मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ ५ शनिबार ०६:२४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली-नेपालमाथि तेस्रो धारका नेताहरूको दबाब, कता लाग्ने ? मंगलबार अन्तिम निर्णय

Read Time : > 3 मिनेट
२०७८ भदौ ५ शनिबार ०६:२४:००

अथक प्रयासका बीच पनि पार्टी विभाजन रोक्न असफल भएका एमालेका तेस्रो धारका नेताहरूले पार्टी एकताका लागि चारदिने समयसीमा तोकेर दबाब सिर्जना गरेका छन् । १० बुँदे सहमति निर्माणमा संलग्न नेतासहित नेपालको साथ छाडेका ५७ जना केन्द्रीय सदस्य र सांसदले शुक्रबार भेलामार्फत पार्टी अध्यक्ष केपी ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुवैमाथि समयसीमा तोकेर दबाब दिएका हुन् । 

नेपालको प्रस्तावित पार्टीको हस्ताक्षर सनाखत हुने ९ भदौ अगावै १० बुँदे सहमति कार्यान्वयनका लागि प्रस्ताव गरिएको चरण र कार्यतालिका अक्षरशः लागू गर्ने गरी सुरु गर्न तथा नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता गर्न उनीहरूले ओलीलाई अल्टिमेटम दिएका छन् । यस अवधिमा नयाँ पार्टी दर्ता प्रक्रिया स्थगन गर्न प्रस्तावित पार्टीका अध्यक्ष नेपाललाई उनीहरूले समयसीमा दिएका छन् । 

पार्टी विभाजनको विपक्ष र सहमति कार्यान्वयनको पक्षमा उभिँदै नेपालको साथ छाडेका केन्द्रीय नेता र सांसदहरूको भेला बसुन्धारास्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको थियो । ‘८ भदौसम्म सहमतिको कोसिस गर्छौँ, भएन भने फेरि भेला भएर एउटा ठोस निर्णय गर्छौँ,’ केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने, ‘यसबीचमा ओली कमरेड र माधव कमरेडसँग पनि छलफल हुन्छ ।’

मूलतः ओलीले १० बुँदे सहमति गर्दा गरिएको सहमति कार्यान्वयन गर्ने चरण र कार्यतालिकाको माइन्युटमा राखिएको गोप्य सहमति कार्यान्वयन गर्न उनीहरूको माग छ । यी नेताहरूले कार्यदल सदस्यसहित १० बुँदे सहमतिमा ओलीले हस्ताक्षर गर्नुपर्ने, त्यसपछि २ जेठको स्थायी कमिटी बैठक बस्नुपर्ने, त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर माओवादीबाट आएका नेताको नाम अनुमोदन गर्नुपर्ने र आवश्यकताअनुसार कार्यदल बनाउनुपर्ने ओलीस“ग माग राखेका छन् । 

एकताको पक्षमा रहेका केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालसहितको एकताको पक्षमा रहेकाले उनीसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न र नेपाल पक्षलाई दल दर्ता प्रक्रिया स्थगन गर्न आग्रह गरिएकोसमेत जानकारी दिए । ‘हामी फेरि पनि माधव नेपालसहित समग्र एमालेको एकताको पक्षमा छौँ, त्यसकारण नेपालसहित १४ जनामाथिको कारबाही फिर्ता लिन र निर्वाचन आयोगमा सुरु भएको दल दर्ताको प्रक्रिया स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेका छौँ,’ गैरेले भने ।

बैठकले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने, देश, जनता र नेपालको कम्युनिस्ट आन्दोलन, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको पक्षमा अपरिहार्य भएको निष्कर्ष निकाल्दै कार्यान्वयन गरेर एकताको वातावरण बनाउन अपिल गर्ने तथा देशभरका नेता–कार्यकर्तापंक्तिलाई गाली–गलौज, अपशब्द प्रयोग नगर्न र संयमताका साथ एकताको पक्षमा खडा हुन पनि अपिल गरेको छ । बैठकमा कार्यदलका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डेलगायतलाई केन्द्रीय सदस्य र सांसदहरूले एक–दुई दिनभित्रै अध्यक्ष, वरिष्ठ नेता, महासचिवसहितसँग दशजना कार्यदलका नेता बसेर एउटा टुंगोमा पुग्न ध्यानाकर्षण गराएका थिए । 

नयाँ पार्टी गठनमा नेपालको साथमा रहेका नेताहरू भने अहिलेसम्म ओलीले दशबुँदे सहमति कार्यान्वयनमा कुनै तत्परता नदेखाएकाले एकताको पक्षमा उभिने नाममा कतिपय नेतामा अन्तिम घडीमा अवसरवादी चरित्र देखिएको बुझाइमा छन् । ‘झर्‍यो भने खाउँला भन्ने आशाको सिद्धान्तबाट काम कहिले पूरा हुने हो थाहा छैन,’ नयाँ पार्टी गठनमा सक्रिय नेता जगन्नाथ खतिवडाले भने, ‘माधव नेपाललाई त बुटमुनि कुल्चने ओलीले भीम रावल र सुरेन्द्र पाण्डेलगायतलाई छोड्लान् भन्ने त लाग्दैन ।’

एक सातापछि राष्ट्रिय भेला गर्ने नेपालको तयारी 
नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट नयाँ पार्टीको औपचारिक मान्यता पाएलगत्तै राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ । आयोगले ९ भदौमा निवेदनमा भएको केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर सनाखतका लागि बोलाएकाले त्यो प्रक्रिया सकिएको बढीमा पाँच दिनभित्रै राष्ट्रिय भेल गर्ने नेपालको तयारी छ । राष्ट्रिय भेलामा पार्टीको राजनीतिक प्रतिवेदन, विधान र घोषणापत्र अनुमोदन गरी यसअघि गठित समानान्तर कमिटीलाई नै पार्टी र जनसंगठनको कमिटीका रूपमा मान्यता दिएर क्रियाशील बनाउने प्रस्तावित अध्यक्ष नेपालले तयारी गरेका छन् ।

यसैबीच, पार्टीको फेसबुक पेजमा पहिलो धारणा सार्वजनिक गर्दै प्रस्तावित अध्यक्ष नेपालले एकताको सबै ढोका बन्द भएपछि एमालेलाई पुनर्गठन गरिएको बताएका छन् । ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिस्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौँ,’ नेपालले भनेका छन्, ‘नेपाली जनताले कम्युनिस्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवं समृद्धिका लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’

फेसबुक पेजमा नेपालले पार्टी दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोजना हुने राष्ट्रिय भेलाबाट अरू केन्द्रीय सदस्यहरू थपिने पनि जानकारी गराएका छन् । निर्वाचन आयोगमा नेपालको नयाँ दलमा ९५ सदस्यीय केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । भेलाबाट बहुपदीय संरचनाको संगठनात्मक संरचना बनाउने गरी उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहितका पदाधिकारी चयन गर्ने नेपालको तयारी छ । 

‘हाललाई हामीले साबिक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरू, ०७५ जेठ ३ गते पार्टी एकता गर्ने वेला हाम्रोतर्फबाट थपिनुभएका कमरेडहरू, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरू, संघीय संसद्का सांसद कमरेडहरू एवं वैधानिक प्रावधानअनुसार पुर्‍याउनुपर्ने महिला कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ,’ नेपालले भनेका छन्, ‘हाम्रो दर्ता प्रक्रिया वैधानिक रूपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ ।’

नेपालको पार्टीको कार्यक्रम : जनताको बहुदलीय समाजवाद 
नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय समाजवादलाई पार्टीको कार्यक्रम बनाउने गरी गृहकार्य गरेको छ । तत्कालीन एमालेले जनताको बहुदलीय जनवादलाई पार्टीको सिद्धान्त र कार्यदिशा अँगाल्दै आएकोमा नेपाल नेतृत्वको नयाँ दलले भने पार्टीको कार्यक्रम फेर्ने गरी गृहकार्य गरेको हो । तत्कालीन एमाले–माओवादी एकताका वेला भने नेपालले पार्टीको सिद्धान्त र कार्यक्रम जनताको बहुदलीय जनवाद नै हुनुपर्ने अडान राखेका थिए । तर, तत्कालीन अध्यक्ष ओली र प्रचण्डको सहमतिमा नेकपाको तत्कालीन कार्यक्रम जनताको जनवाद राखिएको थियो ।

‘अहिले नामै समाजवादी राखेपछि सबै कार्यदिशा समाजवाद भइहाल्यो । त्यसैले जनताको बहुदलीय समाजवाद नै हाम्रो पार्टीको कार्यक्रम हुने प्रबल सम्भावना छ, तर सबैको सुझाबसहित राष्ट्रिय भेलाबाट पारित गर्छौँ,’ केन्द्रीय सदस्य खतिवडाले भने, ‘जनताको बहुदलीय जनवादलाई प्रयोग गर्ने क्रममा समाजवादकै कार्यक्रम बनाएर जानुपर्ने धेरैको मत छ, तर नामैमा धेरै लड्नु पनि भएन ।’