प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकको वास्तविक तथ्यांक र अवस्था पत्ता लगाई सुरक्षित रूपमा खान–बस्ने व्यवस्था मिलाउँदै छिटोभन्दा छिटो उद्धार गरी नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको हो।
समितिले दिएको निर्देशनबारे सभापति कृष्णभक्त पोखरेलले भने, ‘श्रम स्वीकृति लिई वा अन्य प्रक्रियाबाट त्यहाँ पुगेका नेपाली नागरिक जोखिममा पर्न सक्ने जानकारी विभिन्न सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको यकिन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई, सुरक्षित रूपमा खाने, बस्ने प्रबन्ध मिलाई जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको जीवनरक्षा र मानव अधिकारको संरक्षण गर्न र छिटोभन्दा छिटो उद्धार गरी सुरक्षित रूपमा नेपाल ल्याउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्ने ।’