निर्वाचन आयोगमा दुई दल दर्ताका लागि निवेदन दर्ता भएका छन्। आयोगका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)को दल दर्ताका लागि निवेदन दर्ता भएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपालको चार सय ३३ र महन्थको चार सय ३४ नम्बरमा आयोगमा निवेदन दर्ता भएको छ। ‘दुवै दल दर्ताको निवेदन दर्ता भएको छ। आयोगले पेस भएका कागजातमाथि आवश्यक अध्ययन गरेर निर्णय लिन्छ,’ उनले भने।
प्रवक्ता श्रेष्ठका अनुसार प्रस्तावित दल दर्ताको प्रक्रिया पूरा हुन ४५ दिनको समय आवश्यक पर्छ। ‘उहाँहरूले प्रस्ताव राख्नुभएको नाम, चिह्नलगायतका विषय मिल्ने–नमिल्ने हेरेर आयोगले निर्णय लिन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार दर्ताको प्रक्रिया पूरा हुन ४५ दिनको समय आवश्यक पर्छ।’