१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : रोयटर्स
मञ्जु टेलर काठमाडाैँ
२o८१ बैशाख २४ सोमबार o९:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अल्कोहलले स्वास्थ्यमा पार्ने असर

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५९:oo

हरेक वर्ष विश्वभर करिब ३० लाख मानिसको मृत्यु अल्कोहल सेवनका कारण हुने स्वास्थ्य समस्याले हुने एक अध्ययनले देखाएको छ । ग्लोबल बर्डन अफ डिजिजको एक तथ्यांकअनुसार कुल ५ दशमलव १ प्रतिशत रोग र चोटपटकको कारणसमेत अल्कोहललाई मानिएको छ ।

नेपालमा मदिरा सेवनका कारण हुने मृत्यु दरको विषयमा आधिकारिक तथ्यांक पाइँदैन । तर, दूषित मदिरा सेवनका कारण हुने उच्च रक्तचाप, क्यान्सर, हेपाटोरेनल सिन्ड्रोम (मिर्गौलामा समस्या), फ्याटी लिभर, ग्यास्टिक, अल्सर, मुटुरोग, एन्जाइटी डिप्रेसन आदिजस्ता करिब दुई सयभन्दा बढी रोग निम्तिरहेको चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अकाल मृत्युको मुख्य कारण अत्यधिक अल्कोहल सेवन नै हो । २० देखि ३९ वर्ष उमेर समूहभित्रका मात्रै प्रतिवर्ष मदिरा सेवनका कारण १३.५ प्रतिशतको मृत्यु भइरहेको छ ।

विश्वभर प्रयोगमा ल्याइने मदिराजन्य पेय पदार्थ वाइन, बियर र स्प्रिटभित्र समूहीकृत गरिएको छ । स्वास्थ्यका दृष्टिकोणले शतप्रतिशत हानिकारक मानिए पनि पानी र चियापछि सबैभन्दा बढी प्रयोगमा आउने पेय पदार्थभित्र अल्कोहल पर्छ । बियर खपत सबैभन्दा बढी गर्ने देशहरूमा चीन, अमेरिका र ब्राजिल पर्छन् । सबैभन्दा बढी बियर उत्पादन हुने चीनमा १ खर्ब १३ अर्ब बोतल बियर खपत हुन्छ भने साढे ६७ अर्ब बोतल खपत गर्दै आएको छ । 

स्वास्थ्यका दृष्टिकोणले शतप्रतिशत हानिकारक मानिए पनि पानी र चियापछि सबैभन्दा बढी प्रयोगमा आउने पेय पदार्थभित्र अल्कोहल पर्छ । बियर खपत सबैभन्दा बढी गर्ने देशहरूमा चीन, अमेरिका र ब्राजिल पर्छन् । 

यस्तै संयुक्त राज्य अमेरिका सबैभन्दा बढी वाइन उपभोग गर्ने राष्ट्र हो । अमेरिकामा प्रतिवर्ष ४ दशमलव ३ अर्ब बोतल वाइन खपत हुँदै आएको छ । यसपछि फ्रान्स र इटलीसमेत अत्यधिक वाइन प्रयोगकर्तामा पर्छन् । नेपालमा भने वार्षिक झन्डै ६ करोड लिटर मदिरा खपत हुन्छ । 

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार न्यून आय भएका मुलुकहरूमा अनधिकृत मदिराको खपत झन्डै ५० प्रतिशत रहेको छ । दक्षिण एसियामा औसत अनधिकृत मदिराको खपत ४७.५ प्रतिशत रहेको छ । नेपालमा अल्कोहलको प्रतिव्यक्ति वार्षिक खपत २ लिटर छ । महिलाले वार्षिक ०.६ लिटर र पुरुषले ३.६ लिटर खपत गर्ने तथ्यांक छ । 

मदिरा सेवनले स्वास्थ्यसँगै शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि उत्तिकै असर गर्ने मुटुरोग विशेषज्ञ डा. दीपक मिश्र बताउँछन् । उनी भन्छन्, ‘अल्कोहल सेवन फेसनजस्तै भइसकेको छ, यसको असरबारे समेत जानकार हुदाँहुँदै अत्यधिक प्रयोग गर्ने व्यवहारका कारण रोगहरूको संख्या बढ्दै गइरहेको छ । अत्यधिक अल्कोहलले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा शरीरको प्रत्येक अंगमा असर पुर्याइरहेको हुन्छ ।’

अल्कोहलले लाग्न सक्ने रोगहरू

 डा. दीपक मिश्र, मुटुरोग विशेषज्ञ


फ्याटी लिभर 
रक्सीले सुरुवातीमा शरीरको कलेजो, मुटु, मस्तिष्क, आन्द्रा, खानानली आदिलाई असर गर्ने मुटुरोग विशेषज्ञ डा. मिश्र बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने व्यक्तिहरूको संख्या दिनानुदिन बढिरहेको छ, जसको मुख्य कारण अल्कोहल सेवन हो ।’ हामीले सेवन गरेको रक्सीले एल्डिहाइड नामक रसायन उत्पादन गर्दछ । जसले सुरुमा कलेजोमा संक्रमण गर्दछ र कलेजो सुन्निन थाल्छ । रक्सीको लगातार सेवन गर्ने हो भने बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । फ्याटी लिभर कलेजोमा देखिने सबैभन्दा सुरुको अवस्था हो । रक्सीको सेवन पूर्णरूपमा छाडेमा कलेजो सामान्य रूपमा फर्किन सक्छ ।

सिरोसिस लिभर डिजिज

कलेजो शरीरभित्रको दोस्रो ठूलो अंग हो । कलेजोले शरीरलाई ऊर्जा भण्डारण गर्न, खाना पचाउन, विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्दछ । जुन करिब पाँच सयभन्दा बढी शारीरिक गतिविधिमा संलग्न हुन्छ । कलेजोले प्रोटिन, काब्र्रोहाइड्रेट र फ्याटलाई समेत पचाउने काम गर्दछ । चिकित्सकहरूका अनुसार, लगातार अल्कोहलको सेवन गर्दा कलेजोमा सिरोसिस, फ्याटी लिभर, अल्कोहोलिक हेपाइटाइटिस हुँदै स्वास्थ्य समस्याहरू फैलिँदै जान्छन् । डा. मिश्रका अनुसार फ्याटी लिभरको समस्या भइसकेपश्चात् पनि रक्सी खान नछाडेमा अल्कोहोलिक हेपाइटाइटिसको समस्या हुने गर्छ । जन्डिस देखिने, खान मन नलाग्ने, दाहिने कोखा दुख्ने, ज्वरो आउने र कमजोर महसुस हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखापरेपश्चात् पनि रक्सीको सेवन बन्द नगरेमा जन्डिसको समस्या बल्झदै जाने गर्छ, जसलाई मेडिकल भाषामा सिभियर अल्कोहोलिक हेपाइटिस भनिन्छ । बिस्तारै रगत पातलो हुँदै जाने भएकाले करिब ५० प्रतिशत बिरामीको मुत्यु अल्कोहोलिक हेपाटाइटिसले हुने गरेको पाइन्छ ।

सामान्यतया स्वास्थ्यको दृष्टिकोणले मेडिकल क्षेत्रमा ३६० एमएल बियर, १६० एमएल वाइन र ३० एमएल स्प्रिटलाई लाइट टु मोड्रेड ड्रिङ्क मान्ने गरिन्छ । तर, २१ वर्षमुनि उमेर समूह, गर्भवती महिला, ड्राइभिङ र अन्य सीपसम्बन्धी काम गर्नुभन्दा अगाडि, मेडिकेसन प्रयोग गरिरहेका व्यक्तिहरूमा भने यति अल्कोहललाई पनि उपयुक्त मानिँदैन

अल्सर 

मदिराले स्वास्थ्य प्रणाली नै बिथोलिने हुँदा शरीरको विभिन्न भागमा एकैचोटि असर पर्छ । मदिरा सेवन गर्दा मासु र अन्य चिल्लो, पिरो खाद्य पदार्थहरू प्रयोगमा ल्याइन्छ, जसले गर्दा ग्यास्ट्रिकको समस्या निम्तिन्छ । लगातार अस्वस्थ खानपानले पाचन प्रणालीमा नै असर पुग्ने गर्छ, जसले बिस्तारै अल्सरको रूप लिन्छ ।

मुटुमा समस्या 

सामान्यतया रक्तचाप र सुगर लेभलमा समस्या भएका व्यक्तिहरूमा अल्कोहलको थोरै प्रयोगले समेत असर पुग्छ । अल्कोहल र सँगै खाइने अस्वस्थ खानपानले एक्कासि रक्तचाप बढाउने वा घटाउने, शरीरमा चिनीको मात्र बढाउने गर्छ । जसको सीधा असर मुटु र मस्तिष्कमा परिरहेको हुन्छ । अल्कोहल कन्ज्युमका कारण मुटुमा देखिने समस्यालाई अल्कोहोलिक कार्डियो मायोप्याथी भन्ने गरिन्छ । यस्तो अवस्थामा धड्कन बढ्ने, मुटुको चालमा परिवर्तन आउने र लगातार प्रयोगकर्तामा दीर्घकालीन समस्याको जोखिम बढ्दै जाने हुन्छ । एक्कासि ब्लड प्रेसर बढ्दा आँखा, मस्तिष्कजस्ता अंगमा समस्या ल्याउँछ, कतिपय अवस्थामा पक्षघातको जोखिम पनि रहन्छ ।

क्यान्सर

लामो समयसम्म अल्कोहल सेवन गर्ने व्यक्तिमा कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै मानिन्छ । लगातार सेवनकर्तामा मुख, घाँटी, आन्द्रामा समेत क्यान्सरको सम्भावना हुने गर्छ । 

अल्कोहोलिक डिसअर्डर 

अल्कोहल प्रयोगकर्तामा मुख्य समस्या अल्कोहोलिक डिसअर्डर हो । सामान्यतया १०० प्रतिशत अल्कोहल शक्ति भएको प्रतिव्यक्ति मदिराको खपत ५.५ लिटर छ । सन् २०२० मा ६.६ लिटर थियो भने २०२५ मा ७ लिटर हुने अनुमान गरिएको छ । मदिरा सेवनलाई सामाजिक रूपमा स्वीकार गर्दै जानु, सानो उमेर र महिला सेवनकर्ताको दर बढ्दै गइरहेकाले बढ्ने प्रक्षेपण गरिएको हो । अर्थात् शरीरले धान्न सक्नेभन्दा बढी अल्कोहल सेवन गर्दा शरीरले सन्तुलन गुमाउँदै जानुलाई अल्कोहोलिक डिसअर्डर भनिन्छ ।

बढी अल्कोहलले शरीरमा रक्तचाप, कोलेस्ट्रोल, सुगर आदि अनियन्त्रित गर्ने हुँदा शरीरमा रहेका न्युरोन्सहरूले काम गर्न छोड्दा डिसअर्डरको समस्या देखिने हुन्छ । बिस्तारै एन्जाइटी र डिप्रेसनको समस्या आउने पनि यही कारणले हो । यस्ता व्यक्तिहरूको बिस्तारै सामाजिक व्यवहार समेत खस्किँदै जाने भएकोले व्यक्तिको शरीरमा मात्रै नभई परिवार र समाजमा समेत असर गरिरहेको हुन्छ ।

अल्कोहलको मानक कति ? 

कति मदिरा पिउनु स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने मानकबारे विभिन्न धारणाहरू पाइन्छन् । अल्कोहलले गर्ने न्यून फाइदाको विषयलाई लिएरसमेत अल्कोहलको प्रयोगबारे बहस भइरहेको पाइन्छ । सामान्यतया स्वास्थ्यको दृष्टिकोणले मेडिकल क्षेत्रमा ३६० एमएल बियर, १६० एमएल वाइन र ३० एमएल स्प्रिटलाई लाइट टु मोड्रेड ड्रिङ्क मान्ने गरिन्छ । तर, २१ वर्षमुनि उमेर समूह, गर्भवती महिला, ड्राइभिङ र अन्य सीपसम्बन्धी काम गर्नुभन्दा अगाडि, मेडिकेसन प्रयोग गरिरहेका व्यक्तिहरूमा भने यति अल्कोहललाई पनि उपयुक्त मानिँदैन । अल्कोहलको मात्राबारे डा. मिश्र भन्छन्, ‘अल्कोहलको मात्राबारे आ–आफ्नै धारणा छन् । पहिलेदेखि नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा थोरै अल्कोहलले समेत असर गर्ने गर्छ । तसर्थ अल्कोहल सेवन सकेसम्म गर्नुहुँदैन ।’

ad
ad