एकपटक एक सन्त युरोपको यात्रामा थिए । कतै जाने क्रममा उनी रेलबाट यात्रा गरिरहेका थिए । उनी झ्यालबाहिरको दृश्यमा मग्न थिए । नजिकै दुई स्थानीय महिला बसेका थिए । सन्तको गेरुवस्त्र देखेर ती दुई महिलाले उनको खुब मजाक उडाए । तर, सन्त सुनेर पनि नसुनेजस्तै गरी आफ्नै धुनमा मग्न भइरहे ।
सन्तले एउटा घडी बाँधेका थिए । कुनै युरोपेली प्रशंसकले उनलाई त्यो उपहारमा दिएका थिए । घडी हेर्दा निकै महँगोजस्तो देखिन्थ्यो । त्यसैले, ती दुई महिलाले उनको त्यो घडी लुट्ने योजना बनाए । उनीहरूले सन्ततिर हेर्दै भने– ओ अनौठा मान्छे ! तिमीले बाँधिरहेको घडी खुरुक्क हामीलाई देऊ । आनाकानी गर्यौ भने तिमीले हाम्रो इज्जत लुट्ने कोसिस गर्यौ भनेर प्रहरी बोलाएर उजुरी गरिदिन्छौँ । महिलाले भनेको कुरा सुने पनि ती सन्तले सुन्दै नसुने जस्तो व्यवहार गरिरहे । उनले उनीहरूतिर ध्यानै दिएनन् ।
ती महिलाले ती सन्त बहिरो भएको ठानेर इसाराले पनि आफ्नो कुरा बुझाउन खोजे । तर, सन्तले त्यो पनि नबुझेजस्तो गरे । अन्त्यमा, सन्तले एउटा कलम र कापीको पाना निकाले र आफूले भन्न खोजेको कुरा त्यसमा लेखेर दिनू भन्दै इसारा गरे । उनीहरूले पनि त्यसमा आफूले भन्न खोजेको कुरा लेखेर दिए । सन्तले त्यो कागज लिए र पढे, जसमा लेखिएको थियो– तिमी आफ्नो घडी खुरुक्क हामीलाई देऊ । अन्यथा, हामी प्रहरी बोलाएर तिमीले हाम्रो इज्जत लुट्ने कोसिस गर्यौ भनेर उजुरी गरिदिनेछौँ ।
कागज पढिसकेपछि सन्त मुसुक्क मुस्कुराए र मिठो अंग्रेजी लबजमा नम्रतापूर्वक भने– महोदयाहरू, ल हुन्छ, अब प्रहरी बोलाउनुहोस् । सन्तको कुरा सुनेर ती दुई महिला झसङ्ग भए र त्यहाँबाट अर्कै डिब्बातिर लागे । ती सन्त थिए– स्वामी विवेकानन्द ।