ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् उपयोग गर्न दिइने घोषणा गरेकी छिन् । बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरूलाई राहत दिनुपर्छ भनेर नि:शुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेकी छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेकी छु मैले ।’
ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्याउन पनि आफू क्रियाशील रहने बताइन् । सिँचाइको नि:शुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् ।