मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २८ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७८ श्रावण २८ बिहीबार १९:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा कोरोना र भाइरलका बिरामी बढे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २८ बिहीबार १९:२३:oo

जिल्ला अस्पताल लमजुङमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । ज्वरोका बिरामीले अस्पतालमा भिड बढेसँगै कोरोना संक्रमितको संख्या पनि वृद्धि हुन थालेको छ । चिकित्सकका अनुसार भाइरल ज्वरोका लक्षण कोरोनासित मेल खान्छन् । समान लक्षणका बिरामी बढेपछि उनीहरूको व्यवस्थापनमा चुनौती थपिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकले भाइरलका बिरामी जाँच्ने भएकाले दोहोरो व्यवस्थापनमा कठिन भएको छ । भाइरल ज्वरोका बिरामीलाई कोरोनाको संक्रमण छिटो सर्न सक्ने र आफूहरू दुवैको उपचारमा खटिँदा बिरामीलाई समस्या हुन सक्ने चिकित्सकको भनाइ छ । 

भाइरल ज्वरो र रुघाखोकीको बिरामीसँगै अहिले जिल्लामा कोरोना संक्रमणको दर बढ्दो छ । अस्पतालमा भर्ना हुने धेरै नभए पनि पिसिआर जाँचका लागि आउने गरेको र संक्रमण देखिने संख्या बढिरहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जिल्लामा भाइरल ज्वरोका बिरामी बढेकाले भाइरललाई सामान्य नठानी पिसिआर जाँच अनिवार्य गर्न आग्रह गरे । 

भाइरल र कोरोनाको लक्षण मिल्ने भएकाले घरमै बस्ने प्रवृत्तिले गम्भीर भएपछि अस्पताल धाउने र बेड नपाउने स्थिति हुने उनको भनाइ छ । जिल्ला अस्पताल लमजुङमा साउन दोस्रो सातादेखि दैनिक ३० देखि ३५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले अन्य बिरामी र कोरोनाका बिरामी एकै ठाउँ भेट भए संक्रमण समुदायसम्म जाने निश्चित भएकाले अबको व्यवस्थापनमा थप चुनौती थपिएको बताए । 

स्थानीय तह, स्वास्थ्यकर्मी र प्रहरीको सहकार्यमा जिल्लामा कडाइका साथ मास्क र स्वास्थ्य सतर्कताको पालना गराउनेतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रजिअ लुइँटेलको भनाइ छ । लमजुङमा साउन दोस्रो सातादेखि कोरोना संक्रमितको संख्या बढिरहेको छ । 


जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ३७ पुगेको छ भने हालसम्म ३६ जनाको मृत्यु भएको छ । प्रशासनका अनुसार दुई हजार तीन सय एकजना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल दुई सयजना सक्रिय संक्रमित रहेका छन् ।