मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o९:१४:oo
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

संस्था डुबाउने नेतृत्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o९:१४:oo

राजनीतिक नेतृत्वले बाटो बिराउँदा देशले कसरी समस्या झेल्नुपर्छ भन्ने उदाहरण खोज्न नेपाल एउटा गजबको अध्ययन एकाइ हुन सक्छ । राज्यले समाजलाई नेतृत्व गर्ने र अघि लैजाने काम विभिन्न संस्थामार्फत गर्ने हो । शिक्षा क्षेत्रले देशको आवश्यकताअनुसारका जनशक्ति उत्पादन गर्न सक्ने या नसक्ने विषय विश्वविद्यालयको नेतृत्वमा जानेहरूले गर्ने काममा धेरै हदसम्म भर पर्छ । कुनै पनि संस्थानको पूर्ण क्षमतामा उपयोग त्यस्ता संस्था चलाउन जाने या पठाइने व्यक्तिमा निर्भर हुन्छ ।

नेपालमा भने सरकारको नेतृत्वमा जाने व्यक्ति या दलहरूको मुख्य काम भनेको यस्ता संस्थामा आफ्ना मान्छे पठाउने र उनीहरूलाई संस्थाबाट हुने अतिरिक्त आर्थिक लाभको दोहन गर्न लगाउनु बन्ने गरेको छ । यसले गर्दा संस्थाको नेतृत्वमा नियुक्त हुने व्यक्तिले संस्थाप्रति उत्तरदायी हुनुपर्दैन बरु नियुक्ति लिनुपूर्व नजराना चढाएको भए त्यसको चौगुना कमाउने या नियुक्ति दिनेलाई पछि नजराना चढाएर त्यसभन्दा बढीले आफ्नो खल्ती भर्नतिर ध्यान दिए पुग्ने गरेको छ । देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयको दुर्दशा होस् या हेटौँडा सिमेन्टको, प्रज्ञा प्रतिष्ठानको बेहाल होस् या धितोपत्र बोर्डको बेथिति, सबैतिर सरकारले छानेर पठाएका व्यक्तिले गरेको लापरबाही या स्रोत दोहनको कारण नै यी संस्था बिग्रे­–भत्केका हुन् । 

धितोपत्र बोर्डका मुख्य कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफू र आफ्नो परिवार संलग्न कम्पनी र श्रीमतीका नाममा अनधिकृत रूपमा सेयर खरिद गर्नु कानुनी व्यवस्था र नैतिकता दुवै दृष्टिले गर्न नपाइने र नमिल्ने काम हो 

यसै सन्दर्भमा पछिल्लो समय नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतले गरेको बेइमानी र धोकाधडी सार्वजनिक भएको छ । नेपाल स्टक एक्सचेन्ज नेपालमा पुँजी बजारको नियामक निकाय हो । स्टक एक्सचेन्जमा सूचीकृत भएर कारोबार गरिरहेका संस्थाले ग्राहकमाथि बेइमानी नगरून्, उनीहरूले आफ्नो संस्थाको वास्तविक चित्र सार्वजनिक गरेर स्टक खरिद–बिक्री गर्नेहरूलाई सो कम्पनीकै सेयर किन र कहिले खरिद या बिक्री गर्ने र कतिसम्म मूल्य तोक्ने भन्नेजस्ता निर्णय स्वतन्त्र रूपमा गर्न सकून् भनेर अनुगमन गर्ने कामको जिम्मेवारी लिएको संस्थाको यो बेइमानी सामान्य त्रुटि होइन, पुँजीबजारविरुद्धको गम्भीर अपराध हो ।

मुख्य कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफू  र आफ्नो परिवार संलग्न कम्पनी र श्रीमतीका नाममा गैरकानुनी र अनैतिक रूपमा सेयर खरिद गरेका छन् । उनले आफ्नी पत्नीका नाममा विभिन्न कम्पनीको सेयर खरिद गरेको देखिएको र यसले नियामक निकायमा रहेको पदको हैसियत प्रयोग गरेर कम्पनीको आन्तरिक सूचनामा पहुँच राख्ने, अनधिकृत रूपमा आफ्नो संस्था र परिवारका सदस्यका नाममा सेयर खरिद गर्ने र त्यसबाट सेयर बजारमा सो संस्थाको पक्षमा चलखेल गर्ने वातावरण बनाइदिने काम पदसँग स्वार्थ बाझिने विषय हो ।

यो कानुनी व्यवस्था र नैतिकता दुवै दृष्टिले गर्न नपाइने र नमिल्ने काम हो । यसो गरेर केही अघि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना विवादमा आएका थिए । उनीमाथि छानबिन आरम्भ गरिए पनि अहिलेसम्म कारबाही भएको छैन । यसैबीच साउदको बदमासी सार्वजनिक भएको छ । यस्ता व्यक्तिलाई तत्काल पदबाट निलम्बन गरी आवश्यक छानबिन र कारबाही गरेर मात्र धितोपत्र कारोबार र पुँजीबजारलाई विश्वसनीय बनाउन, सर्वसाधारणको लगानी सुरक्षित गर्न र ससानो बचत परिचालन गरी पुँजी निर्माण प्रक्रियालाई गति दिन सम्भव हुनेछ ।