मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ल्यारी इलियट
२०७८ श्रावण १७ आइतबार १०:२०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुँजीवादको नयाँ भेरियन्ट !

Read Time : > 2 मिनेट
ल्यारी इलियट
२०७८ श्रावण १७ आइतबार १०:२०:००

अर्थतन्त्रमा नयाँ भेरियन्टको विकासले खुलाबजार थोरै पछाडि पक्कै धकेलिनेछ, तर यसैलाई क्रान्ति भन्नुचाहिँ भुल हुनेछ

पछिल्ला १८ महिनामा विश्व कोभिड–१९ नामक शत्रुबाट स्तब्ध भएको छ । चीनमा २०१९ को अन्त्यतिर देखिएको भाइरस निरन्तर रूपान्तरित (म्युटेट) भइरहेको छ । यस सन्दर्भमा महामारीले थिलथिलो बनाएको विकसित मुलुकहरूको अर्थतन्त्र भने सुधारोन्मुख हुँदै छन् । केही मानिस चकितसमेत परेका छन् । तर, चकित हुनु जरुरी छैन किनभने भाइरसको भेरियन्टसँगै वैश्विक पुँजीवादको पनि नयाँ भेरियन्ट आएको छ । दशकौँदेखि सानो–राज्य, गैरहस्तक्षेपकारी, खुला–व्यापार, ट्रिकल डाउन, न्यून–कर मोडेलको फ्रेडरिक हायकको अस्ट्रियन अर्थ–राजनीतिक भेरियन्ट हाबी थियो ।

यो भेरियन्टले १९७० को दशकसम्मको केइनेसियन भेरियन्टलाई विस्थापित गरेको थियो । खुला–बजार नै मुद्रास्फीति, कमजोर कर्पोरेट नाफा र व्यापारिक गतिशीलताका चुनौतीको समाधान मानियो । पुँजीवादकै प्रशंसक पनि अस्ट्रियन भेरियन्टलाई उत्तम भन्दैनन् होला, यद्यपि भेरियन्ट निकै टिक्यो । टिकाउपनका पछाडि समय–परिस्थितिअनुसार अनुकूल बन्ने लचिलोपन नै थियो । अहिले भने महामारीपछि राज्य बहुत शक्तिशाली आर्थिक कर्ता बन्न पुगेको छ र यसले हायकका खुला–बजारवादी शिष्यहरूलाई निराश बनाएको छ ।           

वास्तवमा यो परिवर्तन कोभिड–१९ पहिले नै आउन थालेको थियो । अस्ट्रियन भेरियन्ट २००८–०९ को वित्तीय संकटका समयमा हिसाब दुरुस्त राख्न गरिएको मितव्ययिताका वेला अन्तिमपटक उत्साहित थियो । परिणाम, कमजोर वृद्धि, न्यून लगानी, जीवनस्तर ठप्प हुन पुग्यो र मतदाताबाट व्यापक आक्रोश हात लाग्यो । केन्द्रीय बैंकहरूलाई भुइँतहमा ब्याजदर बढाउनु असम्भव भयो, किनभने थुप्रै न्यून आय भएका मानिसका दैनिक गुजाराका लागि ऋण निर्विकल्प बन्न पुग्यो र ब्याज बढाउनु उनीहरूलाई बर्बाद बनाउनु मात्रै हो ।   

अर्कातर्फ कर्पोरेट र व्यक्तिगत कर कटौती गरिएको थियो, फलस्वरूप धनीहरू थप धनी भए । कुनै समय साना कम्पनी रहेका अहिलेका ठूला कम्पनीहरूले बजारको प्रभाव प्रयोग गरेर साना कम्पनीलाई निस्तेज गरी खतरा टाल्ने काम गरे । मतदाताले व्यवस्थाले माथिल्लो तहमा रहेकाहरूको पक्षपोषण गरेको महसुस गर्न थाले र यो पक्षपोषण सत्य पनि हो । जनता सरकारविरोधी हुन थाले, तर वास्तविक समस्या पुँजीवाद नै थियो, किनभने पुँजीवादले आफ्नै भक्षण गर्न थालिसकेको थियो । 

घरेलु र वैश्विक तहमा २०२० कै सुरुदेखि युद्धस्तरमा अस्ट्रियन भेरियन्टको पतन हुन थाल्यो । अर्थतन्त्रमाथि सरकारहरूले यसरी हस्तक्षेप गरे, जुन दुई वर्षपहिले कल्पना पनि गर्न सकिन्नथ्यो । महामारीका वेला कामविहीन भएका मजदुरलाई पनि ज्याला दिन थालियो, अनुदान र ऋण उपलब्ध गराएर भए पनि व्यापारलाई जोगाउने काम गरियो, घरधनीहरूले डेरावाललाई बेदखल गर्न पाएनन्, अर्थात् वित्तीय सावधानीलाई बेवास्ता गरियो ।

भाइरसको भेरियन्टसँगै वैश्विक पुँजीवादको पनि नयाँ भेरियन्ट आएको छ । पुँजीवादको यो नयाँ भेरियन्ट सफल होला भन्ने आधार नभए पनि अहिलेको यथार्थ अस्ट्रियन भेरियन्टको पतन हो ।

सरकारले खर्च र सहज ऋण दिनु हालको परिदृश्यको सानो हिस्सा मात्रै हो । वित्तीय नीति १९७० को मध्यतिर केइनेसियन मोडल धर्मराएपछि पहिलोपटक सरकारहरूको प्रमुख प्राथमिकता बन्न पुगेको छ । केन्द्रीय बैंकहरू दिनानुदिन निष्प्रभावी भइरहेका छन् । पहिले मूल्यवृद्धिको खतराविरुद्ध कठोर कदम चाल्ने युरोपेली केन्द्रीय बैंक अहिले ब्याज बढाउनुअघि थप मुद्रास्फीति झेल्ने मनस्थितिमा रहेको छ । विश्व अहिले कोरोनासँग युद्ध लडिरहेको छ र युद्धको समयमा जहिल्यै राज्य बलियो हुँदै जान्छ । 

‘बटम अन ट्याक्स’ जस्ता करछुटका गतिविधिमा नियन्त्रण भइरहेको छ । अमेरिकामा वार्षिक चार लाख आय भएकाहरूको कर बढाइँदै छ । १३० भन्दा बढी मुलुक न्यूनतम कर्पोरेट करमा सहमत भएका छन् । यसबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत आफ्ना सदस्य सरकारहरूलाई थोरै संख्याका वर्चस्वशाली कम्पनीहरूको अथाह शक्ति सञ्चयविरुद्ध लड्नुपर्ने सुझाएको छ ।    

पुँजीवादको नयाँ भेरियन्टको आधारशिला तयार भइसकेको छ । सरकारले कर एवं खर्च बढाउने छ र एकाधिकार तोड्न नियमन पनि गर्ने देखिन्छ । बेलायतमा रक्षा उद्योग सेफिल्ड फोर्जमास्टर्सको राष्ट्रियकरण भयो । अब आउने समयमा केही मात्रामा राष्ट्रियकरण पनि देख्न सकिनेछ । सरकारहरूमा अब पूर्वाधार र विज्ञानमा लगानी गर्ने मनसाय देखिन्छ । औद्योगिक र क्षेत्रीय नीतिहरू फेरि लोकप्रिय हुने सम्भावना रहेको छ । पुँजीवादलाई आफैँबाट जोगाउन केइनेस नीतिझैँ राज्यले निजी क्षेत्रको गतिशीलताको माध्यमबाट शक्ति सञ्चय गर्ने पनि देखिन्छ ।      

खुलाबजार थोरै पछाडि पक्कै धकेलिनेछ, तर यसलाई क्रान्ति भन्नु भुल हुनेछ, यो केवल एक सानो विकास मात्रै हो । कार्यक्षेत्रका विभिन्न सुरक्षा चासो जस्ता पुराना समयका थुप्रै कमजोरी अझै छोइएका छैनन्  । शत्रुहरू प्रशस्तै छन् । राज्यको हस्तक्षेप अनावश्यक वा हानिकारक भन्ने र भोलि नै पुँजीवादको अन्त्य हुन्छ भनेर सपना देख्नेहरूका लागि मिश्रित अर्थतन्त्रले उत्साह ल्याउनेछैन ।

पुँजीवादको नयाँ भेरियन्ट सफल होला भन्ने आधार नभए पनि अहिलेको यथार्थ अस्ट्रियन भेरियन्टको पतन हो । अहिले बहुपक्षीय र सहकार्यको समय हो । धनी मुलुकहरूले मिलेर गरिब मुलुकहरूको सहायता गर्न पहलकदमी लिने वेला हो । अन्त्यमा, नयाँ भेरियन्ट आउनुले पुरानो अस्ट्रियन भेरियन्टको बलियो र भरपर्दो विकल्प चाहिएको हो भन्ने बुझ्नुपर्छ ।      

(इलियट द गार्जियनका अर्थ सम्पादक हुन्) 
द गार्जियनबाट