१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मोहन विष्ट
२o८१ बैशाख २४ सोमबार १२:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पर्यटकीय गन्तव्य गड्डाचौकी नाकाबाट कार्यालय हटाउँदै पर्यटन बोर्ड

Read Time : > 1 मिनेट
मोहन विष्ट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३२:oo

कञ्चनपुरको गड्डाचौकी नाका भारतको राजधानी नयाँदिल्लीबाट झन्डै तीन सय ७९ किलोमिटरको दूरीमा छ। दक्षिण एसियालगायत तेस्रो मुलुकका पर्यटक भित्रिने महत्वपूर्ण स्थलमार्ग हो गड्डाचौकी। नेपाल–भारत जोड्ने महाकाली नदीमा पुल निर्माण नहुँदा पनि यो नाका दक्षिण एसियालगायत अन्य मुलुकका पर्यटक नेपाल भित्रिने प्रमुख गन्तव्यका रूपमा रहेको थियो।

अहिले महाकाली नदीमा पुल निर्माणसँगै नेपाल–भारत जोड्ने एसियन हाइवे निर्माण भइरहेको छ। नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय नाकाको रूपमा गड्डाचौकी विकसित भइरहँदा नेपाल पर्यटन बोर्डले भने गड्डाचौकीमा राखेको कार्यालय हटाएको छ। १६ वर्षअघि ०६१ साउनतिर बोर्डले गड्डाचौकीबाट नेपाल भित्रिने पर्यटकलाई लक्षित गरेर कार्यालय स्थापना गरेको थियो। बोर्डले २ साउन ०७८ देखि यो कार्यालय बन्द गरेको हो। बोर्डबाट आएका प्रबन्धक सूर्य थपलियाले कार्यालयको बरबुझारथ मागेर तालाचाबी लगेपछि कार्यालय बन्द भएको बोर्डको गड्डाचौकीस्थित कार्यालयका सहायक कर्मचारी थानेश्वर लेखकले बताए।

‘गड्डाचौकीमा बोर्डको कार्यालय स्थापना भएदेखि नै यहाँ कार्यरत छु,’ उनले भने, ‘अहिले एक्कासि १६ वर्षपछि आएर कार्यालयका प्रबन्धक थपलियाले मबाट बरबुझारथ मागेर तालाचाबी लगेर कार्यालय बन्द गराएका छन्।’ यहाँबाट कार्यालय सारेर अन्यन्त्र लग्ने षड्यन्त्र भइरहेको उनी बताउँछन्। ‘म यो कार्यालयमा बस्नु–नबस्नु महत्वपूर्ण कुरा होइन,’ उनले भने, ‘पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकासमा बाधा पुग्ने भयो।’ उनले आफूले पाँच महिनादेखि पारिश्रमिकसमेत नपाएको बताउँदै कार्यालय बन्द गरे पनि आफू नियमित कार्यालयमा आइरहेको बताए ।

बोर्डले गड्डाचौकीबाट आफ्नो कार्यालय हटाउने मात्र नभई बदमासीसमेत गरेको छ। बोर्डले जिल्लाको भीमदत्त नगरपालिकासँग १ असोज ०७७ मा बोर्डको प्रादेशिक स्तरको कार्यालय स्थापना गर्ने सम्झौता गरेको छ। बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी र नगरका मेयर सुरेन्द्र विष्टबीच उक्त सहमति भएको चार महिनापछि कैलालीको धनगढी उपमहानगरसँग पनि धनगढीमा प्रदेशस्तरको कार्यालय राख्ने सम्झौता गरेका छन्। बोर्डका कार्यकारी निर्देशक रेग्मी र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडबीच १३ पुस ०७७ मा धनगढीमा पर्यटन बोर्डको प्रादेशिक कार्यालय राख्ने लिखित सम्झौता भएको थियो। भारतसँग जोडिएका दुई जिल्ला कैलाली र कञ्चनपुरमा प्रादेशिक कार्यालय राख्ने सम्झौता गरेर यसअघि नै स्थापना भएको कार्यालय बन्द गराएपछि दुवैतर्फ प्रादेशिकस्तरका पर्यटन बोडको कार्यालय दिने आश्वासनले बदमासी भएको देखिन्छ।

पर्यटकीय प्रवेश नाका गड्डाचौकी पछिल्लो दिनमा विकसित भइरहेको छ। उक्त नाकाबाट भारतलगायत तेस्रो मुलुकका पर्यटक आवतजावत गरिरहेका छन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार भारतलगायत अमेरिका, जापान, इजरायल, इटली, स्पेन, स्वीडेन, कोरियालगायतका नागरिक यही नाका भएर नेपाल भित्रिने गरेका छन्। अहिले अन्य मुलुकका पर्यटक दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्थलमार्ग भएर गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्दै आएका छन्।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो एक दशकको अवधिमा २२ हजार ५९ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट भित्रिएका छन् भने १६ हजार ६ सय २२ बाहिएका छन्। जनवरी २०१० देखि अगस्ट २०२१ सम्ममा उक्त नाकाबाट बाहिरिनेभन्दा भित्रिने पाँच हजार चार सय ३७ संख्या बढी रहेको पाइन्छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पीताम्बर जोशीले कोरोनाका कारण कार्यालय बन्द गर्नु अनुचित नभएको भन्दै दीर्घकालीन रूपमा भने बन्द गर्नु नहुने बताए। ‘यो नाकाले आर्थिक, सामाजिक एवं पर्यटकीय सम्भावना बोकेको छ,’ उनले भने, ‘पर्यटकीय नाकामा रहेको कार्यालय बन्द गर्नुहुँदैन। कार्यालय राखेर सुदूर क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्छ।’ सुदूरपश्चिमका पर्यटन व्यवसायी तथा आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश संयोजक प्रमानन्द भण्डारीले गड्डाचौकीमा सेवासहितको आधुनिक पर्यटन बोर्डको कार्यालय स्थापना गर्नुपर्ने बताउँछन्।

ad
ad