मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
२०७८ श्रावण ३१ आइतबार १८:२५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्ची क्षेत्र अझै जोखिममा, विज्ञ भन्छन्– जुनसुकै समयमा फेरि बाढीपहिरो आउन सक्छ

Read Time : > 2 मिनेट
२०७८ श्रावण ३१ आइतबार १८:२५:००


काठमाडौं
मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरूले उक्त क्षेत्रमा फेरि बाढीपहिरो जान सक्ने औँल्याएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रिज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै विज्ञहरूले यस्तो बताएका हुन् ।
मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत् स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत २२ साउनबाट अध्ययन सुरु गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययनपछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जियोलोजिष्ट शिव बाँस्कोटाले बताए । 

नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको ‘हाकाहाकी बहस’मा उनले भेमाथाङभन्दा माथिबाट आएको गेग्रानहरू भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै समयमा बग्ने अवस्थामा रहेको बताए । ‘भेमाथाङभन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थामा बाढीले पुरिएर चौर नै भरिएको थियो जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ बाँस्कोटाले भने, ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर, भेमाथाङमा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसपासको क्षेत्रमा पहिरोहरू धेरै गएको देखिन्छ ।’ 

उनले त्यसभन्दा माथि अझै पहिरोहरू बगिरहेकाले जोखिम उत्तिकै रहेको बताए । उनले मेलम्ची नदीमाथि पनि पहिरोको सम्भावनाहरू बढिरहेकोले जोखिम बढी रहेको बताए । उनले भने, ‘मनसुन अवधिभर जुनसुकै समयमा फेरि बाढी आउन सक्छ ।’

भेमाथाङसँगै त्यसभन्दा तलको मेलम्ची खानेपानी आयोजनाको इन्टेक रहेको अम्बाथानमा १५ मिटर पुरिएको बाँस्कोटाले बताए । उनका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रान मात्रै १५ लाख ट्रकभन्दा बढी रहेको छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने उनले बताए । त्यसबाहेक पेम्दाङमा पहिरोहरू जाने क्रममा रोकिने अवस्थामा नरहेकाले जोखिम बढी नै रहेको उनले बताए ।

भेमाथाङमा जम्मा भएको गेग्रान र त्यसभन्दा माथिको पहिरोहरू अस्थिर रहकाले तल्लो तटीय क्षेत्रमा अझै बाढीपहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको हिमतालहरूको अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का इन्जिनियर अरुणभक्त श्रेष्ठले पनि जोखिम बढी नै रहेको बताए । ‘ताउते र यास सामुद्रिक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ पारेको थियो । त्यो सबै पग्लिएपछि बाढीपहिरो गएको देखिन्छ,’ उनले भने, ‘आठ हजार आठ ७० क्युबिक मिटरको ताल रहेकोमा अहिले त्यो ताल देखिँदैन । ७० हजार वर्गमिटर क्षेत्रमा परेको हिउँ उष्णीकरणका कारण पग्लिएको पाइएको छ । यसलाई जलवायु परिवर्तनको असरको रूपमा पनि लिन सकिन्छ ।’

यसैगरी मेलम्ची गाउँमा भूकम्पका कारण ठूलो पहिरो बनाएको देखिन्छ । त्यो पहिरो बगेर मेलम्ची नदी थुनिएको र त्यही पहिरोले ड्याम बनाउँदा ठूलो मात्रामा नदीमा बाढी गएको देखिन्छ । चार सय मिटरको पहिरो बग्दा नदीमा ठूलो प्रवाह भई मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिन्छ । जोखिम उत्तिकै भएकाले त्यस आसपासका मानिस बढी जोखिममा रहेका छन् ।

काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनुपर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेका सानाठूला सबै नदीहरूमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको बताए ।

यसैगरी, काठमाडौं विश्वविद्यालयकी एसोसियट प्रोफेसर डा. रेश्मा श्रेष्ठले जोखिम न्यूनीकरणका उपायहरू अपनाउनुपर्ने बताइन् । उनले जोखिम न्यूनीकरणका लागि सबै निकायले विशेष ध्यान दिनुपर्ने बताइन् । यस्तै, सिनियर भूगर्भविद् विशालनाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हरेक चार–पाँच वर्गकिलोमिटरमा पूर्वसूचना प्रणाली जडान गरेमा क्षति न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘हाइड्रोपावरहरूले आफ्नो आयोजना क्षेत्रमा अनिवार्य पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने व्यवस्था गर्न सके राम्रो हुनेछ ।’