राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिले मुख्य प्रशिक्षक र उपाध्यक्षको बयान लिएको छ । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन छानबिन समितिले शुक्रबार प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान लिएको हो ।
करिब दुई घन्टा बयान दिएर फर्किएका प्रशिक्षक अल्मुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए । विवादमा प्रशिक्षक अल्मुताइरीले नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको हो । जसमा प्रशिक्षकले उपाध्यक्षका कारण रहेको बताएका थिए ।
विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानबिन समितिले छानबिन प्रक्रिया अगाडि बढाएको हो । छानबिनका लागि आजै उपाध्यक्ष पंकजविक्रम नेम्वाङले करिब डेढ घन्टा बयान दिएका थिए । समितिले यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वप्रवक्ता किरण राईसँग पनि बयान लिएको थियो ।
उपाध्यक्षलाई अन्याय भएको र विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत नजिर भएको भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए । यसअघि एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानबिन गर्न खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशनअनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेकाे संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको छ।