१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ श्रावण ३२ सोमबार ०७:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चालू संसद्को कार्य अवधिभित्र संसद् भवन सम्पन्न नहुने, कोभिडले सात महिना धकेलियो

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ श्रावण ३२ सोमबार ०७:३५:००

कोभिङ–१९ का कारण संघीय संसद् भवन निर्माणमा ७ महिना ढिलाइ हुने भएको छ । १५ असोज ०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भवन अब १४ वैशाख ०८० मा मात्र सम्पन्न हुने सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले जानकारी दिए । सिंहदरबारपरिसरमा निर्माणाधीन संघीय संसद् भवनमा चालू संसद्को अन्तिम अधिवेशन बस्ने गरी सम्पन्न गर्ने तयारी थियो । तर, कोभिडका कारण त्यो सम्भव नदेखिएको सहरी विकास मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

कुल १ सय ५१ रोपनीमा निर्माण भइरहेको आयोजनामा भवन रहने भुइँको क्षेत्रफल मात्र ५० रोपनीको छ । हालसम्म परिसरमा निर्माण हुने १२ वटा ब्लकमध्ये ११ वटाको स्ट्रक्चर निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । अहिले करिब ४ सयजनाले काम गरिरहेका छन् ।  विशेष भवन निर्माण आयोजनाअन्तर्गत अहिले संघीय संसद् भवन निर्माण भइरहहेको छ । यो भवन निर्माण भएपछि राष्ट्रियसभामा ९० जना र सभाको बाल्कोनीमा २ सयजना अट्न सक्नेछन् । त्यस्तै, प्रतिनिधिसभामा ४ सयजना र बाल्कोनीमा ३ सयजना अट्नेछन् । सभामा बस्ने सिटको व्यवस्थापन ‘यू’ आकारमा गरिनेछ ।
  
 संसद् भवनमा के–के कार्यालय निर्माण हुनेछन् ? 

संसद् भवनपरिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभा बेसमेन्टसहित दुई तला रहनेछन् । संयुक्त लबी २ वटा रहेका छन् । त्यस लबीमा ३ सय ५० मानिस अट्नेछन् । राजनीतिक दलका संसदीय कार्यालयहरू भएको भवन र संसदीय समितिका कार्यालयहरू बेसमेन्टबाहेक ५–५ तलाका हुनेछन् । साना र ठूला गरी १० राजनीतिक दलका लागि कार्यालय र बैठक हल हुनेछन् । संसदीय समितिका कार्यालयहरू ६० जना अट्ने १७ वटा र १ सय अट्ने एउटा हल हुनेछ । 

अति विशिष्ट कक्ष ४ तलाको हुनेछ । त्यसमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख सचेतकलगायतको कार्यकक्ष हुनेछ । प्रत्येक कक्षमा २५ जना अट्ने क्षमताको बैठककक्ष रहनेछ । संसद् सचिवालयका लागि २ वटा भवन ३ तलाका हुनेछन् । यस भवनमा प्रशासन, संसद् सुविधा व्यवस्थापन, संसदीय अध्ययन तथा अनुसन्धानलगायतका कक्ष हुनेछन् । 

त्यस्तै, पुस्तकालयका लागि २ वटा बेसमेन्ट प्रयोग गरिनेछ । त्यस पुस्तकालयमा जनरल तथा इ–लाइब्रेरी, म्युजियम, आयोग तथा संसद्का प्रतिवेदन र राजपत्रहरू भण्डारण गरिनेछ । क्यान्टिनका लागि ३ तलाको भवन हुनेछ । भुइँतलामा १ सयजना र पहिलो तलामा ३ सयजना अट्न सक्नेछन् । पार्किङ र सुरक्षाका लागि बेसमेन्ट र अन्य दुई तलाको प्रयोग गरिनेछ । एकैपटक ३ सय ५० वटा सवारीसाधन पार्किङ गर्न सकिनेछ भने ३ सय ४० जना सुरक्षा कर्मचारी रहन सक्नेछन् । 

 कामदारलाई खोप उपलब्ध नहुँदा आयोजनाको काममा समस्या 
संघीय संसद् भवनपरिसर निर्माणमा सहभागी करिब ४ सय कामदारले अहिलेसम्म कोभिड–१९ खोप प्राप्त गरेका छैनन् । यसले काममा असर गरिरहेको सहरी विकास मन्त्रालय विशेष भवन निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर हिमाल केसीले जानकारी दिए । ‘यसले गर्दा जनशक्तिको कमी भइरहेको छ,’ उनले भने । त्यसबाहेक करिब साढे ५ रोपनी प्राप्ति भइसकेको जग्गामा भएका संरचना हटाउनुपर्ने, संसद् भवनपरिसरबाट निष्कासन हुने पानीको उचित व्यवस्थापनका लागि निर्माण स्थलबाहिर ढल सुधार तथा व्यवस्थापन गर्नुपर्ने र बजेटको सुनिश्चितता हुनुपर्नेलगायत छन् । 

विकास समितिले गर्‍यो स्थलगत अवलोकन  
संसद्को विकास तथा प्रविधि समितिले संघीय संसद् भवन निर्माणपरिसरको स्थलगत अवलोकन गरेको छ । अवलोकनका क्रममा भइरहेको काम सन्तोषजनक भए पनि ढलको व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने देखिएको समितिकी सभापति कल्याणी खड्काले बताइन् । ‘त्यसका लागि केयुकेएललगायत सम्बन्धित मन्त्रालयलाई लिखित निर्देशन दिइनेछ,’ उनले भनिन् । त्यस्तै, कामदारलाई खोप उपलब्ध गराउन र आयोजनालाई आवश्यक बजेटको सुनिश्चितता गर्नका लागि निर्देशन दिने उनको भनाइ छ । तोकिएको समयमा सम्पन्न गर्न पनि सहरी विकास मन्त्रालयका अधिकारीलाई उनले निर्देशन दिइन् ।