पोखराको महेन्द्रपुलमा सडक र फुटपाथ भासियो ल अर्मला, न्युरोड, चिप्लेढुंगास्थित पराजुली मार्ग, नदीपुरलगायत भित्री सहरी क्षेत्रका जमिन भासिने र भ्वाङ पर्ने क्रम बढ्दो
निरन्तर वर्षाका कारण पोखराको मुख्य बजार महेन्द्रपुलमा सडक भासिएको छ । महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख) बीचको भागमा सडक भासिएको हो । महेन्द्रपुलस्थित गरिमा विकास बैंकको आडैको सडकपेटी र सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
आशोक पालिखे, पूर्वअध्यक्ष, पोखरा उपत्यका नगर विकास समिति
आइतबार साँझ सडक भासिएको हो । अहिले पनि पानी पर्नेक्रम जारी छ । त्यो भाग तत्काल नपुर्ने हो भने अझै भासिएर नजिकका घरहरूसमेत जोखिममा पर्न सक्छन् । त्यसैले जतिसक्दो छिटो पुर्नुपर्छ ।
भासिएको भागलाई तत्काल पुर्न र थप क्षति हुन नदिन स्थानीयले आग्रह गरेका छन् । पालिखे चोकका स्थानीयसमेत रहेका पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष आशोक पालिखेले तत्काल भासिएको भाग नपुरिए थप क्षति हुने भन्दै पुर्न आग्रह गरिएको बताए । ‘आइतबार साँझ सडक भासिएको हो । अहिले पनि पानी पर्ने क्रम जारी छ । त्यो भाग तत्काल नपुर्ने हो भने अझै भासिएर नजिकका घरहरूसमेत जोखिममा पर्न सक्छन् । त्यसैले जतिसक्दो छिटो पुर्नुपर्छ,’ उनले भने । सोमबार दिउँसो केही माटोढुंगा ल्याएर पुर्ने प्रयास भए पनि निरन्तर वर्षाका कारण सम्भव नभएको उनको भनाइ छ ।
पोखरा महानगरपालिका–९ का वडाध्यक्ष रामराज लामिछानेले जाइकासँगको समन्वयमा भासिएको भाग पुर्ने जानकारी दिए । अहिले भासिएको भागमा नयाँ खानेपानी आयोजनाअन्तर्गत जाइकाले पाइपलाइन पुरेको क्षेत्र भएकाले प्राविधिक रूपमा समेत सल्लाह गर्नुपर्ने भएकाले पुर्न ढिलाइ भएको उनले बताए । ‘त्यहाँ खानेपानीको पाइप पुरिएको हुँदा त्यसको अवस्था पनि हेर्नुपर्छ । सक्दो छिटो आयोजनाले उक्त स्थान पुर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने ।
पोखराका विभिन्न ठाउँमा यसअगाडि पनि सडक र जमिन भासिने गरेको छ । पोखराको अर्मला क्षेत्र, महानगरको कार्यालयअगाडि न्युरोड र मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगानजिकै पराजुली मार्ग, नदीपुरलगायतका क्षेत्रमा अघिल्ला वर्षाहरूमा जमिन भासिने र भ्वाङ पर्ने गरे पनि यसपालिको वर्षामा भने पहिलोपटक महेन्द्रपुलमा जमिन भासिएको हो ।
किन भासिन्छ पोखराको जमिन ?
पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने सहर हो । जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार आइतबार साँझदेखि सोमबार बिहान ९ बजेसम्म पोखरामा २६० मिलिलिटर वर्षा भएको छ । वरिष्ठ भूगर्भविद श्रीकमल द्विवेदीका अनुसार यहाँको जमिन अहिले मेलम्चीमा आएको बाढीजस्तै माछापुच्छ्रे क्षेत्रबाट सेतीमा आएको बाढीका कारण बनेको हो । पोखरा माछापुच्छ्रे क्षेत्रबाट आएको चुनढुंगाको गेग्रान जमेर बनेको उनले बताए ।
श्रीकमल द्विवेदी, भूगर्भविद्
पोखरामा उपयुक्त ढल निकास हुन सकेको छैन । ढुंगा र गिटीलाई चुनले जोडेर बसेको ठाउँमा पानी रसाउँदा चुन खिइँदै जान्छ । अर्मलामा त चुन लेदै थियो र पग्ल्यो अनि भ्वाङ पर्यो । अन्त जमेको पनि खिइँदै गएपछि भ्वाङ पर्छ ।
अहिले पोखरामा तीव्र सहरीकरण भएको छ । त्यसअनुरूपको व्यवस्थित ढल निकास छैन । ढल निकास नहुँदा थोरै पानी छिर्ने ठाउँ भयो भने त्यहीँबाट थप खोलिने चुनयुक्त जमिन पग्लने द्विवेदी बताउँछन् । पोखराको अहिले भ्वाङ परेको ठाउँमा जाइकाको खानेपानी परियोजनाअन्तर्गत पाइप बिछ्याइएको ठाउँ हो । पाइप बिछ्याइएको ठाउँबाटै पानी छिरेकाले भ्वाङ परेको हुन सक्ने भूगर्भविद् द्विवेदीको अनुमान छ । ‘पोखरामा उपयुक्त ढल निकास हुन सकेको छैन । धेरै पानी जथाभावी बग्न दिनुहुँदैन भनेर यसअगाडि नै विभिन्न समयमा भन्दै आएको हुँ । त्यहाँको सेती डिलभिर र त्यसको नजिकको भाग, पाताले छाँगोलगायतका स्थलवरपर जोखिम रहेको विभिन्न अध्ययनले देखाएका छन्,’ उनले भने, ‘अब पनि एउटा सूक्ष्म अध्ययनको खाँचो छ । त्यो अध्ययनअनुरूप पोखराको ढल निकास कस्तो हुनुपर्छ, कुन–कुन क्षेत्र जोखिम भन्ने निक्र्योल गर्नुपर्ने हुन्छ । जोखिम कम गर्ने उपायको खोजी गर्न ढिलाइ हुनुहुन्न ।’
वरिष्ठ भूगर्भविद् द्विवेदीले यसअगाडि पोखराको अर्मला फाँटमा भ्याङ पर्ने समस्या आएपछि अध्ययन नै गरेका थिए । साढे सात वर्षअगाडि आफूले गरेको अध्ययन सम्झँदै उनले पोखराको भूगर्भमा चुन र चुनढुंगाको मात्रा अत्यधिक रहेको बताए । ‘ढुंगा र गिटीलाई चुनले जोडेर बसेको ठाउँमा पानी रसाउँदा चुन खिइँदै जान्छ’, उनले भने, ‘अर्मलामा त अझ चुन लेदै थियो र पग्ल्यो अनि भ्वाङ पर्यो । अन्त जमेको पनि खिइँदै गएपछि भ्वाङ पर्छ ।’ पोखरामा पानीलाई जमिनमुनि जान नदिई सतहबाटै तर्काएर टाढा लगी सेती नदीमा निकास गर्नुपर्ने उनको सुझाब छ ।
थप जोखिम निम्त्याउँदै पोखरा महानगर
खानी तथा भूगर्भ विभाग र जर्मनीस्थित फेडेरल इन्स्टिच्युट फर जिओसाइन्स एन्ड नेचुरल रिसोर्सले २०५५ मा गरेको अध्ययनले पोखराको सेती डिलभिर र पाताले छाँगो, गुप्तेश्वरजस्तो ठूलो गुफावरपरको समेत क्षेत्रलाई जोखिम क्षेत्र किटान गरेको थियो । प्रतिवेदनअनुसार भूगोलविद् कृष्ण केसीले समेत पोखराको डिलभिर र गुप्तेश्वर गुफावरपर ठूला संरचना निर्माण गर्न नहुने र जथाभावी संरचना निर्माण गर्न नहुने बताउँदै आएका छन् । तर, पोखरा महानगरपालिकाले विज्ञका यस्ता सुझाबलाई सुन्ने गरेको छैन । महानगरले यस्तो जोखिम क्षेत्रलाई नै शक्ति समूहको दबाब र प्रभावमा परेर लामो समयका लागि ठेक्का दिने निर्णय गरेकोे छ । विरोधकै बीच महानगरले गत १४ साउनमा सेती क्यानोयन प्रालिसँग ४० वर्षका लागि भाडामा लगाउने सम्झौता गरेको छ ।
पोखरा महानगरपालिका र सेती क्यान्योन प्रालिबीचमा गरिएको प्रारम्भिक सम्झौतामा उल्लेख भएबमोजिम आयोजनास्थलमा सोभिनियर सप, पानीसहितको म्युजिकल फाउन्टेन, क्यान्टिलिभरको पैदलयात्राको अन्तरालमा कृत्रिम झरना, सेती खोँचको प्रवेश र निकासद्वार क्षेत्रमा सेल्फी बिन्दुहरू, खोँचभित्र सिसा, काठ र ढुंगाको क्यान्टिलिभर यात्रा, आयोजनाको फोकल बिन्दुमा सिसा स्काइवाक, प्रत्येक प्रवेश र निकास बिन्दुमा ढुंगाको पैदलमार्ग, रेस्टुरेन्ट र क्याफे बन्नेछन् । त्यसैगरी, बोटानिक पार्क, साहसिक वनपार्क, बन्जीजम्पिङ, जिपफ्लायर, क्यानोनिङ, किल्फ वाकिङ, टनेल वाल्क वे, ट्रयम्पोलिङ, धार्मिक मिनिएर्चर र पानी मनोरञ्जन पार्कलगायतका संरचना बन्ने उल्लेख छ । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष अशोक पालिखे यसरी संरचना बनाउने काम पोखरा र पोखरेलीको हितमा नरहेको बताउँछन् ।
सम्झौतामा सेतीमा बाँध हाल्ने, ताल बनाउनेजस्ता कुरा उल्लेख गरिएका भन्दै उनले यसले पोखरालाई झन् जोखिममा पार्ने बताए । पोखरेली जनताले महानगरको यो निर्णयको विरोध गर्नुपर्ने उनको भनाइ छ । उपत्यका नगर विकास समितिका अर्का पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले सबैको विरोध हुँदाहुँदै पनि यस्तो सम्झौता गर्नु प्राकृतिक सम्पदामाथिको निर्मम प्रहार बताए । छोरेपाटनको पाताले छाँगोमा सिसाको पुललगायतका संरचना निर्माण हुनेछन् । ती संरचनालाई सेती क्यान्योन प्रालिले व्यावसायिक रूपमा सञ्चालनमा ल्याउनेछ ।
पोखरामा ठूलो वर्षा
पोखरा क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो समय फेरि मनसुन सक्रिय भएसँगै पोखरा क्षेत्रमा भीषण वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा कास्कीको लामपाटन क्षेत्रमा २८३.४ मिलिमिटर पानी परेको छ, जुन अधिकभारी वर्षा हो ।
पोखरा विमानस्थल कार्यालय क्षेत्रमा २६०.१ मिलिमिटर र रनवे क्षेत्र नजिकै २८१.४ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीकै लुम्ले क्षेत्रमा १७० र झापाको दमकमा १०३.७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ ।
‘पोखरा धेरै वर्षा हुने क्षेत्र हो, अतिभारी वर्षा हुँदा बाढीपहिरो र सडक भासिने सम्भावना हुन्छ,’ विभागका वरिष्ठ मौसमविद् इन्दिरा कडेलले भनिन् । देशका २२६ वर्षा मापन केन्द्रमध्ये पछिल्लो २४ घन्टामा १५२ केन्द्रमा वर्षा मापन भएको छ । जसमा पाँचवटा केन्द्रमा १००, चारवटामा १५० मिलिमिटरभन्दा बढी पानी परेको छ भने ३/३ वटा केन्द्रमा २०० र २५० मिलिमिटरभन्दा बढी पानी परेको विभागको तथ्यांक छ ।