अफगानिस्तानको सत्ता कब्जा गरेको हतियारधारी विद्रोही समूह तालिबानले दुई दिनमै आफ्नो वाचा तोडेको छ । सत्ता कब्जा गरेलगत्तै अफगानिस्तानमा महिला स्वतन्त्र रूपमा जीवन बिताउन सक्ने र कुनै हस्तक्षेप नहुने बताएको तालिबानले मंगलबार एक जिनी टेलिभजन कार्यक्रम चलाइरहेकी महिला प्रस्तोतालाई जबर्जस्ती घर पठाएको छ । ती महिलाको स्थानमा पुरुषलाई कार्यक्रम चलाउन तालिबानले निर्देशन दिएको छ । तालिबान लडाकुहरूले यसै साता अफगानिस्तानमाथि कब्जा जमाएको हो ।
सियार सिरात नाम गरेकी ती महिला प्रस्तोताले तालिबानकै निर्देशनअनुसार टेलिभिजन छाडेकी छिन् । उनी अहिले घरमा छिन् । टेलिभिजनबाट विस्थापित हुनुअघि सियार पश्चिमी शैलीमा खेलकुद, सपिङ तथा विभिन्न ट्यालेन्ट हन्ट कार्यक्रम चलाउँदै आइरहेकी थिइन् । महिलामाथि तालिबानले केही नगर्ने घोषणा गर्दा सुरुमा निकै खुसी लागेको तर दुई दिनपछि नै आफू जागिर छाड्न बाध्य हुँदा अचम्म लागेको सियारले बताइन् । ‘हामीले काम गर्ने टेलिभिजनमा थोरै महिला कर्मचारी छन् । ‘सधैँझँै मंगलबार पनि दैनिक काममा व्यस्त थियौँ, एक्कासि तालिबान लडाकुहरू आएर कार्यालय छाड्न भने,’ न्युज रुमभित्रको वातावरणबारे सियारले भनिन्, ‘कार्यालय त्यति ठूलो छैन, सामान्य सामग्रीकै साथ टेलिभिजन चलिरहेको थियो, यो एक सातामा हामीले अफगानिस्तानका विभिन्न सहरमा रिपोर्टिङ गरेका थियौँ ।’
यसैगरी सरकारी टेलिभिजनकी एक महिला एंकर खदिजा अमिनाले पनि जागिर गुमाएकी छिन् । तालिबान अधिकारीहरूले नै उनलाई घरमै बस्न भनेका थिए । ‘अब अफगानिस्तानमा महिलाले कुनै काम पाउने छैनन्,’ दुःखी हुँदै अमिनाले भनिन्, ‘यो २० वर्षमा हामीले जेजति हासिल गरेका थियौँ त्यो सबै मेटिनेछ, यहाँ केवल तालिबान...तालिबान मात्रै हुनेछ, केही परिवर्तन हुनेछैन ।’
यो घटनासँगै अहिले अफगानिस्तानमा एउटा प्रश्न उठेको छ । के अफगानिस्तानमा महिला सुरक्षित छन् ? तालिबानले भने महिलाको हक र अधिकार नखोसिने बताइरहेका छन् । यद्यपि, काबुल तथा अन्य विभिन्न क्षेत्रमा रहेका महिला तथा बालबालिका डरका साथ दिन गनिरहेका छन् । तालिबानविरुद्ध लड्न र विरोध गर्न नसकिने भएका कारण काबुलस्थिति अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ महिलाले आश्रय लिइरहेका छन् । उनीहरू अन्य कुनै देशमा शरणार्थी जीवन बिताउन चाहन्छन् ।
‘अफगानिस्तानमा महिलाको भविष्य डरलाग्दो’
नोबेल पुरस्कार विजेता सामाजिक अभियन्ता मलालाले अफगानिस्तानमा महिलाको भविष्य डरलाग्दो भएको प्रतिक्रिया दिएकी थिइन् । मलाला १५ वर्षको हुँदा तालिबानले उनीमाथि गोली प्रहार गरेका थिए । उनले जीवन रक्षार्थ पाकिस्तानको शरण लिइन् । पाकिस्तानमै मालालाले अध्ययन पूरा गरिन् । ‘अफगानिस्तानमा तालिबानको अत्याचारविरुद्ध लड्ने प्रयास हुँदा म निशानामा परेकी थिएँ तर मैले आफ्नो मिसनलाई निरन्तरता दिइरहेकी छु,’ मलाला भन्छिन्, ‘अहिलेको परस्थितिमा सिंगो अफगानिस्तानमै महिलाको अवस्था डरलाग्दो छ ।’ धेरैजसो काबुलमा रहेका महिलाले भविष्य कस्तो हुने होला भनेर चिन्ता व्यक्त गरिरहेको मलालाले बताइन् ।
हाम्रो निर्णयमा तलमाथि हुँदैन : तालिबान
यसैबीच तालिबानका प्रवक्ता सुशैल साहिनले आफ्नो समूहले महिलाको अधिकारमाथि हस्तक्षेप नहुने पुनः दोहो¥याएका छन् । इस्लामिक मान्यताअनुसार नै महिलाको हक र अधिकार सुरक्षित हुने उनको भनाइ छ । ‘हामी हाम्रो निर्णयमा तलमाथि हुनेछैनौँ, इस्लामिक मान्यताअनुसारै महिलाको अधिकार सुनिश्चित गर्नेछौँ,’ उनले भने ।
साहिनले भनेको जस्तो अवस्था अफगानिस्तानमा भने छैन । काबुलमा शिक्षा विज्ञका रूपमा १० वर्षदेखि काम गरिरहेकी पाभान्द सेयेदले कम्पनी छाडिसकेकी छिन् । उनी अफगानिस्तानमा स्विडेनबाट महिला विज्ञकी रूपमा काम गर्दै आइरहेकी थिइन् । सेयेदले काबुलमा असुरक्षित देखेकै कारण काम छाडेको बताएकी छिन् । उनकै सक्रियतामा एक दशकभित्र स्विडेन तथा बेलायतबाट महिलासम्बन्धी विभिन्न कार्यक्रमहरू भित्रिएका थिए ।
‘यो वेलामा मेरो विज्ञता तालिबानलाई चाहिएको छैन, उनीहरूले शिक्षा क्षेत्रमा खासै राम्रो गर्ने छैनन्,’ तालिबानको महिलाप्रतिको व्यवहार परिवर्तन हुन नसक्ने जनाउँदै सेयेदले भनिन्, ‘हामीले पहिला स्वतन्त्र रूपमा काम गर्यौँ, अब सिंगो देश नै तालिबानको हातमा छ, यो अवस्थामा उनीहरूले कस्तो किसिमको व्यवहार गर्छन्, प्रस्ट छ ।’ अफगानिस्तानको शिक्षा विदेशी लगानीमै निर्भर रहेको उनले बताएकी छिन् ।
‘यहाँ ठूलो मात्रामा शिक्षा क्षेत्रमा विदेशी लगानी छ, अब त्यस्ता ठूला प्रोजेक्ट फेरि आउने छैन, यसको अर्थ हो, तालिबानमा शिक्षा पुनः अँध्यारोतर्फ धकेलिने सम्भावना छ,’ अफगानिस्तानको शिक्षाप्रति चिन्तित हुँदै उनले भनिन्, ‘नयाँ सरकारले शिक्षामा कस्तो रणनीति अपनाउने हो, त्यो अहिले नै भन्न सकिने अवस्था छैन ।’