काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरका सबै वडा भवन नेपाली परम्परागत शैलीमा निर्माण भइरहेको बताएका छन् । वडा नम्बर १६ को कार्यालय भवन शिलान्यास गर्दै शाक्यले यस्तो बताएका हुन् ।
भवनको शिलान्यासपछि सम्बोधन गर्दै शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयर शाक्यले वडा नम्बर–१६ को वडा भवन शिलान्यास घोषणाअनुसारकै कार्य भएको भन्दै यसअघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भइरहेको जानकारी दिए । महानगरले निर्माणाधीन भवनहरू बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुने र भित्र आधुनिक सुविधासहितको हुने बताएको छ ।