१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ श्रावण १२ मंगलबार ११:३१:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दलितमाथि ज्यादती : सरकारमा जान रोकिन्छन्, सडकमै कुटिन्छन्

Read Time : > 6 मिनेट
२०७८ श्रावण १२ मंगलबार ११:३१:००

गण्डकी प्रदेशमा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीको शपथ खान बोलाएर अन्तिममा अर्कैलाई मन्त्री बनाइएपछि निर्णय सच्याउन पार्टीभित्रै दबाब बढ्दो, ‘जवाफका लागि जवाफ होइन’ साँच्चिकै लोकतन्त्रको महसुस हुने गरी निर्णयको प्रतीक्षामा दलित समुदाय

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार सरेकै दिन पार्टीको पदाधिकारी बैठक बस्यो । प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक बसेर सरकारी स्रोतको दुरुपयोग भन्दै सामाजिक सञ्जालमा आलोचना भयो । पार्टीका दुईवटा बैठक बालुवाटारमा बसेपछि देउवाले निर्णय लिए– ‘अब पार्टीका कुनै पनि बैठक बालुवाटारमा गरिन्नँ ।’ देउवा पाँचौँपटक प्रधानमन्त्री बनेकाले अब छवि सुधारेर काम गर्लान् भन्ने धेरैलाई लाग्यो । जनस्तरबाटै प्रश्न उठेपछि रूपान्तरण हुन खोजेको रूपमा टीकाटिप्पणी भयो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखे, ‘तपाईं निरन्तर प्रश्न गर्नुहोस्, हामी निरन्तर आत्मसात् गरेर रूपान्तरण खोज्नेछौँ । हामी जान्दछौँ– जवाफका लागि जवाफ लोकतन्त्र होइन ।’ शर्माले ट्विटमा भनेझैँ यतिवेला नेपालको सिंगो दलित समुदाय ‘जवाफका लागि जवाफ होइन’ साँच्चिकै लोकतन्त्रको महसुस हुने गरी निर्णयको प्रतीक्षामा छन् । कांग्रेसकै केन्द्रीय नेता र सांसदहरूले गण्डकी प्रदेशका प्रदेश सभा सदस्य डोबाटे विश्वकर्मामाथि भएको अन्यायपूर्ण निर्णय सच्याउनुपर्ने माग गरेका छन् । 

विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले मन्त्रीको शपथ खान बोलाए पनि अन्तिम समयमा सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाको दबाबमा नाम काटिएको थियो । त्यो निर्णय संविधान र पार्टीको नीति, सिद्धान्तविपरीत भन्दै नेताहरूले त्यसलाई तुरुन्तै सच्याउन माग गरेका छन् । 

केन्द्रीय सदस्य गगन थापाले गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मामाथि भएको व्यवहारबाट कांग्रेसले आफू र आफ्नो इतिहासमाथि अन्याय गरेको बताए । ‘यो एउटा व्यक्तिमाथि अन्याय भएको कुरा मात्रै होइन, कांग्रेसले आफैँमाथि ठूलो अन्याय गरेको अवस्था हो । आफ्नो इतिहासमाथि अन्याय गरेको हो,’ पार्टी निर्णय तत्काल सच्याउनुपर्ने भन्दै थापाले भने, ‘हामीले सार्वजनिक रूपमा भनेका छौँ, हामीमाथि प्रश्न उठ्यो भने सच्याउँछौँ भनेर । जस्तो बालुवाटारको बैठक गर्ने कुरा हामीले सच्यायौँ । त्यसैले यो निर्णयलाई पार्टीले सच्याउनुपर्छ । हामीले जति तर्क गरे पनि, जति कथा बुने पनि निर्णय सच्याएर गण्डकी प्रदेशको सरकारमा डोबाटेजीको सहभागितालाई सुनिश्चित गर्नुपर्छ । जति तर्क गरे पनि निर्णय नसच्याएसम्म प्रश्न हामीतिर तेर्सिरहन्छ ।’ 

नेता थापाले सिंगो पार्टीको अहित हुने गरी भएको निर्णयको पार्टीभित्र छलफल हुनुपर्ने बताए । ‘प्रदेशमा मन्त्री बनाउने अधिकार मुख्यमन्त्रीलाई हो । तर, उहाँले मन्त्री बनाउने निर्णय गरिसक्नुभएको थियो । शपथ खानका लागि बोलाइसकिएको अवस्था हो,’ थापाले भने, ‘त्यसरी अन्तिम अवस्थामा सभापति र महामन्त्रीको स्वार्थ पूरा गर्न कसको नाम काट्न सजिलो छ ? भन्दाखेरि सबैभन्दा सजिलो डोबाटेको छ भनेर काटिएको देखिन्छ । यो निर्णय पार्टीले तत्काल सच्याउनुपर्छ ।’ 

नेपाल दलित संघका केन्द्रीय अध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले डोबाटेमाथि भएको अन्यायलाई पार्टीले उपयुक्त बाटोबाट तत्काल सच्याउनुपर्ने बताए । ‘गण्डकी प्रदेश सरकार गठनमा कांग्रेसका तर्फबाट देखिएको लापरबाही र अदूरदर्शिताले कसैलाई क्षणिक खुसी बनाएकै होला । तर, यस कदमले निष्ठावान् नेता डोबाटे विश्वकर्मालाई मात्रै निराश बनाएन, सिंगो नेपाली कांग्रेसको प्रतिष्ठा, इतिहास, अभ्यास र स्वयम् सभापति शेरबहादुर देउवा आफैँले प्रारम्भ गर्नुभएको महान् राष्ट्रिय समावेशीकरण अभियानलाई उपहास गरेको छ,’ विश्वकर्माले भने ।

केन्द्रीय सदस्य जीवन परियारले पनि पार्टीले तत्काल निर्णय सच्याउनुपर्ने बताए । ‘सरकारमा कांग्रेसबाट जति प्रतिनिधित्व भएको छ, त्यसमा समावेशीकरणलाई महत्व दिइएन । सबैभन्दा पहिले कांग्रेस त्यहाँनेर चुक्यो । त्यसमाथि डोबाटे विश्वकर्मा दलित भएको कारण मात्रै मन्त्री हुन योग्य व्यक्ति होइनन् । राजनीतिक रूपमा कसैलाई न्याय गर्ने हो भने उहाँ मन्त्री हुनैपर्ने व्यक्ति हो,’ नेता परियारले भने, ‘तर, त्यहाँ त संविधानको कार्यान्वयन होइन, पञ्चायतकालीन शैली अपनाइएको छ । कांग्रेसले धनमानसिंहलाई महामन्त्री बनाएको हो नि भनेर अहिले पनि त्यसैलाई देखाएर हुँदैन ।’ 

केन्द्रीय सदस्य प्रदीप पौडेलले भने पार्टीले सरकारमा गएर यस्तै गल्ती गर्दै गए अर्को चुनावसम्म कांग्रेसभन्दा कम्युनिस्ट नै ठिक ! भन्ने अवस्था आउने बताए । ‘डोबाटेजी दलित समुदायको अगुवा नेता मात्रै होइनन्, सबै हिसाबले योग्य व्यक्ति हुन् । त्यसैले उहाँ मन्त्रिमण्डलमा देखिनुपर्ने व्यक्ति हो । तर, त्यहाँ मन्त्री बनाउँदा न समावेशी छ, न शक्ति सन्तुलन मिलाइएको छ । खाली नेताको इच्छामा आधारित भएर बनाएको देखिन्छ,’ पौडेलले भने, ‘यदि पार्टीले सरकारमा गएर यस्तै कमजोरी गर्दै जाने हो भने आउँदो चुनावसम्ममा फेरि कांग्रेसभन्दा कम्युनिस्ट नै ठिक भन्ने अवस्था नआउला भन्न सकिन्नँ ।’

समावेशी लोकतन्त्रको उपहास 
केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौला गण्डकीमा भएको घटनाले समावेशी लोकतन्त्रको उपहास भएको बताउँछिन् । ‘कांग्रेसले आफूलाई सवमोशी व्यवस्थाको हिमायती भन्छ । र, आफ्नै विधानमा पनि ‘कदमजम’को व्यवस्था गरेको छ । त्यो भनेको कर्णाली, दलित, मधेसी, जनजाति र महिलाका लागि आरक्षणको व्यवस्था गर्ने पार्टी हो । यो मात्रै भएन, एउटा सांसदलाई मन्त्री दिने भनेर बोलाइसकेपछि बाटैबाट उहाँलाई फर्काइएको छ, यो व्यक्तिगत रूपमा गरिएको अपमान मात्रै होइन, यो त सिंगो दलित आन्दोलनमाथिको अपमान हो,’ उनले भनिन् ।

सांसद प्रकाश रसाइली स्नेही भने राज्यसत्तामा दलित सहभागिता नभएसम्म सबै क्षेत्रमा यस्तै समस्या हुने बताउँछन् । ‘कांग्रेस त्यही पार्टी हो, जहाँ बिपीले एउटा दमाईको छोरालाई ००९ सालमै पार्टीको महामन्त्री बनाउनुभयो । र कांग्रेस त्यही पार्टी हो कि गणेशमानजी र किसुनजीले रुँदैरुँदै पार्टी छाड्नुपरेको थियो । त्यसैले मलाई के लाग्छ भने यो देश हाम्रो हो । तर, राज्यसत्ता हाम्रो होइन,’ सांसद रसाइलीले भने, ‘हामीले पाउनका लागि दिने ठाउँमा हाम्रो मान्छे हुनुप¥यो । निर्णायक ठाउँमा दलित भएको भए दलितले पाउँथे होला ।’ 

राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ संविधानको पाँचवटा विशेषताभन्दा समावेशी लोकतन्त्र भनेर गौरव गर्ने, तर व्यवहारमा कार्यान्वयन नगर्ने कुरा दुःखद भएको बताउँछन् । ‘समावेशी लोकतन्त्रमा मुलुकभरिको चित्र संसद्मा देखिने हो । संसद्को चित्र सरकारमा देखिनुपर्ने हो । पार्टीले हामीलाई त्यही कुरा सिकाएको छ । तर, अहिले व्यवहारमा त्यो देखिएन,’ उनी भन्छन्, ‘पार्टीले योे निर्णय तत्काल सच्याइनुपर्छ । भन्दा संसारकै उत्कृष्ट संविधान भन्ने, अनि व्यवहारचाहिँ निकृष्ट गर्ने त भएन नि ?’

गण्डकी प्रदेशको गल्ती सच्याउन कांग्रेसभित्र दबाब

गण्डकी सरकारमा भएको गल्तीको जवाफ पार्टीले दिनै पर्छ :  डा. शेखर कोइराला, केन्द्रीय सदस्य
गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भूल हो । दलित समुदायप्रतिको अपमान हो । बिपी स्मृति दिवस मनाउँदै र बिपीको तस्बिरमा चढाएको फूल नओइलिँदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । त्यसैले यसलाई तुरुन्त सच्याउनुपर्छ ।

सरकारमा डोबाटेजीको सहभागिता सुनिश्चित गर्नुपर्छ : गगन थापा, केन्द्रीय सदस्य एवं सांसद
एउटा व्यक्तिमाथि अन्याय भएकोभन्दा पनि यो कांग्रेसले आफैँमाथि ठूलो अन्याय गरेको अवस्था हो । आफ्नो इतिहासमाथि अन्याय गरेको हो । सभापति र महामन्त्रीको स्वार्थ पूरा गर्न कसको नाम काट्न सजिलो छ ? भन्दाखेरि सबैभन्दा सजिलो डोबाटेको छ भनेर काटिएको देखिन्छ । त्यसैले यो निर्णयलाई पार्टीले सच्याउनुपर्छ । हामीले जति तर्क गरे पनि, जति कथा बुने पनि निर्णय सच्याएर गण्डकी प्रदेशको सरकारमा डोबाटेजीको सहभागितालाई सुनिश्चित गर्नुपर्छ । 

पार्टी सभापतिकै अभियानको उपहास भयो : मीन विश्वकर्मा, नेपाल दलित संघका अध्यक्ष एवं सांसद
गण्डकी प्रदेश सरकार गठनमा कांग्रेसका तर्फबाट देखिएको लापरबाही र अदूरदर्शिताले कसैलाई क्षणिक खुसी बनाएकै होला । तर, यस कदमले निष्ठावान् नेता डोबाटे विश्वकर्मालाई मात्रै निराश बनाएन, सिंगो नेपाली कांग्रेसको प्रतिष्ठा, इतिहास, अभ्यास र स्वयं सभापति शेरबहादुर देउवा आफैँले प्रारम्भ गर्नुभएको महान् राष्ट्रिय समावेशीकरण अभियानलाई उपहास गरेको छ । 

पार्टीले विचार गर्नैपर्ने विषय हो यो : अत्तहर कुमाल मुसलमान, केन्द्रीय सदस्य तथा सांसद
म मुस्लिम समुदायको प्रतिनिधित्व गर्छु । ०४८ सालदेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने कांग्रेसबाट तीनजना मात्रै मन्त्री हुनुभएको छ । त्यसैले यसमा पार्टीले विचार गर्नैपर्ने विषय हो । केन्द्र सरकारमा पनि मन्त्रिमण्डल कति समावेशी हुन्छ ? भन्ने अहिलेको मुख्य प्रश्न हो । 

सिंगो दलित आन्दोलनमाथिको अपमान हो : डा.डिला संग्रौला,  केन्द्रीय सदस्य
डोबाटेजीलाई मन्त्री दिने भनेर बोलाइसकेपछि बाटैबाट फर्काइएको छ, यो व्यक्तिगत रूपमा गरिएको अपमान मात्रै होइन, यो त सिंगो दलित आन्दोलनमाथिको अपमान हो । समावेशी लोकतन्त्रको खुला उपहास हो ।

संविधानमै त्रुटि भएको जस्तो लाग्छ : सीता गुरुङ, केन्द्रीय सदस्य
संविधानमै त्रुटि भएकोजस्तो लाग्छ । यदि कार्यपालिकामा पनि अनिवार्य समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको भए अहिले यो समस्या नै आउने थिएन । त्यतिवेला हामीले यो कुरा उठाएका थियौँ, तर सुनुवाइ भएन । संविधानले समानुपातिक समावेशी प्रतिनिधित्वको आधारमा मन्त्रिमण्डल बनाउनुपर्ने भनेको छ । तर, अनिवार्य गरेको छैन । त्यसैलाई आधार बनाएर यो कुरालाई बेवास्ता गरेको देखिन्छ । 

साँधमा घाँस काटेको भन्दै दलित महिलामाथि निर्घात कुटपिट

मोरङको पथरीशनिश्चरेका डिल्लीराज नेपाल र उनकी श्रीमती हेमाको कुटाइबाट वर्षा दर्जी गम्भीर घाइते, नोबेल अस्पतालमा उपचार हुँदै

मोरङको पथरीशनिश्चरेमा एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ । पथरीशनिश्चरे–४ महेन्द्र चोककी ४२ वर्षीया वर्षा दर्जीमाथि छिमेकी डिल्लीराज नेपाल र उनकी श्रीमती हेमाले जातीय गालीगलौज गर्दै निर्घात कुटपिट गरेका हुन् ।

दर्जीका सँधियार नेपाल दम्पतीले साँधमा घाँस काटेको भन्दै वर्षालाई गत बुधबार मरणसन्न हुने गरी कुटपिट गरेका हुन् । कुटाइबाट वर्षाको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । पथरीको मोरङ अस्पतालमा पाँच दिनसम्म उपचार गराएपछि डाक्टरले स्वास्थ्य अवस्था जटिल हुन सक्ने भन्दै सोमबार विराटनगरको नोबेल अस्पताल रेफर गरेको छ ।

विगतदेखि नै जातीय रूपमा विभेद गर्दै आएका नेपाल परिवारले गत बुधबार आफूमाथि कुटपिट भएको वर्षाले बताइन् । ‘विगतदेखि नै हामीलाई सानो जातको भनेर हेप्ने गर्थे । त्यस दिन म सिमानामा घाँस काट्दै थिएँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘डिल्लीरामले एक्कासि डुम्री तँ साँधमा घाँस काट्छेस् भन्दै हात हाले । उनले कुटेपछि श्रीमती आएर मलाई हिलोमा गाडे । केहीबेर त बेहोस भएछु । मार–मार भनेको सुनेपछि डरले भागेँ ।’ उनी भाग्दै प्रहरी कार्यालयसम्म आउन खोजिन् । हिलाम्मे अवस्थामा रहेकी वर्षालाई जातीय रूपमा गाली गर्दै करिब दशजना गैरदलितले लखेटेका थिए । ‘म अलिअलि बुझ्ने मान्छे । दलितलाई हेप्नु हुँदैन भनेर भन्थेँ,’ उनी भन्छिन्, ‘त्यही भएर उनीहरूसँग रिस थियो । मलाई मार्न खोजेर खेदाए ।’ 

उनी भाग्दै हिलाम्मे अवस्थामा इलाका प्रहरी कार्यालय पथरी आइपुगिन् । तर, पथरी प्रहरीबाट सोचेजस्तो व्यवहार पाइनन् । ‘उनीहरूले अगाडि नै प्रहरीलाई फोन गरेका रहेछन् । प्रहरीले पनि झर्को र फर्को ग¥यो । लेखनदासले पनि मुद्दा लेखिदिन मानेन । आत्तिएर आइपुगेकी मलाई अन्तिममा अभद्र व्यवहारमा मुद्दा दर्ता गराउन बाध्य बनाइयो,’ उनी भन्छिन्, ‘प्रहरी पनि हाम्रा लागि होइन रहेछ । जो हेपिएको छ उसका लागि होइन रहेछ । मलाई त पुरुषले कुटेका थिए । म यसमा मुद्दा लगाउन चाहन्थेँ । अहिले बुझ्दा मैले त जातीय विभेदको मुद्दा पनि हाल्नुपर्ने रहेछ भन्ने थाहा पाएँ । मैले अब जातीय विभेद र महिला हिंसाको मुद्दा दर्ता गर्न पाउँ भन्ने छ ।’ अभद्र व्यवहारको मुद्दा नेपाल दम्पतीविरुद्ध दर्ता भए पनि प्रहरीले हेमालाई भने पक्राउ गरेको छैन । उनका श्रीमान् डिल्लीराज नेपाल भने प्रहरी हिरासतमा छन् । आर्थिक रूपले विपन्न उनी पाँच दिनदेखि ऋण गरेर उपचार गराइरहेकी छिन् । मुद्दा दर्ता गरेपछि पीडक पक्षले मिल्न दबाब दिइरहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले भने वर्षाले जुन जाहेरी लिएर आएको हो, त्यही दर्ता गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेमालाई पनि चाँडै पक्राउ गरेर कारबाही गरिने बताए । ‘हामीले वर्षाबाट जे जाहेरी आएको छ, त्यही दर्ता गरेका हौँ । प्रक्रिया पनि अघि बढेको छ । श्रीमान् पक्राउ परिसके । श्रीमती उपचार गराउँदै गरेकाले चाँडै पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने । 

न्यायको पर्खाइमा अस्पतालमा छटपटाउँदै शोभा
छिमेकीको कुटाइबाट मानसिक सन्तुलन गुमाएकी कानेपोखरी–५ की शोभा दर्जी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैय्यामा न्यायको पर्खाइमा छिन् । गत १ जेठमा सिमकार्ड चोरी गरेको आरोपमा छिमेकीको कुटाइबाट तीन महिनाकी गर्भवती शोभाले मानसिक सन्तुलन नै गुमाइन् । जातीय विभेद गर्दै उनीमाथि कुटपिट भएको थियो । 

कुटपिट भएको एक महिनासम्म आर्थिक अभावमा उपचार गर्न नसकेकी उनलाई दलित अभियान्ताले थाहा पाएपछि एक महिनाअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । तर, शोभाले अझै न्यायको अनुभूति गर्न सकेकी छैनन् । जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका आरोपितहरू पुष्पा निरमाया, बिन्दा, बबिता मगर जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भइसके । प्रहरीले घटनालाई गम्भीर रूपमा नलिएकै कारण आरोपी धरौटीमा छुटेको सुरुवातदेखि शोभाको न्यायका लागि लागिपरेकी दुर्गा नेपाली बताउँछिन् ।