मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २५ सोमबार १०:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको छनोट खेल उज्वेकिस्तानमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २५ सोमबार १०:०१:००

नेपालमा तय भएको एएफसी महिला एसियन कप– २०२२ छनोट खेलअन्तर्गत समूह एफको खेल तटस्थस्थल उज्वेकिस्तानमा हुने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थस्थल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी)ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको महासविच इन्द्रमान तुलाधरले बताए । यसअघि जारी गरेको तालिकाअनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा हुने अभिलाषाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो । तर, परिवर्तन भएको तालिकाले टोली केही निराश भएको छ ।

एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेशलगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारीसमेत गरेको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन सहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुंगाे लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।