थापा क्षेत्रीले तल्लो तहका प्रहरीलाई खुसी पार्ने गरी काम नगरेपछि तल्लो तहका कर्मचारीको मनोबल कमजोर देखिन्छ। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले ट्राफिक प्रहरीले चिट काटेबापत संकलन हुने रकमको केही प्रतिशत ट्राफिक प्रहरीले लिने भए तापनि अहिले उक्त रकम कटौती भएको बताए। उनले भने, ‘ट्राफिकले अहिले पनि सक्रियतापूर्वक काम गरेको छ, प्रोत्साहन भत्ता सकेसम्म नकाटेको भए राम्रो हुने थियो।’ उनले यसबारेमा आफूहरूले पहल गर्ने जानकारी दिए। 

उपत्यकाबाहिर जान हानाथाप 

पछिल्लो समय तल्ला दर्जाका अधिकांश ट्राफिक प्रहरी काठमाडौंमा बस्न चाहँदैनन्। उनीहरू सकेसम्म काठमाडौंबाहिरकै जिल्लाहरूमा काम गर्न खोज्छन्। उपत्यका छाडेपछि ट्राफिक प्रहरीले भत्ता पाउँछन्। कतिपय प्रहरी हवल्दार र असइ इन्चार्जसमेत बन्न पाउँछन्। तर, उपत्यकामै बस्दा अस्तव्यस्त भएर काम गर्नुपर्छ।

दिनभरि सडकमा उभिएर पाउने भनेको उही २० हजार तलब हो। उपत्यकामा काम बढी र कमाइ कम हुने भएपछि बाहिर जान तल्लो तहका ट्राफिक प्रहरीको हानाथाप नै चल्छ। कतिपय भनसुन गरेरै भए पनि उपत्यका छाड्छन्। तर, आफ्नो मान्छे कोही नहुने र हाकिमसँग बोल्न डराउनेहरूचाहिँ ६–७ वर्षसम्म पनि उपत्यकामै थन्किएर बस्न बाध्य छन्। 

दरबन्दीभन्दा बढी ट्राफिक प्रहरी आवश्यकता

देशभर ट्राफिक प्रहरीको संख्या तीन हजार आठ सय ३७ रहेको छ। त्यसमध्ये उपत्यकाभित्र एक हजार पाँच सय चारजना ट्राफिक प्रहरी कार्यरत छन्। ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ६ सय २१ जना मात्रै भए पनि आवश्यकता बढी भएपछि संख्या पनि थप गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।