राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले स्थानीय तहको निर्वाचन, पार्टी महाधिवेशनसहित समसामयिक विषयमा सात निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षता र अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसमेतको उपस्थितिमा भएको बैठकले गरेको निर्णय केन्द्रीय सचिवालयका प्रमुखद्वय भास्कर भद्रा र धु्रवबहादुर प्रधानले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
भद्रा र प्रधानका अनुसार बैठकले निम्न निर्णय गरेको छ :
१) आगामी स्थानीय तहको निर्वाचनमा राप्रपालाई बढीभन्दा बढी स्थानमा सफलता दिलाउने उद्देश्यका साथ तयार गरिएको ‘स्थानीय तहको निर्वाचन विशेष कार्ययोजना’ सक्रिय रूपमा कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ ।
२) आगामी कात्तिक २७ देखि काठमाडौंमा हुने राप्रपाको महाधिवेशन समयमै सम्पन्न गर्न बैठकले पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । यसक्रममा भदौ मसान्तभित्र वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गरिनेछ । साथै, असोज १५ भित्र प्रदेश अधिवेशन र असोज २० भित्र सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि निर्वाचन गर्ने कार्य सम्पन्न गरिनेछ ।
३) कोभिड महामारीको तेस्रो सम्भावित खतरालाई मध्यनजर राख्दै तथा आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने वैधानिक बाध्यतालाई दृष्टिगत गर्दै युद्धस्तरमा कोभिडविरुद्धको खोप लगाउने काम गरियोस् भन्ने सरकारसँग यो बैठक माग गर्दछ ।
४) भ्रष्टाचार अहिले देशमा महारोगजस्तै भएको छ । विगतमा भएका सुनकाण्ड, वाइड बडी जहाज खरिद काण्ड, बालुवाटार स्थित ललितानिवास जग्गा काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, यतिसँग सम्बन्धित भ्रष्टाचार, एनसेल कर छली प्रकरण, माओवादी लडाकु भत्तामा भएको लुट, स्थानीय तहमा भएका भ्रष्टाचारलगायतका अनियमितता र भ्रष्टाचारको छानबिन गर्न र दोषीलाई कारबाही गर्न राप्रपा सरकारसँग माग गर्दछ । साथै, ०४७ यता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी नाजायज ढंगले आर्जन गरिएको सम्पत्ति जफत गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नसमेत राप्रपा सरकारसँग आग्रह गर्दछ ।
५) तालिवानी विद्रोहीहरूले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँको शान्ति सुरक्षा खलबलिएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।
६) तत्कालीन नेपाल सरकार र ब्रिटिस सरकारका बीचमा भएको सम्झौताअनुरूप बेलायती सेनामा रहेर नेपाली नागरिकहरूले काम गर्न थालेको दुई सय वर्ष नाघिसकेको छ । तर, आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीमाथि कायम रहेको भेदभाव र असमानताको पूणरूपले अन्त्य हुन सकेको छैन । ब्रिटिस गोर्खाका पूर्वसैनिकहरूले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।
विगतमा पनि ब्रिटिस सेनाका भूतपूर्व सैनिकहरूले उठाउँदै आएका जायज मागहरूप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ । यसै पृष्ठभूमिमा ब्रिटिस गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग पूरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ । साथै, ती मागहरू पूरा गर्न गराउन सशक्त कूटनीतिक प्रयासको निम्ति राप्रपा नेपाल सरकारको ध्यान आकर्षित गर्दछ ।
७) राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलराम थापाको असामयिक निधन भएकोमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यो बैठक शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।