मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
निर्मला ढकाल
२०७८ भदौ ४ शुक्रबार ०९:४८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वैदेशिक रोजगारीको सामाजिक लागत

Read Time : > 3 मिनेट
निर्मला ढकाल
२०७८ भदौ ४ शुक्रबार ०९:४८:००

वैदेशिक रोजगारीले हामीलाई रेमिट्यान्स त दिएको छ, तर त्यसको सामाजिक लागत कति हो, हामीले लेखाजोखा गर्न सकेका छैनौँ

परिदृश्य एक : ‘श्रीमान्लाई विदेश पठाएर श्रीमती ड्राइभरसँग फरार’, ‘चार महिनादेखि हराएकी श्रीमती होटेलमा रंगेहात’ जस्ता सामग्री पछिल्लो समय युट्युबमा भरमार आइरहेका छन् । केही सनसनीपूर्ण बनाइएका भए पनि तिनले एउटा आमसत्यको उजागर गरिरहेका छन्– पारिवारिक विग्रह बढ्दो छ । श्रीमान्ले विदेश हुँदा अनावश्यक मानसिक तनाव दिने गरेको आरोप श्रीमती लगाउँदै छिन् । यता डिभोर्स गरेको छैन, उता अर्काेसँग विवाह गरिसकेकी छन् । तर, जोसँग अर्काे विवाह गरिन्, उसकी पहिलो श्रीमती माइतमा बिजोग परेकी रहिछन् । यी दुई परिवारको बिचल्ली कुनै फिल्मको कथाभन्दा कम छैन । तर, समाजले आज भोगिरहेको यथार्थ चित्र हो, यो । 

परिदृश्य दुई : ‘लाहुरेकी श्रीमती ट्याक्टरका सहचालकसँग टाप’ । श्रीमान् विदेशमा भएको मौकामा पाँच महिनाको गर्भ फालेर अर्कैसँग भागेको आरोप । श्रीमान् रोजगारीका लागि साउदी रहेको र उनी नेपाल आएपछि श्रीमती भागेकी रहिछन् । श्रीमतीले चाहिँ आफूलाई हेला गरेकाले उनलाई छाडेको बताएकी छन् । २२ वर्ष विदेशमा बसेर फर्किएको श्रीमान्ले श्रीमतीको नाजायज सम्बन्ध स्वीकार गर्न नसकी खुकुरी र ढुंगा प्रहार गरी मारेको डरलाग्दो फिल्मी तर वास्तविक घटना पनि सञ्जालमा भेटिन्छ । 

परिदृश्य तीन : फोटो खिचेर फेसबुकमा ट्याग गरेर राख्ने होइन है, बूढाले कहाँ, किन भन्दै अनेक शंका र केरकार गर्छन्, विश्वविद्यालय तहमै अध्ययन गर्दा पनि केही साथीहरूको चिन्ता सुनिन्थ्यो । जसका श्रीमान् विदेशमा हुन्थे, घुमघाम, भेटघाट पनि कसरी नियन्त्रित छ भन्ने उनीहरूको गुनासोबाट सहजै आकलन गर्न सकिन्थ्यो । 

यी परिघटनाहरू पछिल्लो समय समाजका आमदैनन्दिन हुन् । यी सबै परिदृश्यमा एउटा समानता र घटनाक्रमहरूसँग जोडिने एउटै कडी छ, त्यो हो वैदेशिक रोजगार । वैदेशिक रोजगारीले हामीलाई रेमिट्यान्स त दिएको छ, तर त्यसको सामाजिक लागत कति हो, हामीले लेखाजोखा गर्न सकेका छैनौँ । वैदेशिक रोजगारीको विडम्बनाले हाम्रो केही पुस्ताको जीवन तनावमय, आक्रोशपूर्ण, निराशामय र कैयौँ अर्थमा तहसनहस बनेको यथार्थलाई हामीले देख्न सकिरहेका छैनौँ कि जस्तो प्रतीत हुन्छ । रोजगारी, शिक्षा वा अन्य अवसरको खोजीमा भौँतारिने क्रममा मानव समाजले पारिवारिक सम्बन्धमा विकराल तितो यथार्थ ग्रहण गर्दै गरेको देखिन्छ ।

अठारौँ शताब्दीको मध्यदेखि सुरु भएको औद्योगीकरणको विस्तारसँगै पुँजीवादले मारेको फड्को आर्थिक र राजनीतिक दायरामा मात्र सीमित नरही सामाजिक दायरालाई पनि नराम्रो चपेटामा लिएको छ । यसले संस्था–सम्बन्ध, अन्तरक्रिया र पारिवारिक मूल्य मान्यतामा समेत फेरबदल गरेको देखिन्छ । विस्तारित पुँजीवादी अर्थतन्त्रले परिवार र सामाजिक अन्तरक्रियामाथि थोपरेको नाफा–घाटामाथि बहस चलाउन जरुरी देखिएको छ । हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनको लगभग २६ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्सले देशको अर्थतन्त्रमा त राम्रै गरेको होला । भौतिक जीवनस्तरमा सुधार, गरिबीको न्यूनीकरण (भलै क्षणिक नै होस्), मानव स्रोतको विकास र सीपयुक्त जनशक्ति उत्पादनमा वैदेशिक रोजगारले शीतलता प्रदान गरेको छ ।

तर, मानव विकास सूचकांकमा आर्थिक विकासलाई मात्र आधार मानेर पुग्दैन । सामाजिक, मानसिक एवं पारिवारिक सुख सुविधा पनि आधारभूत आवश्यकताभित्र राखिनुपर्छ । वैदेशिक रोजगारभित्र फैलिँदो सामाजिक अस्थिरता एउटा व्यक्ति र घरपरिवारको निजी समस्याको रूपमा सीमित नराखी सामाजिक तथा राजनीतिक समस्याको रूपमा सम्बोधन गर्न सक्नुपर्छ । मौलाउँदो पारिवारिक कलह, बढ्दो अपराध र परिवर्तित सम्बन्धहरूले निम्त्याएको विनाशमा कहिलेसम्म आँखा चिम्लिने ?

व्यक्तिको सुख र सन्तुष्टि परिवारसँगै जोडिन्छ । सुख–दु:ख परिवारभित्रै बाँडिने विषय हो । वैदेशिक रोजगारीको प्राथमिक लक्ष्य पनि पारिवारिक दयित्वकै निर्वहन हो । तर, यो नै पारिवारिक विखण्डनको डरलाग्दो कारक बनिरहेको छ । समाजमा बढ्दो आपराधिक गतिविधिबाट आफ्नो परिवार कसरी जोगाउने भन्ने चिन्ताको बोझ बोकेर एउटा व्यक्ति घर छोड्न बाध्य छ । सानो र एकल परिवारसमेत टुक्रिएको देखिन्छ । शारीरिक आवश्यकताको तड्पाइ, मानसिक साथको कमी, भौतिक दूरीसँगै बढेको शंका–उपशंकाले सम्बन्धमा विचलन सुरु हुन्छ । जोडी बाँधिएर हिँड्ने उमेरमा सयौँ माइलको दूरीले एउटा परिवारभित्र मनमुटाव र धोकाको बीज बिस्तारै छर्न थाल्छ । एक्लोपन त दुवैतिर छँदै नै छ, त्यहीमाथि बढ्दो पारिवारिक अपराधका घटनाक्रमले शंका–उपशंका र कलह बढाउने काम गर्छ । मानसिक विचलनले भित्रभित्रै जलेको पारिवारिक सम्बन्ध अन्त्यमा गएर धोका र अपराधमा टुंगिन्छ ।

पहिलो विवाह नटुंगिँदै दोस्रो विवाह, आत्महत्या, हत्या, बालबच्चाको बिचल्ली पारेर हिँडेको जस्ता घटना प्रतिदिन बढ्दो छ । यस्ता घटना अक्सर वैदेशिक रोजगारसँग प्रत्यक्ष जोडिएका छन् । रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई ताली बजाउन जति विज्ञ अघि सर्छन्, यसले निम्त्याइरहेको पारिवारिक तथा सामाजिक सम्बन्धको कुरूप पक्षमा बहस गर्न उनीहरू त्यति नै पछाडि छन् । अझ भनौँ, सामाजिक समस्या हाम्रो लागि समस्याको सूचीमै पर्दैन । तर, सत्य के हो भने व्यक्ति परिवारकै लागि विदेश गएको हो, न कि देशको अर्थतन्त्रका लागि । उसले पठाएको रेमिट्यान्सले देश बचे पनि परिवार बाँचिरहेको छैन । 

परिवार भाँडिन्छ भन्ने डर भए किन विदेश जानु, घरमै बसेर यहीँ केही गरे हुन्छ नि ! भन्नेखाले ओठे जवाफ दिने विज्ञहरू पनि छन् । तर, बेरोजगारी, उत्पादनका साधनको कमी, लगानीको अभाव, अस्थिर राजनीति, अशिक्षाजस्ता समस्याले उसलाई ठाउँ छाड्न बाध्य बनाउँछ । 

पारिवारिक विखण्डनमा दोष कसको ? समाधान के ? यो प्रश्न सायद अनुत्तरित नै रहन्छ । सामान्यतः पुरुषलाई ब्रेडओनरको रूपमा हुर्काएको परिवारभित्र घर र बच्चाको जिम्मेवारी महिलामै आइपर्छ, आर्थिक जिम्मेवारी पुरुषमा । यो मध्य र निम्नमध्यम वर्गीय पारिवारिक संरचनाभित्रको सामान्य नियम नै हो भन्दा हुन्छ । श्रीमान् रोजगारीका लागि विदेश छन् भने स्वतः घरको जिम्मा महिलाकै हुन्छ । पूर्वाग्रही दोष महिलामाथि आइपरे पनि कतिपय मुद्दामा समय र परिस्थिति अगाडि आउँछ । शारीरिक आवश्यकता महिला र पुरुषलाई बराबर नै होला, तर पुरुषका लागि विभिन्न वैकल्पिक बाटो खुलाएको समाजले महिलालाई सतित्व र पवित्रताको ढोंग पहिर्‍याइदिएको छ ।

शारीरिक भोक एकातिर, श्रीमान्को अनावश्यक केरकार र शंकाका साथै बालबच्चाको जिम्मेवारीले पनि महिलालाई अझ विचलन र एक्लो तुल्याएको देखिन्छ । कुनै पनि समस्या वा मुद्दा जब समाजको ठूलो हिस्सालाई प्रभावित पार्न थाल्छ, त्यो पारिवार वा व्यक्तिगत होइन, समाज र राष्ट्रकै समस्याका रूपमा देखा पर्न थाल्छ । त्यो सामाजिक हुँदै राजनीतिक मुद्दा बन्न जान्छ । बिग्रँदो पारिवारिक संरचनाले हाम्रो आर्थिक पक्षभित्र देखिएको एउटा ठूलो सामाजिक मुद्दाको उजागर गर्छ ।