जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विभिन्न कारणबाट पार्टी छाडेकालाई जसपामै फर्कन आग्रह गरेका छन् । अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
विज्ञप्तिमा आधिकारिकता टुंगो लाग्नुअगाडि पार्टीबाट अलग्गिएकालाई जसपामा नै फर्किएर वैकल्पिक शक्ति निर्माणको अभियानमा जोडिन आग्रह गरिएको छ। विज्ञप्तिमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नुअघि पार्टीबाट अलग भएका र अलमलमा परेकालाई जसपामा फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा लाग्न आह्वान गरिएको छ।
यादवले विज्ञप्तिमा अहिलेसम्मको उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुपर्ने र प्रतिगमनकारी प्रवृत्तिप्रति सतर्क र सचेत रहनु समयको माग भएको उल्लेख गरेका छन् । जसपा आधिकारकिता विवादका कारण महन्थ ठाकुर र उपेन्द यादव आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन ११ मा आधिकारिकता विवाद टुंगो लगाउँदै यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो । आयोगको निर्णयपछि दलविहीन अवस्थामा रहेको ठाकुर समूह यही विषयलाई लिएर सर्वोच्च अदालत गएको छ ।