नेपाली कांग्रेसको संस्थापनइतर पक्षले क्रियाशील सदस्यता विवाद व्यावहारिक रूपमा टुंगिएपछि मात्र महाधिवेशन सम्भव हुने निष्कर्ष निकालेको छ। बुधबार कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापनइतर पक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार बुधबारको बैठकमा नेताहरूले महाधिवेशन निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरे र सीताराम केसीसँग निर्वाचनको तयारीबारे छलफल गरेका थिए।
छलफलमा क्रियाशील सदस्यताको व्यावहारिक समाधान, क्रियाशील सदस्यताको विवरण सार्वजनिक नभएपछि सुरु भएको जिल्ला सभापतिहरूको आन्दोलन र निर्वाचनको तयारीका विषयमा विषयमा छलफल भएको केसीले नयाँ पत्रिकालाई जानकारी दिए। निर्वाचन समितिसँगको छलफलमा दुई चरणमा अधिवेशन हुन सक्नबारे छलफल भएको केसीको भनाइ छ।
‘सुरुमा ३७ जिल्लाको निर्वाचन गर्ने हो कि भन्ने विषयमा निर्वाचन समितिले तयारी गरिरहेको रहेछ। हामीले सबै जिल्लामा एकसाथ निर्वाचन हुनुपर्छ, दुई चरणमा गरेर हुँदैन भन्ने कुरा राख्यौँ,’ केसीले भने। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, डा. शेखर कोइरालालगायतको सहभागिता रहेकाे थियाे।