बाग्लुङमा गत साउन २८ देखि जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ। कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि निषेधाज्ञाको समयलाई भदौ १० गतेसम्म लम्ब्याइएको हो। यसअघि भदौ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।
शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको म्याद १० गतेसम्म थप भएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।
निषेधाज्ञाको समयमा सरकारी तथा गैरसरकारी कार्यालय, बैठक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरू सार्वजनिक तथा निजी यातायात सबै बन्द रहनेछन्। अत्यावश्यक परेमा बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्नेछन्। कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न पसलहरू आइतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। निशेधाज्ञाको समयमा औषधि एवं स्वास्थ्य सामग्रीका पसलहरू भने २४सै घन्टा खुला रहनेछन्।
कोभिड– १९ को खोप कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने, खोप कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ। जिल्लामा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या चार सय ९८ पुगेको छ ।